arrow

नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्दै प्रज्ञा–प्रतिष्ठान

logo
प्रकाशित २०७२ पुष ११ शनिबार
nepal-academy.jpg.jpeg
अच्युत रेग्मी, काठमाडौँ । हजारौँ नेता र कार्यकर्ताले भाषण छाँट्ने र साहित्यिक सभा सम्मेलन हुने ठाउँ नेपाल प्रज्ञा–प्रतिष्ठान नेपाली साहित्यलाई अन्तराष्ट्रियस्तरमा फैलाउन लागि परेको छ । अन्तर्राष्ट्रिय साहित्यलाई भित्र्याउने तथा आफ्नो साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउन मित्रराष्ट्र भारत, चीन र दक्षिण एसियाली देशसँग सम्बन्ध बढाउने काममा संस्था लागिपरेको हो ।
 
नेपाली भाषा र साहित्यको विकास गर्न विसं २०१४ मा स्थापित प्रतिष्ठानले विभिन्न भाषा, साहित्य र संस्कृतिको विकासका लागि खोज अनुसन्धान थालेको छ । 
प्रतिष्ठानले बर्सेनि आफ्नो संस्था अन्तर्गतका ११ विभागले गरेको अध्ययन अनुसन्धानलाई पुस्तकका रुपमा प्रकाशन गर्दै आएको छ । आख्यान, पद्य, समालोचना र निबन्ध, मातृभाषा साहित्य, लोकवार्ता र बाल साहित्य, अनुवाद, नेपाली भाषा, मातृभाषा, संस्कृति, दर्शन र सामाजिक शास्त्र विभाग मार्फत अनुसन्धान गरिरहेको प्रतिष्ठानका सदस्य सचिव प्रा डा जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो । 
 
गत वर्ष मात्रै प्रतिष्ठानले ४० अध्ययन अनुसन्धान गरेको र १६ पुस्तक प्रकाशन गरेको थियो । स्थापनादेखि हालसम्म संस्थाले करिब ६०० अध्ययन अनुसन्धान गराएको छ । तीमध्ये २५० किताबका रूपमा प्रकाशन गरेको छ । अरु केही हराएका र केही दराजमा थन्किएका छन् । प्रतिष्ठानले नेपाली बृहत् शब्दकोशको नवौँ संस्करण पनि प्रकाशन गरेको छ । पुराना कतिपय शब्दलाई परिमार्जित गरी नयाँ संस्करण प्रकाशन गरिएको हो । कतिपय अन्य कोश प्रकाशन गरिसकेको प्रतिष्ठानले भोजपुरी शब्दकोश प्रकाशनको तयारी गरेको छ । 
 
गत असोजमा मात्र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)सँग मिलेर डायस्पोराका कविता प्रकाशन गरी विदेशमा रहेका नेपाली कवि र कवितालाई चिनाएको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिनुभयो । प्रतिष्ठानबाट हालसम्म नेपाली, अङ्ग्रेजी, मैथिली, भोजपुरी, नेपाल भाषा, अवधी, तामाङ, लिम्बू, धिमाल, मगर, उर्दु, चेपाङ, थारु, दनुवार, राई, लेप्चा, सुनुवार लगायत दुई दर्जन भाषामा पुस्तक प्रकाशन भएका छन् । जिरेल, काइके, सुरेल, माझी, मगही आदि भाषाको खोजी पनि भएको छ । 
 
प्रतिष्ठानबाट ‘कविता’, ‘समकालीन’, ‘प्रज्ञा’, ‘सयपत्री’ (बहुभाषिक), ‘रूपान्तरण’ (नेपाल हिन्दी अङ्ग्रेजी), ‘जर्नल अफ नेप्लिज लिटरेचर’, ‘आर्ट एन्ड कल्चर’ (अङ्ग्रेजी), ‘थाय्भु’(नेपाल भाषा), ‘आँगन’ (मैथिली), ‘फक्ताङ्लुङ’ (लिम्बू), महुआ (भोजपुरी) र ‘प्रज्ञा गतिविधि’ नामक पत्रिका विभिन्न भाषामा प्रकाशन हुँदै आएका छन् । 
 
प्रतिष्ठानले नेपाली भाषा साहित्यको विकास गर्न एक लाखभन्दा बढी शब्द रहेको ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ प्रकाशन गर्न प्रा डा हेमाङ्गराज अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । उक्त शब्दकोशमा ‘नेपाली बृहत् शब्दकोश’(विसं २०४०) मा भएका शब्दका साथै चल्तीका मातृभाषाका नेपाली तथा नेपाली भाषिकाका शब्द सङ्कलन गरिने छ । यसलाई अनलाइनमा लैजान युनिकोडमा निकाल्ने तयारी भएको शब्दकोशका संयोजक अधिकारीले बताउनुभयो । 
 
मुलुकको सांस्कृतिक र राष्ट्रिय धरोहरका रुपमा रहेको प्रतिष्ठानले स्थान अभावका कारण बाजा र वेशभूषाको प्रदर्शन गर्न सकेको छैन । नेपालमा १२३ भाषा र १२५ जातजाति छन् । यी जातजातिको वेशभूषा र रहनसहन प्रदर्शन गरे नेपाल संस्कृतिका बारेमा अन्तर्राष्ट्रियस्तरमा जानकारी हुने विश्वास संस्थाले लिएको छ । संस्थामा भएका बाजा, पोसाक र वेशभूषा आदि अमूल्य सम्पत्तिको संरक्षण गर्न प्रतिष्ठान सङ्ग्रहालय सञ्चालनमा तत्पर रहेको छ । 
 
संस्थाले आफ्नो वार्षिकोत्सव र अन्तर्राष्ट्रिय मातृभाषा दिवसका उपलक्ष्यमा कविता वाचन, गोष्ठी गर्दै आएको छ । यसै अनुरूप आगामी माघ २४ र २५ गते राष्ट्रिय कविता महोत्सव र साहित्यिक गोष्ठीको आयोजना गर्न लागिएको उपकुलपति डा विष्णुविभु घिमिरेले जानकारी दिनुभयो । आगामी फागुन ९ र १० मा भने अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषा कविता महोत्सव तथा गोष्ठी गरी राष्ट्रका विशिष्ट प्रतिभालाई सम्मान एवम् पुरस्कृत गरिनेछ । 
 
काठमाडौँ उपत्यकामा भएका सार्वजनिक ठूला सभाकक्षमध्ये अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र राष्ट्रिय सभा गृह सार्वजनिक प्रयोगमा नरहेकाले प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयको महत्व बढेर गएको छ । भूकम्पमा समेत जोगिएको, थोरै रकममा जनतालाई सेवा प्रदान गर्दै आएको र राष्ट्रिय सम्पदाका रूपमा रहेको प्रतिष्ठानको भवनमा प्रेक्षालयको मर्मतसम्भार, वातानुकूलित र विद्युतीय भर्‍याङ आदिलाई थप सुधार गर्न आवश्यक देखिन्छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ