arrow

विकासका लागि कांग्रेसको विकल्प छैनः श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २४ शनिबार
jitendra-kumar-shrestha-lalitpur.jpg

काठमाडौँ । नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर ३ का उम्मेद्वार जितेन्द्रकुमार श्रेष्ठले आगामी निर्वाचनमा नेपाली कांग्रेसको रुख चिन्हलाई विजयी बनाउन सबै कार्यकर्ता र शुभेच्छुकलाई एकजुट हुन आह्वान गरेका छन्।

ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको सिद्धान्त र विकासको एजेण्डा नै आफ्नो मुख्य शक्ति भएको स्पष्ट पारे।

उनले स्थानीय तह र केन्द्र सरकारबीचको समन्वयमा विशेष जोड दिँदै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसँगको निकट सहकार्यले मात्र यस क्षेत्रको विकासलाई तीव्रता दिन सकिने विश्वास व्यक्त गरे।

स्थानीय जनप्रतिनिधिहरूको सफल अनुभव र आफ्नै राजनीतिक सक्रियतालाई जोड्दै श्रेष्ठले ललितपुरलाई एक नमूना जिल्ला बनाउने प्रतिबद्धता जनाए। विकासका आयोजनाहरूलाई पूर्णता दिन ‘टिमवर्क’ अपरिहार्य रहेको उनले औंल्याए।

पार्टीको निर्वाचन चिन्ह ‘रुख’ को दर्शनबारे चर्चा गर्दै उनले रुख केवल एउटा चिन्हमात्र नभई उम्मेद्वारको व्यक्तित्व र पार्टीको गौरवशाली इतिहासको प्रतीक भएको बताए।

उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको झण्डा र चिन्हलाई केन्द्रमा राखेर चुनावी अभियानमा होमिन निर्देशन दिए।

श्रेष्ठले अहिले आफूहरू चुनावी अभियानमा रहेको उल्लेख गर्दै धेरै बोल्नु भन्दा सिद्धान्त र चिन्हलाई जिताउनुपर्ने बताए।

उनले आफू एउटा पात्र मात्र भएको र वास्तविक उम्मेद्वार भनेको नेपाली कांग्रेसको चुनाव चिन्ह रुख नै भएको स्पष्ट पारे।

सिद्धान्त बोकेको चारतारे झण्डा नै नेपाली कांग्रेसको पहिचान भएको भन्दै रुख चिन्ह लिएर आउने उम्मेद्वारलाई जिताउनु सबैको कर्तव्य भएको उनले बताए।

सबैले रुख चिन्हलाई मतदान गरेर जिताउने प्रतिज्ञा लिएकोमा आफू अत्यन्तै हर्षित भएको उनले बताए।

नयाँ पुस्तामा समेत रुख चिन्हको गहिरो छाप परेको उल्लेख गर्दै उनले आफ्ना नातिले समेत सजिलै रुख चिन्ह चिनेको प्रसङ्ग कोट्याए।

यसले कांग्रेसको विरासत नयाँ पुस्तामा हस्तान्तरण भइरहेको प्रमाणित भएको उनको दाबी छ।

आगामी दिनमा घरदैलो अभियानलाई थप सशक्त बनाउन र प्रत्येक मतदाताको मन जित्न सबैलाई अझ सक्रिय हुन उनले विशेष आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ