देउवा समूहसँग बसेर चुनावी समीक्षा गरेका शेखरको स्पष्टोक्ति - म कुनै समूहमा छैन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २१ शनिबार
964
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताएका छन्। नेता कोइराला संस्थापन इतर (शेरबहादुर देउवा) समूहमा बसेर चुनावी समीक्षा गरेका उनले आफू पार्टीको कुनै पनि समूहमा नरहेको स्पष्टीकरण दिएका हुन्।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औँ महाधिवेशनका केन्द्रीय कार्यसमितिको नाममा भेला डाकेका थिए । सो भेलामा डा कोइराला सहभागी भएका थिए ।
कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा डा कोइरालाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा चुनाव लडेका थिए ।
शनिबार काठमाडौँमा आयोजित बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले सामाजिक सञ्जालमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्तिसमेत जनाए।
उनले आफ्नो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउने जिकिर गर्दै त्यसका लागि अन्तिमसम्म पनि प्रयास गर्ने बताए।
कांग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने आफनो इच्छा रहेको नेता कोइरालाको भनाइ थियो ।
उनले भने, ‘नेपाली कांग्रेसलाई एकढिक्का बनाउनका लागि, नेपाली कांग्रेसलाई एक ठाउँमा ल्याउनका लागि म अन्त्यसम्म प्रयास गर्नेछु। त्यो तपाईँहरू ढुक्क हुनुहोस् । म कुनै यो ग्रपमा, त्यो ग्रुपमा छैन । तपाईँहरू स्पष्ट हुनुपर्या यो कुरामा । मानिसहरूले, साथीहरूले यही कोठामा, यही हलमा भएका साथीहरूले पनि मेरो बारेमा धेरै कुराहरू लेखेको मैले देखेको छु । सामाजिक सञ्जाल हामी पनि हेर्छौँ । हामी हर्दैनौँ भन्ने होइन । हामी पनि बुझ्छौँ । तर जसरी प्रस्तुत गरिएको छ । मलाई चिन्ता छैन । मलाई जसले जति गाली गरे पनि हुन्छ । त्यसले मलाई केही पनि असर गर्दैंन । किनभने मेरो एउटै लक्ष्य छ-नेपाली कांग्रेसलाई एकढिक्का बनाएर फेरी हामीहरू पहिलो पार्टीको रुपमा प्रस्तुत हुने मेरो त्यत्ति मात्रै इच्छा हो । अरु मेरो केही इच्छा छैन ।’
त्यस अवसरमा कांग्रेस नेता कोइरालाले बीपी कोइरालाको नाममा खोलिएको सो अस्पताललाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि त्यहाँबाट अवकाश पाएका चिकित्सकहरूको विशेष योगदान रहन सक्नेसमेत बताए।