राष्ट्रिय सभामा सदाचार र पर्यटन सम्बन्धी दुई महत्वपूर्ण प्रतिवेदन पेश
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ९ शुक्रबार
758
Shares
काठमाडौँ । राष्ट्रिय सभाको आज शुक्रबार बसेको बैठकमा दुईवटा महत्वपूर्ण संसदीय समितिका अध्ययन प्रतिवेदनहरू पेश गरिएका छन्। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिले आ–आफ्नो प्रतिवेदन सदनसमक्ष प्रस्तुत गरेका हुन्।
विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमलादेवी पन्तले ‘राष्ट्रिय सदाचार सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेश गरेकी छिन्। यस प्रतिवेदनमा मुलुकमा सुशासन कायम गर्न र सार्वजनिक जीवनमा सदाचार प्रवर्द्धन गर्न आवश्यक पर्ने नीतिगत तथा व्यावहारिक पक्षबारे महत्वपूर्ण सुझावहरू समेटिएको बताइएको छ।
त्यसैगरी, विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गरेकी छिन्। यस प्रतिवेदनले नेपालको पर्यटन क्षेत्रलाई आधुनिक र व्यवस्थित बनाउन, पर्वतारोहण तथा स्थानीय तहको भूमिकालाई स्पष्ट पार्न विभिन्न संशोधन र सुझावहरू प्रस्ताव गरेको छ। दुवै प्रतिवेदनमाथि अब सदनमा छलफल हुने र सरकारलाई आवश्यक निर्देशन दिइने कार्यसूची रहेको छ।