कांग्रेस तीन दिने शोकमा, आइतबार पार्टी कार्यालय बन्द
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २६ शनिबार
1.6k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति दुःख व्यक्त गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिले शोक प्रस्ताव पारित गरेको छ।
केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले ८४ वर्षको उमेरमा गएराति दाहालको दुःखद निधन भएकोप्रति पार्टीका तर्फबाट गहिरो शोक व्यक्त गरेको हो। बैठकले दाहालको निधनले पार्टीले एक अनुभवी नेता तथा लोकतान्त्रिक आन्दोलनका अथक योद्धा गुमाएको उल्लेख गरेको छ।
स्वर्गीय दाहाल नेपाल पत्रकार महासंघका पूर्व सभापति, राष्ट्रकवि साप्ताहिकका सम्पादक तथा प्रकाशक र गोरखापत्र संस्थानका पूर्व अध्यक्षसमेत थिए । उनी नेपालको लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक जेल जीवन बिताएका थिए ।
२०५६ सालको आम निर्वाचनमा उनी ओखलढुंगा जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए ।
केन्द्रीय कार्यसमितिको बैठकले स्वर्गीय दाहालको सम्मानमा पुस २६, २७ र २८ गते तीन दिनसम्म पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। साथै पुस २७ गते केन्द्र, प्रदेश र जिल्लाका सबै पार्टी कार्यालय बन्द रहने जनाइएको छ।
त्यसैगरी स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औँ दिन ओखलढुंगा जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।
केन्द्रीय कार्यसमितिले स्वर्गीय दाहालप्रति उच्च सम्मान व्यक्त गर्दै उनको आत्माको चिरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।