arrow

चैतको पहिलो हप्ताभित्र नयाँ संसद भवन तयार पार्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २३ शुक्रबार
narayan-dahal-ss.jpg

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चैतको पहिलो हप्ताभित्र संघीय संसद भवनको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्। शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र निर्माण पक्षलाई बोलाएर उनले नयाँ भवनबाटै प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरू सञ्चालन गर्ने गरी कुनै पनि अवरोध बिना काम सक्न भनेका हुन्। 

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अध्यक्ष दाहालले प्राविधिक जडान र निर्माणका बाँकी कामहरूमा ढिलासुस्ती नगर्न सचेत गराएका छन्। छलफलका क्रममा सचिव सिग्देलले भवनको करिब ९२ प्रतिशत काम सकिइसकेको र बाँकी काम तोकिएको समयमै पूरा हुने ब्रिफिङ अध्यक्षलाई गराएका थिए।

अध्यक्ष दाहालले कामको गतिलाई तीव्रता दिन र तोकिएको समयसीमाभित्रै नतिजा निकाल्नका लागि नियमित अनुगमन गर्न संसद सचिवालयलाई निर्देशन दिएका छन्। उनले निर्माणको प्रगति विवरण प्रत्येक हप्ता सचिवालयलाई बुझाउन र सचिवालयका प्राविधिकहरूले पनि स्थलगत अवलोकन गरी प्रविधि जडानका विषयमा जानकारी लिनुपर्नेमा जोड दिए। 

फागुन २१ को निर्वाचनपछि नयाँ भवनबाटै संसदका कामहरू सुरु गर्ने सचिवालयको तयारी रहेको छ। सोही योजनाअनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाका मुख्य बैठक कक्षहरूको निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाउन सहरी विकास मन्त्रालय र निर्माण कम्पनीलाई सचेत गराइएको छ।

संघीय संसद सचिवालयले चैतको पहिलो हप्तासम्म भवन हस्तान्तरण हुने र त्यसलगत्तै नयाँ ठाउँबाट संसदका बैठकहरू सुरु हुनेमा विश्वास व्यक्त गरेको छ। नयाँ भवन अत्याधुनिक र प्रविधिमैत्री हुने भएकाले यसले संसदीय प्रक्रियालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। अध्यक्ष दाहालले निर्माण कार्यमा संलग्न जनशक्तिलाई प्रोत्साहन गर्दै गुणस्तरमा कुनै सम्झौता नगर्न समेत निर्देशन दिएका छन्। अबको केही हप्ता सचिवालय र सहरी विकास मन्त्रालयबीचको समन्वयमा भवनको अन्तिम साजसज्जा र प्राविधिक परीक्षणका कामहरूले निरन्तरता पाउनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ