विनोद चौधरीलाई जिताउन प्रचार समिति गठन, क्षेत्रीय कार्यालय उद्घाटनसँगै घरदैलो शुरु
चुनाव जित्न मात्र होइन, आर्थिक रूपान्तरणका लागि मैदानमा छौँ: विनोद चौधरी
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १३ मंगलबार
833
Shares
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आफ्नो चुनावी अभियानलाई आक्रामक रूपमा अगाडि बढाएको छ। यस क्षेत्रबाट पुनः उम्मेदवार बनेका उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीलाई विजयी गराउन पार्टीले सोमबार बर्दघाटमा अगुवा कार्यकर्ता भेला गर्दै चुनावी तयारीलाई तीव्र पारेको हो।
अभियानलाई व्यवस्थित बनाउन क्षेत्रीय सभापति मुकुल आचार्यको संयोजकत्वमा ५५५ सदस्यीय विशाल ‘क्षेत्रीय चुनाव प्रचार–प्रसार समिति’ गठन गरिएको छ। बर्दघाटमा क्षेत्रीय चुनावी कार्यालयको विधिवत् उद्घाटन गर्दै कांग्रेसले पार्टीभित्रको आन्तरिक एकतालाई मजबुत बनाउने र प्रत्येक वडा तथा टोलसम्मै उप–समितिहरू विस्तार गरी प्रभावकारी 'घरदैलो' अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
उम्मेदवार विनोद चौधरीले आफूले विगत तीन वर्षमा यस क्षेत्रको विकासका लागि तयार पारेको आधार र आगामी आर्थिक रूपान्तरणका योजनाहरू नै आफ्नो जितको मुख्य आधार भएको बताएका छन्। समितिका संयोजक आचार्यले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आफूलाई नै उम्मेदवार सम्झेर नवलपरासीको समृद्धिका लागि जनताको घरदैलोमा पुग्न निर्देशन दिएका छन्।
भेलामा सहभागी केन्द्रीय सदस्य राधेश्याम पाठक, प्रदेश सांसद विश्वप्रेम पाठक र कावा सभापति विक्रम यादव लगायतका नेताहरूले चौधरी जस्तो विकासप्रेमी र राष्ट्रिय व्यक्तित्वलाई उम्मेदवारका रूपमा पाउनु नवलपरासीबासीका लागि गर्वको विषय भएको उल्लेख गरे। २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका चौधरी यसपटक पुनः भारी मतका साथ विजयी हुने लक्ष्यका साथ मैदानमा होमिएका छन्।