इलामको बाढीपहिरो पुनर्निर्माणमा न्यून बजेट, विस्थापितको सुरक्षित आवासका लागि सांसद निस्कल राईको माग
तत्काल पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
543
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद निस्कल राईले गत वर्ष इलाममा गएको विनाशकारी बाढीपहिरोका कारण क्षति भएका संरचनाहरूको पुनर्निर्माणमा सरकारले अत्यन्तै न्यून बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पुनः अर्को मनसुन (विपद्को मौसम) सुरु हुन लागेकाले तत्काल पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराए।
इलाममा बाढीपहिरो पछिको पुनर्निर्माण र पुनस्र्थापनाका लागि कुल ११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको थियो। तर, सरकारले हालसम्म जम्मा ५ करोड ३० लाख रुपैयाँ मात्र विनियोजन गरेको भन्दै उनले पुनर्निर्माणको सुस्त गति र सरकारी उपेक्षाप्रति आपत्ति प्रकट गरे।
बैठकमा बोल्दै सांसद राईले भने, “विपद्पछिको पुनर्निर्माण र पुनस्र्थापनाका लागि ११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ। तर, सरकारले अहिलेसम्म जम्मा ५ करोड ३० लाख रुपैयाँ मात्र विनियोजन गरेको छ। त्यो विनियोजित रकमबाहेक हालसम्म के–कति प्रगति भइरहेको छ भन्नेबारे कुनै जानकारी छैन। अब पुनः विपद्को मौसम सुरु हुँदैछ। विस्थापितहरूको सुरक्षित आवास र विपद्को पूर्वतयारीका कार्यहरू सरकारले अभिलम्ब अगाडि बढाओस् भन्ने जोडदार माग गर्दछु।”
उनले विनियोजित न्यून बजेटले थोरै काम पनि सम्पन्न हुन नसक्ने भन्दै वर्षायाम सुरु हुनुअघि नै जोखिमयुक्त क्षेत्रका बासिन्दाको सुरक्षा र राहतका लागि ठोस योजना ल्याउन सरकारसँग माग गरेका छन्।