पार्टीको बृहत एकताका लागि निष्टा र समर्पणसहित अगाडि बढ्न पूर्णबहादुरको जोड
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
2.9k
Shares
तस्बिर : फाइल
काठमाडौँ। नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र बृहत् एकता आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको परिणामले कांग्रेसलाई गम्भीर सन्देश दिएको बताए।
खड्काले मतदाताको निर्णयलाई सम्मान गर्दै त्यसबाट पाठ सिक्नुपर्ने उल्लेख गरेका छन्। उनले अब आवेग, उत्तेजना र बदलाको भावनाबाट मुक्त भएर संयम र जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताएका छन्।
खड्काका अनुसार अस्वभाविक महत्त्वाकांक्षा र व्यक्तिगत आग्रह त्यागेर पार्टीलाई बलियो बनाउन सबै नेता–कार्यकर्ता एकजुट हुन आवश्यक छ।
उनले देश र पार्टीका अगाडि रहेका चुनौती सामना गर्न एकता नै उपयुक्त बाटो भएको बताएका छन्।
खड्काको स्टाटस
प्रतिनिधिसभाकाे निर्वाचनकाे परिणामले विशेष गरी सबैभन्दा बढी विभिन्न तहमा विभिन्न जिम्मेवारीमा कृयाशील हामी कांग्रेसीहरूलाई गंभीर सन्देश प्राप्त भएकाे छ हाम्रा भगवानरुपी परम आदरणीय मतदाताहरुकाे निर्णयबाट !
अब आवेग, उत्तेजना र बदलाकाे भावनाबाट मुक्त भएर अत्यन्त संयम, जिम्मेवार भएर हामी सबैले मःम भन्दै विगतकाे निर्मम समीक्षा गर्दै अस्वभाविक महत्वाकाक्षा,आवेग र आग्रहबाट मुक्त भएर पार्टीको व्यापक-बृहत एकताका लागि निष्टा र समर्पण भावका साथ अगाडि बढ्नु पर्ने हामी सबैकाे नैतिक कर्तब्य र जिम्मेवारी छ ।
हाम्रा अगाडि खडा भएकाे हिमालयन चुनाैतीकाे सामना गर्ने यही नै उपयुक्त बाटाे हाे त्यस्ताे लाग्छ।