विधानअनुसार चल्न विशेष महाधिवेशन स्वीकार्नु पर्नेमा पुस २७ मै डाक्न लगाए देउवाले युवा भेला
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
2.2k
Shares
काठमाडौँ । नेपाली कांग्रेसलाई विधानअनुसार चलाउन प्रयासरत महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा हुन लागेको विशेष महाधिवेशनलाई प्रभावित पार्न सभापति शेरबहादुर देउवाले पुस २७ गते नै आफू निकटका युवाहरूको भेला डाक्न लगाएका छन् ।
विधानअनुसार महाधिवेशन प्रतिनिधिको माग बमोजित पुस मसान्तभित्र अनिवार्य रूपले विशेष महाधिवेशन गर्नुपर्ने भएकाले सोही बाध्यात्मक परिस्थितिलाई आत्मसात् गर्दै पुस २७ र २८ गतेलाई विशेष महाधिवेशन डाकिरहेका बेलामा देउवाले संस्थापन निकटको तरुण दल नेतृत्वलाई सक्रिय पारेर बैशाखको नियमित महाधिवेशन सफल पार्ने नाम दिएर विशेष महाधिवेशन प्रभावित गर्न खोजिएको हो ।
तरुण दलले भनेको छ, 'नेपाल तरुण दल केन्द्रीय समितिको आज आकस्मिक अनौपचारिक छलफल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्यो । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङज्युको अध्यक्षतामा भएको छलफलमा नेपाली कांग्रेसको केन्द्रीय समितस र कार्यसम्पादन समितिको बैठकले पारित गरेको २०८३ साल बैशाख २८,२९,३०,३१ सम्पन्न हुने १५ औं महाधिवेशन र फागुन २१ को आमचुनावलाई सफल बनाउन रणनीति तय गर्ने विषयमा केन्द्रित भएको छ । त्यसै अन्तर्गत पार्टीको सम्पूर्ण भ्रातृ संगठन एवं शुभेच्छुक सङ्गठनको संयुक्त" महाधिवेशन एवं आमचुनाव केन्द्रित भेला "यही आउँदो पुस २७ गते केन्द्रीय कार्यालय सानेपा प्राङ्गणमा दिनको ११:३० बजे राख्ने निर्णय भएको छ ।'
नेपाल तरुण दल ,नेपाल महिला संघ ,नेपाल विद्यार्थी संघसहित शुभेच्छुक संस्थाहरुको संयुक्त आयोजनामा हुने कार्यक्रमको संयोजन नेपाल तरुण दलले गर्ने भन्दै कार्यालय मुख्य सचिव ठानप्रसाद पोखरेलले नेपाली तरुण दल केन्द्रीय समिति सदस्य एवं जिल्ला कार्यसमितिलाई कार्यक्रममा अनिवार्य उपस्थितिको निर्देशन दिइएको बताए ।
तरुण दलको यो भनाइबाट सभापति देउवाले नै विधान उल्लंघन गरेर महामन्त्रीहरूको काममा बाधा अवरोध खडा गरिरहेका हुन् । महाधिवेशन पक्षीय एक पदाधिकारीले भने,'सभापतिज्यू सुध्रिनु भएन । उहाँको पदीय मोहले फागुनको प्रतिनिधि सभा निर्वाचनमा पार्टी कमजोर हुने तय छ ।'
उनले विशेष महाधिवेशनको अपरिहार्यतालाई थप पुष्टि गर्ने क्रममा भने, 'जेन-जी आन्दोलनको मर्मलाई सम्बोधन गर्न पनि विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व र नयाँ एजेन्डा लैजानु पर्नेछ । हामीले जेन-जी पुस्तालाई सम्बोधन नगर्ने हो भने प्रतिनिधि सभामा हामी ध्वस्त हुन्छौँ । नेतृत्व किन तयार छैन भनेर हामी चिन्तित छौँ ।'
पुस २७ को विशेष महाधिवेशनलाई ग्रहण गरी प्रमुख अतिथि बन्न महामन्त्री गगनकुमार थापाले सभापति देउवालाई आग्रह गरिसकेका छन् । महामन्त्रीद्वयसँगै नेताहरूलाई बेवास्ता गर्दै देउवाको निर्देशनमा तरुण दलले युवा दस्ताको भेला डाक्नुले देउवामा अझ मोह सकिएको छैन भन्ने स्पष्ट भएको छ ।
उनकै प्रदेशका एक नताले भने, 'जेन-जी आन्दोलनबाटसमेत नसिकेका देउवा भिलेनका रूपमा चिनिनु भो । उहाँमा अब सहानुभूति पनि नरहने अवस्था बन्यो । कार्यवाहक दिएको नेताले निकै भद्र तरिकाले आफ्नो रिटायरमेन्ट लिनु भएजस्तो लागेको थियो । वास्तविक चरित्रमा आइछाड्नु भयो । यसले पार्टीलाई नोक्सान गर्न सक्छ ।'