यस ऐतिहासिक घडीमा सर्वप्रथम देश र जनताका लागि आफ्नो प्राण उत्सर्ग गर्ने तमाम ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपश्चात् देशमा उत्पन्न जटिल परिस्थितिमा पार्टी र राष्ट्रको चिन्ता बोकी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको विभिन्न कुना–काप्चाबाट पाल्नुभएका सम्पूर्ण देशभक्त, लोकतान्त्रिक समाजवादी समाज स्थापनामा अटुट विश्वास राख्ने साथीहरूलाई यस दोस्रो विशेष महाधिवेशनमा हार्दिक स्वागत तथा सफलताको शुभकामना व्यक्त गर्दछु।
यस विशेष अवसरमा म केही गम्भीर विषयहरू तपाईहरु समक्ष साझा गर्न चाहन्छुः
१) आज देशले भोगिरहेको विषम परिस्थितिको मूल कारण हाम्रा नेताहरूको गैरजिम्मेवारीपन र सैद्धान्तिक विचलन हो कि वैदेशिक राजनीतिक चलखेलको दुष्परिणाम हो ? यस प्रश्नको उत्तर यस विशेष महाधिवेशनले निर्धक्क भएर खोज्नुपर्दछ ।
२) नेपाली कांग्रेसका नेताहरूले चुनावी घोषणापत्रमा गरेका प्रतिबद्धताहरूले आम नेपालीको जनजीवनमा किन परिवर्तन ल्याउन सकेन ? यसको जवाफदेहिता कसले लिने? अब यस विषयमा गम्भीर बहस हुन जरुरी छ।
३) लोकतन्त्रमा प्रतिपक्षको भूमिका मेरुदण्डको रुपमा मानिन्छ । विगतको गठबन्धन सरकारले प्रतिपक्षको अस्तित्वलाई बिर्सिएको भान हुन्थ्यो। हाल जेन–जी आन्दोलनबाट स्थापित व्यावसायिक सरकार सञ्चालन भइरहँदा पनि प्रतिपक्षको उपस्थिति नदेखिनुले लोकतान्त्रिक व्यवस्था नै धरापमा परेको त होइन भन्ने प्रश्न आम जनमानसमा उब्जिन थालेको छ । संविधान र कानुनको मर्म अनुसार चल्न सकेन भने त्यो ‘असफल राष्ट्र’ मानिने गरिन्छ। कतै हामी असफल राष्ट्रको दलदलमा फस्दै त छैनौँ ?
उपरोक्त तमाम प्रश्नहरुको जवाफबाट नै हामी साझा भविष्यको निर्माण गर्न सक्दछौँ भन्ने मलाई लाग्दछ । धन्यवाद । जय नेपाल ॥ (साधारण सदस्य, नेपाली कांग्रेस, धनुषा क्षेत्र नं. ४, मधेस प्रदेश)