किम जोङ्ग हत्याले चिसिएको मलेसिया -उत्तर कोरिया सम्बन्ध

मोहिनी मिश्र रिसाल, प्रकाशित मिति : २०७३ फाल्गुण २२ आइतबार
किम जोङ्ग नाम
काठमाण्डौ। उत्तर कोरियाका शासक किम जोङ्ग उनका सौतेला दाइ किम जोङ्ग नामको गतः १३ फेब्रुअरीका दिन मलेसियाली राजधानी क्वालालम्पुरको अति ब्यस्त विमानस्थलमा रहस्यमय हत्या भएपछि मलेसिया र उत्तर कोरियबीचको सम्बन्धमा चिसोपन आएको छ ।
 
 नाम–हत्याकाण्ड पश्चात् उत्तर कोरिया र मलेसियाबीच गाँसिएको पुरानो दौंत्य सम्बन्ध तुरुन्तै चिसिएर जानुका साथै दुई देशबीच राजनीतिक शीतयुद्ध शुरु भएको छ । यसअघि, उत्तर कोरिया र मलेसिया विश्व सामु दुई अभिन्न मित्र र राजनीतिक साझेदारका रुपमा स्थापित थिए ।
 
यसैका आधारमा, उत्तर कोरियाली नागरिकका लागि भिसा नचाहिने संसारका साह्रै कम गन्तब्य देशहरुमध्ये मलेसिया नै एक प्रमुख र सहज मुलुक थियो । विगतका धेरै बर्षसम्म उत्तर कोरियालीहरुले मलेसियालाई एक प्रमुख मौन गन्तब्य मान्दै जागीर वा ब्यबसायको अवसरको खोजी, अध्ययन वा पठन पाठन, उद्योग वा ब्यापारको अवसरका लागि सुरक्षित भूमिका रुपमा उपयोग गर्दै आएका थिए ।
 
नातामा उत्तर कोरियाली शासकका सौतेनी दाइ पर्ने मृतक किम जोङ्ग नामका दुइजना छोरा र एउटी छोरी गरी तीनजना सन्तान रहेका बताइएको छ । उनले चीनको बेइजिङ्ग र मकाउमा बेग्लाबेग्लै बसोबास गर्ने नातेदार महिलाहरुकहाँ आफ्ना सन्तानहरु पठाई त्यहीँ नै पढाउँदै आएका जनाइएको छ ।
 
 उनीहरुमध्ये मकाउ बस्ने एकजनालाई भेटघाट गर्न जान भनी क्वालालम्पुर विमानस्थलमा उडान कुरिरहेको मौका पारी महिलाद्वयः एकजना इन्डोनेसियाली र एकजना भियतानमेलीले नामको अनुहारमा बिषाक्त रासायनिक पदार्थ – भिएक्स नर्भ एजेन्ट छर्केर भागेका थिए । नर्भ एजेन्ट छर्किएको एक घण्टामै उनको मृत्यु भएको थियो । हत्याको आरोप लागेर ती दुई महिला हाल मलेसिया कारावासमा रहेका छन् । 
 
वर्तमान शासक किम जोङ्ग उनका सौतेला दाइ किम जोङ्ग नामको गतः १३ फेब्रुअरीका दिन मलेसियाली राजधानी क्वालालम्पुरको अति ब्यस्त बिमानस्थलमा रहस्यमय हत्या भएपछि मलेसिया र उत्तर कोरियबीचको सम्बन्धमा चिसोपन आएको छ । 
 
हत्याकाण्ड पश्चात् मलेसियाली सरकारले केही संदिग्ध ब्यक्तिहरुलाई तत्कालै र अन्य शंकास्पदलाई केही पछि पक्राउ गरेको थियो । नामको हत्या भएको चारदिन पछि गिरफ्तार गरी प्रहरीले हिरासतमा लिएको एकजना ४५ बर्षीय उत्तर कोरियाली नागरिक – रि जोङ्ग कोलसँग सोधपूछ गरी अभियुक्तको बयान र प्रहरी अनुसन्धान पश्चात् हत्याकाण्डमा कोलको खासै संलग्नता नदखिएका कारण उनलाई हिरासत मुक्त गरी तत्कालै उत्तर कोरिया नै फर्काइएको थियो । 
 
नाम–हत्याकाण्डका थप अभियुक्तहरुमा अन्य सातजना उत्तर कोरियाली पनि संलग्न छन् भन्ने आशंकामा मलेसियाली सरकारले उनीहरुको ब्यापक खोजबीन गरेको थियो । तीमध्ये चार जना त नामको हत्या भएकै दिन मलेसिया छोडेर फरार भई उत्तर कोरिया नै फर्किसकेका अनुमान गरिएको थियो । मलेसियाली प्रहरीको खोजीमा परेका अन्यमा क्वाललम्पुरस्थित उत्तर कोरियाली राजदूतावासका द्वितीय सचिव र उत्तर कोरियाली सरकारको स्वामित्वमा रहेको एयर कोरियो विमान सेवाका एकजना कर्मचारी पनि परेका थिए । 
 
हत्याकाण्डको एकातिर अनुसन्धान चलिरहकै अवस्थामा मलेसिया सरकारले उत्तर कोरियाली नागरिकहरुलाई प्रदान गरिँदै आएको प्रवेशाज्ञा (भिसा) सम्बन्धि नियममा पनि परिवर्तन गर्‍यो । यसअघिसम्म मलेसिया प्रवेश र भ्रमण गर्नका लागि उत्तर कोरियाली नागरिकहरुलाई भिसा आवश्यक नपर्दै आएकोमा सो नियम खारेज भएको छ । 
 
उत्तर कोरियाली नागरिकहरु बिना रोकतोक मलेसिया प्रवेश गर्न पाएका र यसले आफ्नो मुलुकमा अपराधका घटना बृद्धि हुनमा सघाएको पो हो कि भन्ने पछिल्लो समयमा सरकारको बुझाइ रहेको जनाइन्छ । भिसा सम्बन्धमा उत्तर कोरियालीहरुलाई दिइएको सहुलियत वा खुकुलो नियमलाई मलेसियाली सरकारले हालैको नाम–हत्याकाण्डसँग जोडेर हेरेको कारण यस अघिको नियम खारेज गरिएको जनाइन्छ । 
 
धेरैजसो मलेसियाली अपराध बिज्ञहरुले नाम–हत्याकाण्ड प्योङ्गयाङ्गद्वारा रचित षडयन्त्र हो भन्ने आशङ्का गरेका थिए । किम जोङ्ग नामसँग वर्तमान शासक किम जोङ्ग उनको लामो समयदेखि बैमनस्य रहेको बताइन्छ । सन् २००१ मा एक पटक टोक्यो डिस्नेल्याण्ड घुमघाम गर्न नक्कली पासपोर्ट लिई जापान प्रवेश गर्न खोज्दा किम जोङ्ग नाम पक्राउ परेका थिए । यस घटनाले उनका पिता स्वर्गीय किम जोङ्ग इल रुष्ट भएकाले उत्तर कोरियाली शासक घरानाबाट उनी टाढिएका थिए । 
 
बास्तवमा, सत्तामोहवश नाम् उत्तर कोरियाको कुनै पनि राजनीतिक शक्ति वा यसको अंशप्राप्तिका लागि लालायित भएको कहिल्यै चर्चामा आएको थिएन । तथापि, उत्तर कोरियाको स्थापना कालदेखि नै शासन सत्ता उपभोग गर्दै आएका शासक घरानाका जेठा छोरा भएकै कारण भविष्यमा नाम् पनि खतराको एक श्रोत बन्न सक्छन् भनी उनको हत्या भएको हुन सक्ने कसै कसैले अडकल गरेका छन् । 
 
राजनीतिक बिचारधाराका हिसाबले अत्यन्त बिकसित मानिने एक्काइसौँ शताब्दीको अग्रगामी विश्वमा पनि चरम अनुदारबादी बामपन्थी तथा शासन सत्ता र राज्यशक्तिलाई सदाकाल आफ्नो पैतृक सम्पत्तिसरह उपभोग गर्न चाहने कट्टर र कठोर शासक अधिनस्थ उत्तर कोरियाली सरकारले बाँकी संसारलाई हेर्ने दृष्टिकोण र गर्ने ब्यबहारका कारण सामान्य विश्व राजनीतिबाट एक्लिएको उत्तर कोरियाले नाम हत्याकाण्ड बारे ब्यक्त गरेका टिप्पणी र आक्रोश पनि अनौठो प्रकृतिका छन् । 
 
आखिर, एक उत्तर कोरियाली, नागरिक, अझ भनौँ सत्तारुढ शासकको नजिकको नातेदारको हत्या त भएकै हो नि, त्यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी दोषीजति सबैलाई न्यायको कठघरामा उभ्याउनु एउटा राज्यको दायित्व र कत्र्तव्य भित्र नपर्ने हो र ?
 
नामको हत्याकाण्डको अनुसन्धानको विषय र प्रकृया आलोचना गरेको आरोपमा मलेसियाका लागि उत्तर कोरियाली राजदूतलाई निष्कासन समेत गरिएको छ । राजदूत काङ्ग कोललाई ४८ घण्टाभित्रै मलेसिया छोड्न आदेश दिइएको हो । यस अघि, उत्तर कोरियाली राजदूतले हत्याकाण्ड बारे मलेसियाले गरेको कुनै पनि एकतर्फी अनुसन्धानको उत्तर कोरियाले विश्वास नगर्ने बताएका थिए । 
 
आफ्नो मुलुकको आधिकारीक निकायले गरेको अनुसन्धानमा उत्तर कोरियाले विश्वास नगर्ने भनी उच्च तहको व्यक्तिले टिप्पणी गरेपछि मलेसिया रुष्ट भई उत्तर कोरियाली राजदूतलाई आफ्नो भनाईप्रति माफी माग्न आग्रह गरिएको थियो । तर राजदूतले सो आग्रह थाहा नपाएको भनी माफी माग्न इन्कार गर्दै टार्न खोजेका थिए । 
 
मलेसियाली सरकारले हत्याकाण्डको उच्चस्तरमा गोप्य र सूक्ष्म अनुसन्धान गरिरहेका थियो । अनुसन्धानको क्रममा नियन्त्रणमा लिइएका ब्यक्तिहरुलाई पक्राउ गर्नु पर्नाको कारण र स्पष्टिकरण खुलासा गर्नु पनि आवश्यक ठानिएन । उत्तर कोरियालाई यस बिषय पनि चित्त बुझिरहेको थिएन । 
 
विश्व मानचित्रमा लगभग एक्लिएकोजस्तो देखिने यो देश आणविक परिक्षणको लागि चिरपरिचित छ । आफनै देशमा पनि सानो गल्ती गर्ने ठूलै तहका कर्मचारीलाई होस् वा आफ्ना आलोचक वा बिपक्षी, शासन सत्तालाई खतरा पुर्‍याएको भन्ने आशङ्काको आरोप लगाई निसंकोच फाँसी वा मृत्युदण्ड जस्तो सजायँ दिनु उत्तर कोरियामा एक अति समान्य परिपाटी रहँदै आएको पाइन्छ । 
 
उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणको बाटो छोड्न पनि मान्दैन । गतः जुन महिनादेखि कम्तीमा पनि आठ, नौ पटकसम्म क्षेप्यास्त्र परीक्षण गरी उत्तर कोरिया अन्तर्राष्ट्रिय विवादको केन्द्रबिन्दुमा परिरहेको छ । इतिहासको पाना पल्टाउँदा, दक्षिण र उत्तर कोरिया विभाजनका विषयलाई लिएर सन् १९५० जुन २० देखि १९५३ जूलाई सम्म तीन वर्ष एक महिनाभन्दा बढी समयसम्म चलेको युद्धमा हजारौँ कोरियालीले ज्यान गुमाएका थिए ।
 
 नागरिकका भाषा, वेशभूषा, धर्म, संस्कृति, संस्कार, इत्यादि मिल्दोजुल्दो भए पनि त्यस बखतदेखि नै दुई राष्ट्रका राजनेताबीच परम शत्रुता चल्दै आएको र युद्धको लगभग पाँच दशकपश्चात् दुई राष्ट्रबीच सम्बन्धमा केही सुधार आएजस्तो देखिए ता पनि उत्तरले पुनः आणविक परीक्षण सुरु गरेपछि दक्षिण कोरिया झस्केको थियो । रासस
नयाँ