मधेसमा टोपीको सम्मान र पहाडमा धोतीको आत्मसम्मान खोज्न उभिएका छौँ : विश्वप्रकाश शर्मा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ६ बुधबार
707
Shares
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको विद्यमान राजनीतिक र सामाजिक परिस्थितिलाई सम्बोधन गर्न नेपाली कांग्रेस ‘नयाँ अवतार’ मा मधेस आएको उद्घोष गरेका छन्।
मधेसको ऐतिहासिक र उर्वर भूमिबाट देशवासीलाई सम्बोधन गर्दै शर्माले आगामी निर्वाचन केवल सत्ता प्राप्तिको माध्यम मात्र नभई संकटमा परेको देशलाई सम्हाल्ने र नागरिकको घाउमा मलम लगाउने महायज्ञ भएको बताए।
स्वर्गीय नेताहरूको योगदानलाई स्मरण गर्दै उपसभापति शर्माले मधेस र देश रूपान्तरणको अधुरो यात्रा पूरा गर्ने प्रतिज्ञा गरे।
उनले मधेसलाई नेपालको ‘अन्न भण्डार’ र ‘पेट भर्ने भूमि’ को रूपमा सम्मान गर्दै किसानको पसिना र अन्नको एक-एक दानाप्रति पार्टीको तर्फबाट कृतज्ञता व्यक्त गरे।
उपसभापति शर्माले आगामी २०८२ सालमा हुने भनिएको निर्वाचनको औचित्य पुष्टि गर्दै पार्टीले विशेष महाधिवेशनमार्फत देशको अवस्थाको ‘एक्स-रे’ र ‘एमआरआई’ गरेको खुलासा गरे।
‘८४ मा हुनुपर्ने निर्वाचन ८२ मै किन हुँदैछ भन्ने प्रश्नको उत्तर स्पष्ट छ- देश र मधेस दुखिरहेको छ’, शर्माले भने, ‘कांग्रेसले विशेष महाधिवेशनबाट पहाडदेखि मधेससम्म र नागरिकदेखि युवाहरूसम्म कहाँ-कहाँ पीडा छ, को-को किन रिसाएका छन् भन्ने कुराको सुक्ष्म अध्ययन गरेको छ । अब हामी त्यो रिपोर्टका आधारमा समस्या समाधान गर्ने सङ्कल्पसहित आएका छौँ ।’
उनले यो बेला कसलाई जिताउने भन्ने गौण प्रश्न भएको भन्दै मुख्य प्रश्न विषम परिस्थितिमा देशलाई कसले सम्हाल्न सक्छ भन्ने रहेको बताए । कांग्रेस त्यो जिम्मेवारी लिन तयार रहेको उनको भनाइ छ ।
मध्यमार्गी सोचः जेन-जीदेखि अल्फासम्मको चुनौती
पछिल्लो समय विकसित भएका राजनीतिक प्रवृत्तिहरूको आलोचना गर्दै शर्माले कांग्रेस ‘मध्यमार्गी’ सोचका साथ अघि बढ्ने बताए । उनका अनुसार एकथरी शक्ति ‘सबै ठिक छ’ भन्ने भ्रममा छन् भने अर्काथरी ‘सबै भ्रष्ट र खराब छन्’ भन्ने चरम नकारात्मकता फैलाइरहेका छन् । यी दुवै सोच गलत रहेको जिकिर गर्दै उनले युवाहरूको असन्तोषलाई बेलैमा सम्बोधन नगरे भविष्यमा ठूलो संकट आउने चेतावनी दिए ।
‘यदि आज हामीले जेन-जी पुस्ताको विद्रोह र भावनालाई बुझ्न सकेनौँ भने, आगामी १० वर्षपछि अल्फा पुस्ताको नेतृत्वमा हुने अझ ठूलो विस्फोट बेहोर्नुपर्नेछ’ शर्माले भने, ‘दशक-डेढ दशकपछि फेरि आमाहरूको काख रित्तिने र सिंहदरबार जल्ने दृश्य हेर्न हामी तयार छैनौँ । त्यसैले पुरानाले नबदलिई नयाँ परिणाम दिन सकिँदैन भन्नेमा हामी प्रष्ट छौँ ।’
‘पहिले आफूलाई बदलौँ, अनि देश बदलिन्छ’
मधेसी भाषामा समेत सम्बोधन गर्दै शर्माले रूपान्तरणको शुरूआत आफैँबाट हुनुपर्नेमा जोड दिए । ‘यहाँ यदि संसार बदल चाहै छि, देश बदल चाहै छि त सबसे पहिले अहाँ बदलु,’ (यदि तपाईं संसार र देश बदल्न चाहनुहुन्छ भने पहिले आफैँ बदलिनुस्) भन्दै उनले कांग्रेस कार्यकर्ताहरूलाई नयाँ सोचका साथ जनताको बीचमा जान निर्देशन दिए ।
उनले कांग्रेस ‘पुरानो’ भएकोमा गर्व गर्दै भने, ‘धर्ती पुरानो छ, धर्मग्रन्थहरू पुराना छन् र देश पनि पुरानो छ । पुरानो हुनु भनेको अनुभव र निकासको स्रोत हुनु हो । कांग्रेसले हरेक मोडमा देशलाई निकास दिएको इतिहास छ र भविष्यमा पनि दिनेछ ।’
राष्ट्रिय संवाद र संवैधानिक सुधारको अपील
उपसभापति शर्माले सबै राजनीतिक दलहरूलाई राष्ट्रिय संवादमा आउन अपील गरे । उनले निर्वाचनपछि बन्ने सरकारले संविधानमा केही आधारभूत सुधार गर्नुपर्ने प्रश्ताव अघि सारे। जसमा पाँच वर्षसम्म स्थिर प्रधानमन्त्री रहने सुनिश्चितता र दक्षिण अफ्रिकाको जस्तै साझा संवैधानिक सिद्धान्त निर्माण गर्ने सोच समावेश छ ।
‘हामी सुशासन, समुन्नति र सद्भावको सङ्कल्प लिएर आएका छौँ ।’ शर्माले भन्नुभयो, ‘निर्वाचनको मैदान दुश्मनको अखडा होइन, यो विचार र व्यक्तित्व प्रतिस्पर्धाको महायज्ञ हो। कांग्रेसले कसैलाई दुश्मन देख्दैन, सबैलाई गाँसेर लैजाने अभिभावकीय भूमिका निर्वाह गर्छ ।’
मधेस र पहाडको एकताः ‘रुख’ र ‘गाछी’ को मनोविज्ञान
नेपाली कांग्रेसको बलियो आधार मधेस र पहाडको एकता भएको उल्लेख गरे । शर्माले भने, ‘कांग्रेसको दुई हात मधेस र पहाडको साथ हो । हामी मधेसमा टोपीको सम्मान र पहाडमा धोतीको आत्मसम्मान खोज्न उभिएका छौँ ।’
उनले आगामी फागुन २१ गतेसम्म पुग्दा सिङ्गो देश ‘रुख’ र ‘गाछी’ (रुखको मधेसी शब्द) को मनोविज्ञानमा गोलबन्द हुने दाबी गरे।
उनले प्रवासमा रहेका नेपालीहरूको नागरिकता र लगानीको सुरक्षा गर्ने तथा उनीहरूलाई आगामी दिनमा मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिज्ञा पनि दोहोर्याए।
आगामी निर्वाचनमा ‘रुख’ चिन्हमा मतदान गर्न र ‘भिजन १०’ लाई अनुमोदन गर्न उनले उपस्थितलाई आह्वान गरे।