बजारमा मनपरी गर्नेलाई सरकारको लगाम: तेल र चामलको मूल्य घटाउन विभागको 'अल्टिमेटम'
नमाने कारबाही गर्ने चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
754
Shares
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि तत्काल समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकहरूलाई निर्देशन दिएको छ।
बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभागले बजारमा अनावश्यक रूपमा बढाइएको मूल्य नियन्त्रण गरी प्रतिस्पर्धी र स्वच्छ बजार व्यवस्था कायम गर्न यस्तो कदम चालेको हो। विभागले खाद्यान्न तथा तेल उत्पादन गर्ने प्रमुख उद्योगी र वितरकहरूलाई बोलाएर अनुचित नाफा नलिई आफ्ना वस्तु वा सेवा उपलब्ध गराउन तथा बढाइएको मूल्य घटाएर उपभोक्तालाई राहत दिन स्पष्ट निर्देशन दिएको छ।
पछिल्लो समय खानेतेल, ग्यास र चामल जस्ता अत्यावश्यक दैनिक उपभोग्य वस्तुको मूल्यमा अप्रत्याशित वृद्धि भएको र कतिपय ठाउँमा कृत्रिम अभाव सिर्जना गरिएको गुनासो बढेपछि विभागले सक्रियता देखाएको हो।
सार्वजनिक सञ्चारमाध्यम र उपभोक्ता तहबाट आएका यस्ता गुनासाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ र सोही नियमावली अनुसार सर्वसाधारणलाई गुणस्तरीय वस्तु तथा सेवा सुलभ मूल्यमा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न विभागले आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
बजारलाई थप मर्यादित बनाउन विभागले अन्य सरकारी निकायहरूसँगको समन्वयमा संयुक्त अनुगमन कार्यलाई पनि तीव्र बनाएको छ। उत्पादक, विक्रेता, पैठारीकर्ता र सञ्चयकर्ताहरूले नियम विपरीत मूल्य बढाएको वा सामान लुकाएको पाइएमा कानुन अनुसार कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।
विभागले उपभोक्तालाई पनि बजारमा कतै ठगी भएको वा मूल्यमा बदमासी भएको देखेमा तुरुन्त खबर गर्न आग्रह गरेको छ। यसरी सरकारी सक्रियता बढेसँगै बजारमा बढ्दो महंगी केही कम हुने र उपभोक्ताले राहत पाउने अपेक्षा गरिएको छ।