arrow

सुन्दरहरैँचालाई अझ सुन्दर बनाउने जिम्मा मलाई दिनुहोस् : शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ४ सोमबार
shekhar-koirala-11-05.jpg

काठमाडौँ । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा. शेखर कोइरालाले अघिल्लो निर्वाचनमा आफूले गरेको प्रतिबद्धता पूरा भएकोमा खुसी व्यक्त गरेका छन्।

मोरङको सुन्दरहरैँचा-२, मृगौलियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने वाचा अनुरूप ५० जना विद्यार्थी भर्ना भई अध्ययन सुरु हुनु उपलब्धिमूलक भएको बताए।

वरिष्ठ नेता कोइरालाले मेडिकल कलेजमा विद्यार्थीको सङ्ख्या बढ्दै गएपछि यस क्षेत्रको समग्र विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे। "विगतको तुलनामा सुन्दरहरैँचाको स्वरूप परिवर्तन भएको छ," उनले भने।

उनले आफ्नो कार्यकालमा नदी नियन्त्रण, वृन्दावन गौशाला, तेलिया र गछिया खोलाको तटबन्ध, सडक, भवन, मठ-मन्दिर, शैक्षिक संस्था र मृगौलिया खानेपानी आयोजनाको विस्तार जस्ता क्षेत्रमा उल्लेख्य काम भएको दाबी गरे।

मृगौलियाका किसानको समस्याप्रति लक्षित गर्दै कोइरालाले सिँचाइको व्यवस्था गर्ने नयाँ प्रतिबद्धता समेत जनाए। "यहाँ एउटा डिप ट्युबवेल बिग्रिएको रहेछ, निर्वाचन लगत्तै नयाँ जडान गर्ने जिम्मा मेरो भयो," उनले मतदातालाई आश्वस्त पारे। सुन्दरहरैँचालाई थप विकसित र सुन्दर बनाउने आफ्नो तीव्र इच्छा रहेको बताउँदै उनले यस पटक पनि आफूलाई सेवा गर्ने अवसर दिन स्थानीयवासीसँग आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ