arrow

सावधान ! होलीमा खेल्ने रङ्गको कारण तपाईको बच्चाको स्मरणशक्ति नस्ट होला

logo
डा.केयुर गौतम,
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
डा.केयुर-गौतम.jpeg
काठमाडौं । नेपालीहरुको महत्वपूर्ण पर्व हो होली । रंगहरुको पर्वको रुपमा रहेको यस पर्वमा अधिक मात्रामा रंग प्रयोग गरिन्छ । यस पर्वलाई अझ रंगीन बनाउनको लागि हामीहरु बढीभन्दा बढी मात्रामा बजारमा पाईने रंगहरु त प्रयोग गर्छौं । तर त्यो रंग हाम्रो शरीरको लागि कत्तिसम्म हानिकारक छ त ? के हामीले रंग प्रयोग गर्नुपूर्व यो विषय सोच्ने गरेका छौं ? 
 
हाम्रा बालबालिकाहरु खुशी भएर रंगको पर्वमा रमाएर खेलिरहेका हुन्छन् । रंगले शरीर ढाक्छ, नुहाएपछि एकै क्षणमा सबै रंग जान्छ भनिन्छ । तर, के हामीले बच्चाहरुको खुशीको लागि खेल्न दिएको रंगकै कारण उनीहरुको जीवनमा गम्भीर असर गर्छ भन्नेकुरामा सचेतता अपनाएका छौं त ? छैनौं भने सावधान रहनुहोला, अहिले बजारमा पाईने अधिकांश रंगहरु यस्ता हानिकारक रहेका छन् कि त्यसमा मिसिएको लेडको कारणले तपाईँका बच्चाहरुको स्मरण शक्तिमा नै गम्भीर असर पुर्याउन सक्छ । 
 
स्वस्थ होली सम्झनामा मात्रै
परापूर्वकालदेखि नै होलीको आफ्नै बिशेषता र महत्व रहेको छ । परापूर्व कालमा पनि होली खेलिन्थ्यो । त्यतिबेला अग्र्यानिक खालको हुन्थ्यो भने अहिलेको होली त्यतिबेलाको भन्दा भिन्न रहेको छ । परापूर्व कालमा पनि होलीमा अहिलेको जस्तैगरी रङको अधिक प्रयोग हुन्थ्यो तर त्यतिबेलाका रंगहरु अहिलेको जस्तो हानिकारक हुने थिएन ।
 
त्यतिबेला फूलहरुबाट बनाईएका रङको हुन्थे । तर अहिले अग्र्यानिक रङहरु नै पाउनै छोडिएको छ। अहिले पाउने रङमा बढी चमक बनाउन विभिन्न केमिकलहरुको प्रयोग गर्न थालिएको छ। जुन मानव स्वास्थका लागि बिलकुलै हानिकारक छ। 
 
होली हाम्रो परम्परा नै हो त्यसैले यसलाई अस्वीकार्न पनि सकिँदैन । पहिलाको जस्तो शुद्ध रङ पनि पाइदैन भन्दैमा पर्व नमनाउने भन्ने कुरा पनि भएन । तर अबको होलीमा कसरी 
रङको कम प्रयोग गर्ने र रङको असरलार्इ कसरी कम गर्ने भन्ने बिषयमा भने हामीले विकल्प खोज्न सक्दछौं । त्यसैले परापूर्व कालको जस्तो स्वस्थ होली अहिले हाम्रो सामु कल्पनामामात्रै सीमित हुने गरेको छ । तर, यसमा पनि सचेतता अपनाएर यसको असर भने कम  गर्न सकिन्छ । 
 
कुन उमेरको मानिसले हुनुपर्छ सचेत ? 
विशेषगरी रंगहरुमा पाईने लीडले बालबच्चालाई बढी असर गर्ने भएकोले उनीहरुले नै बढी सचेतता अपनाउनु पर्ने देखिन्छ । उनीहरुको रोगसँग लड्ने क्षमता पनि कम हुने भएकोले उनीहरुमा नै यसले बढी आक्रमण गर्न गर्दछ । त्यसैले विशेषगरी बालबालिका पर्छ भने त्यसपछि यसको असर ठूला मान्छेमा समेत पर्ने सम्भावना उत्तिकै रहन्छ । त्यसैले सबै उमेर समूहका मानिसहरुले यसमा सचेतता अपनाउनु पर्दछ ।  
 
कसरी हुन्छ मानिसको शरीरमा लीडको प्रयोग
कुनैपनि मानिसले प्रयोग गर्ने रंगमा रहेको लीड दुई माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्ने गर्दछ । एकातर्फ हामीले प्रयोगगर्ने रंगको धुलो छ भने श्वासप्रश्वास र हाम्रो हातले केही कुरा खाँदा हातमा टाँसिएको धुलो खानासँगै शरीरमा प्रवेश गर्छ भने मानिसको छालाबाट पनि लेड शरीरभित्र प्रवेश गर्दछ । 
 
हामीले होलीमा रंग खेल्दाकै कुरा गर्ने हो भनेपनि शरीरभरी रंग दलेर रमाईलो गरिन्छ । पछि नुहाएपछि रंग त पानीले पखाल्दा जान्छ तर त्यहाँको लेड भने हाम्रो शरीरमा नै रहेको हुन्छ । जसका कारण हाम्रो शरीरमा सानो टल्किने खालको छिद्रहरु रहेको हुन्छ । त्यही छिद्रहरु विस्तारै हाम्रो छालाबाट शरीरको भित्री भागमा पुग्छ र रगतमा मिल्छ । जसका कारण हामीहरुलाई रगतकै माध्यमबाट विभिन्न अंगहरुमाथि लेडले आक्रमण गर्दछ । 
 
कुन्कुन् अंगमा गर्छ लेडले आक्रमण ? 
विशेषगरी रोग नलाग्दासम्म हाम्रो समाजमा मलार्इ केही भएको छैन त किन टाउँको दुखाउने भन्ने बानी रहेको देखिन्छ। लेडले तत्कालै असर देखाउँदैन तर यसले लामो समयसम्म असर गरिरहन्छ। आज भोलि नै यसले असर गरे जस्तो देखिँदैन। तर, लामो समय बितिसक्दा सिसाको मात्रा बढी भयो भने सवैभन्दा घाटा बेहोर्नुपर्ने हुन्छ । यसले सबैभन्दा पहिलो मानिसको स्मरण शक्तिमा कमि ल्याउँछ। 
 
बालबच्चाको हातमा परेको रङ कुनै खानेकुरा खाँदा पेटमा जान्छ र यसले सबैभन्दा पहिले पेट दुख्ने समस्या सिर्जना गराउँछ । पढाइमा राम्रो ध्यान नजाने, पढेको कूरा दिमागमा राख्न नसक्ने र सधैभरी रिसार्इ रहने बानी लेडले शरीरका अंगहरुमा आक्रमण गरेपछि देखिने गर्दछ । अभिभावकहरुमा यसको असर थाहा हुँदैन । तर, उनीहरु भने हाम्रा छोराछोरीले राम्रोसँग पढेनन् या पढ्न सकेनन् भनेर गुनासो मात्रै गरिरहन्छन् । 
 
यसरी लेड प्वाइजन भएपछि माथि उल्लेख गरेभन्दा बाहेक पनि बालबालिकामा के गरौ कसो गरौ जस्तो भइरहने दिक्दार लागिरहने जस्ता व्यवहारहरु देखिन्छ । यसबाहेक पनि लेडले आक्रमण गरेका मानिहरुको मुटु कलेजो फोक्सोमा समस्या देखिने, कलेजो जम्न सक्ने, पेटमा कहिले कता कहिले कता दुख्ने, यौन दुर्वलता, महिलाहरुमा बाँझोपना देखिने जस्ता समस्याहरु लेडले निम्त्याउँछ । 
 
समाधान कसरी गर्ने ? 
यसको समाधानको सबैभन्दा सरल र गतिलो उपाय नै लेडको मात्रा बढी रहेका रंगहरुको प्रयोग नगर्नु हो । त्यो बाहेक यसबाट बच्ने अन्य उपाय नै रहेको छैन । अहिलेसम्म सरकारले पनि यस विषयमा कुनै चासो दिएको देखिँदैन । विदेशतिर भने लेडयुक्त रंगको प्रयोग नै कमगर्ने गरिएको छ । तर नेपालमा भने तोकिएको मापदण्ड भन्दा सयौं गुणा बढीसम्म लेडहरु प्रयोग गरेर रंग र इनामेल बनाईने हुँदा हामीले यसबाट बच्नको लागि यसको प्रयोग नै कम गर्नुको विकल्प छैन । त्यसैले आउँदै गरेको होलीमा पनि सबैले आफ्ना बच्चाहरुलाई बढी रंगमा खेल्न भन्दापनि यसबाट जोगाउन तर्फ ध्यान दिनुपर्ने देखिन्छ । 
(सम्यक डाइग्नोस्टिक प्रालिका अध्यक्ष गौतमसँग हाम्राकुरा डटकमका लागि गौरव पोखरेल र सुदर्शन अर्यालले गरेको कुराकानीमा आधारित) 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ