arrow

सकियो चलचित्रसम्बन्धी विधेयकको दफावार छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
bidhyan-samiti-rastriya-sabha.jpg

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्रसम्बन्धी विधेयकको दफावार छलफल सकिएको छ । समितिको बुधबार बसेको बैठकपछि दफावार छलफल सकिएको हो ।

समिति सभापति तुलसाकुमारी दाहालले चलचित्रसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१ माथि दफवार छलफल सकिएर मस्यौदा प्रतिवेदन तयारीको काममा लागेको जानकारी दिइन् ।

उनले मस्यौदा प्रतिवेदनको बाँकी काम पनि छिट्टै तयार पारेर अर्को बैठकमा मस्यौदामाथि छलफल गर्ने बताइन् ।

उनले प्रतिवेदन तयार पारी अब बस्ने राष्ट्रिय सभामा पेस गर्नेगरी तयारी थालेको पनि जानकारी दिइन् ।

उनले संसोधनकर्ता सांसद, सरोकारवालाहरुको सुझाव सबैलाई समेटेर मस्यौदा प्रतिवेदन बनाइने जानकारी दिइन् ।

उनले सेन्सर बोर्डको नाम परिवर्तन गरेर प्रमाणिकरण गर्ने समिति राखिएको बताइन् । तर त्यो समितिको अध्यक्ष को हुने भन्ने विषय भने टुंगोमा नपुगेको उनले बताइन् ।

समितिको अध्यक्षमा बाहिरबाट विज्ञ व्यक्ति ल्याउने भन्नेमा सबैको जोड रहेकोले मस्यौदामा सोहीअनुसार भएको तर कस्तो व्यक्तिलाई बनाउने, सिफारिस कसले गर्ने भन्ने विषय भने छलफल गर्न बाँकी रहेको उनले जानकारी दिइन् ।

उनले चलचित्र विधेयकको प्रतिवेदन पारित गरेपछि अर्को विधेयकको छलफल शुरू गर्ने बताइन् ।

उनले भनिन्, ‘बैठकमा चलचित्रम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ माथी छलफल गर्यौँ । राष्ट्रिय सभा नियामावलीले गरेको व्यवस्था अनुरुप विधेयक समितिमा आएको छ महिनाभित्र सभामा पुर्याउनुपर्ने हुन्छ। समितिमा आउने क्रममा अलिकति ढिला भयो, बीचको अवस्थाले अलिकति ढिलो भयो । छलफलको क्रममा १३/१४ ओटा बैठक बसेर दफावार छलफलको क्रम हामीले सक्यौँ। मस्यौदा प्रतिवेदनको काम बाँकी छ, हामी अर्को दिन मस्यौदा प्रतिवेदनमाथी छलफल गरेर यसको प्रतिवेदन तयार गर्छौं। निकट भविष्यमा बस्ने राष्ट्रिय सभामा हामीले यसलाई प्रतिवेदनको रुपमा लैजान्छौँ । यो विधेयक दफावार छलफल सकिँदाखेरि प्रतिवेदन तयारी पनि छिट्टै नै हामी गर्छौँ र फरक अर्को विधेयकमा छलफल गर्न जान्छौँ ।’ 

बुधबार बसेको समितिको बैठकमा सभापति दाहालले चलचित्रसम्बन्धी विधेयकको मस्यौदाको प्रतिवेदन तयार पार्न संसद सचिवालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र कानून मन्त्रालयलाई निर्देशन दिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ