वीरगञ्ज भन्सारको राजस्वमा पेट्रोलियम र सवारीसाधनको वर्चस्व
६ महिनामा सङ्कलन भयो १ खर्ब १६ अर्ब
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २६ सोमबार
658
Shares
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलनको मुख्य हिस्सा पेट्रोलियम पदार्थ र सवारीसाधनको आयातमा निर्भर देखिएको छ। कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा कुल १ खर्ब १६ अर्ब ५८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
यसमध्ये पेट्रोलियम पदार्थको आयातबाट मात्रै ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व उठेको छ, जसले भन्सारको आम्दानीमा इन्धनको ठुलो योगदान रहेको पुष्टि गर्छ। कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सारको राजस्व मुख्य रूपमा इन्धन, यातायातका साधन र तिनका पार्टपुर्जाकै आयातमा अडिएको बताए।
राजस्व सङ्कलनको दोस्रो ठुलो स्रोतका रूपमा सवारीसाधन र पार्टपुर्जाहरू रहेका छन्, जसबाट ६ महिनामा १३ अर्ब ९८ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ। यसैगरी, फलाम तथा फलामबाट बनेका सामानहरूको आयातबाट ६ अर्ब ८३ करोड, कपडा आयातबाट ५ अर्ब २६ करोड र इलेक्ट्रिक मेसिनरी एवं तिनका पार्टपुर्जाबाट ४ अर्ब ९१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। विलासिताका सामानतर्फ मदिराजन्य पेयपदार्थको आयातबाट १ अर्ब ८३ करोड र शृङ्गारका सामानबाट १ अर्ब ८१ करोड रुपैयाँ राजस्व उठेको भन्सारको तथ्याङ्कले देखाउँछ।
भन्सार कार्यालयले दिएको यो जानकारी अनुसार आयातको प्रकृतिमा खासै परिवर्तन नआएको र राजस्वको ठुलो भाग अझै पनि परम्परागत वस्तुहरूमै केन्द्रित रहेको देखिन्छ। देशकै प्रमुख व्यापारिक नाका भएकाले वीरगञ्जबाट हुने आयातले राष्ट्रिय अर्थतन्त्र र सरकारी कोषमा निर्णायक भूमिका खेल्दै आएको छ। इन्धन र सवारीसाधनको आयातमा हुने थपघटले नै वीरगञ्ज भन्सारको लक्ष्य प्राप्तिमा प्रत्यक्ष असर पार्ने देखिन्छ।