arrow

राष्ट्रिय सभा सदस्य निर्वाचनमा ९५ प्रतिशतभन्दा बढी मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ११ आइतबार
rastriya-sabha-election-82-10-11.jpg

काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि आज भएको मतदान उत्साहजनक एवं शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा सातै प्रदेशमा गरी ९५ दशमलव ६८ प्रतिशत मत खसेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।  

आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ सदस्यका लागि आज निर्वाचन भएको हो । निर्वाचन अधिकृतका कार्यालयहरूबाट आयोगमा प्राप्त विवरणअनुसार कोशी प्रदेशमा कुल मतदाता ३६० रहेकामा ३४५ मत खसेको छ । 

मधेस प्रदेशमा ३६४ मध्ये ३४१, वाग्मतीमा ३३८ मध्ये ३१८, गण्डकीमा २२८ मध्ये २२३, लुम्बिनीमा  २९९ मध्ये २८६, कर्णालीमा १९८ मध्ये १९१ र सुदूरपश्चिममा २२४ मध्ये २२० मत खसेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । 

सातै प्रदेशमा कुल २०११ मतदाता रहेकामा १९२४ मत खसेको आयोगले जनाएको छ । शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान गराउन सहयोग गर्ने राजनीतिक दल, उम्मेदवार तथा सरोकार भएका सबैलाई आयोगले धन्यवाद दिएको छ । सबै मतपेटिका जम्मा गरी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिने आयोगले जनाएको छ ।

आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फ एक पदमा निर्विरोध भएको थियो । त्यहाँ उम्मेद्वार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन् । 

बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका राजधानीस्थित तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ