बाइस करोड जरिबाना तोकिएका नेपाल शेयर मार्केट्सका पूर्वअध्यक्ष पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २ सोमबार
852
Shares
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई ६ वर्ष कैद र २२ करोड ६७ लाख रुपैयाँभन्दा बढी जरिबाना तोकिएका फरार प्रतिवादी योगेन्द्रप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष रहेका श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार काठमाडौँको सीतापाइलाबाट पक्राउ गरेको हो।
६९ वर्षीय श्रेष्ठले फाइनान्सको निक्षेपकर्ता र संस्थाको हितविपरीत अनियमित एवं गैरकानुनी कार्य गरी बैंकिङ कसुर गरेको पुष्टि भएपछि सर्वोच्च अदालतले २०८१ भदौ ५ गते उनलाई दोषी ठहर गरेको थियो।
अदालतको फैसलाअनुसार उनलाई दुईवटा मुद्दामा गरी कुल २२ करोड ६७ लाख ४१ हजार ३४३ रुपैयाँ जरिवाना र ६ वर्ष कैद सजाय सुनाइएको छ।
प्रहरीका अनुसार श्रेष्ठलाई सजाय कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ।
यो गिरफ्तारीलाई बैंकिङ क्षेत्रमा हुने ठगी र वित्तीय अपराध विरुद्धको ठूलो सफलताका रूपमा हेरिएको छ।