विशेष महाधिवेशन नै कांग्रेसको वैधानिक थलो हो : नेता केसी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
1.1k
Shares
काडमाडौँ । नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले शेरबहादुर देउवा पक्षले गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला मन्सुरलाई कारबाही गर्ने अधिकार नै नराख्ने टिप्पणी गरेका छन् ।
नेता केसीले विशेष महाधिवेशनको बन्दसत्रबाट कार्यविधि पारित भएकै दिन निवर्तमान केन्द्रीय समिति स्वतः विघटन भइसकेको भन्दै उसले कुनै पनि प्रकारको कारबाही गर्न कानूनी हैसियत नराख्ने टिप्पणी गरे।
उनले विशेष महाधिवेशन नै पार्टीको वैधानिक थलो भएको दाबी गर्दै सम्पूर्ण निर्णय यही प्रक्रियाअन्तर्गत हुने बताए ।
उनले विशेष महाधिवेशनको हलबाट पार्टीको सभापति तथा अन्य पदाधिकारी घोषणा गरी सभापतिको हस्ताक्षरसहित पदाधिकारीको विवरण निर्वाचन आयोगमा पेस गरिने जानकारी दिए ।
‘जुन दिन विशेष महाधिवेशनको बन्दसत्रबाट कार्यविधि पास भयो त्यही दिन त्यही दिन पार्टीको निवर्तमान केन्द्रीय समिति विघटन भइसक्यो । उहाँहरू आधिकारिक हुनुहुन्न । विघटित कार्यसमितिले कसैलाई पनि कारबाही गर्ने अधिकार राख्दैन, छैन । वैधानिक हल यो हो । वैधानिक व्यवस्था यो हलअन्तर्गत चल्छ’, उनले भने, ‘२०१४ सालमा निवर्तमान सभापतिले बोलाउनुभयो । आज हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिहरूले बोलाए। जसरी त्यो बेलामा वैधानिक रुपमा सभापति बीपी कोइराला हुनुभयो त्यहीअनुसार आज हामी यहाँबाट पार्टीको सभापति लगायत पदाधिकारी घोषणा गर्छौँ । त्यसपछि पदाधिकारीको विवरणसहित सभापतिको हस्ताक्षरसमेत निर्वाचन आयोगमा पेश गर्छौँ ।’
उनले आउँदो निर्वाचनमा कांग्रेस नयाँ नीति र नेतृत्वसहित जनतामाझ जाने स्पष्ट पारे ।