अर्घाखाँची। जंगलको बिचमा एक्लो घर । नजिक अरु घर त छैन, स्कुल त टाढाको कुरा । त्यसैले सिद्धारा गाविस–४ तारिकेका पाँच वर्षका सुन्दर बलाल दैनिक चार घण्टा पैदल हिँडेर स्कुल ओहोरदोहोर गर्छन् ।
उनलाई स्कूल पुर्याउन न अभिभावक जान्छन्, न त साथीहरु नै हुन्छन् । जंगलको बिचमा घर भएका उनकी आमा दोस्रो विवाह गरेर गएकी छन् । बुबा रोजगारीको लागि विदेशमा छन् । उनी हजुरआमासँग बस्दै आएका छन् ।
अर्घाखाँची जिल्लाकै अति विकट सिद्धारा गाविसमा जंगलको बाटोमा दैनिक चारघण्टा हिँडेर स्कुल जानु उनको बाध्यता हो । जंगलको बाटो हिँड्न अरु डराउँछन् । जंगली जनावरले आक्रमण गर्ने हो कि भन्ने भय हुन्छ ।
तर उक्त स्थानमा जान अन्य स्थानका मानिस तथा सरकारी कर्मचारीहरु जंगली जनावर भालुको भयले एक्लै जान मान्दैनन् । तर पाँच वर्षका सुन्दर भने जंगलकै बाटो एक्लै हिँडेर स्कुल ओहोरदोहोर गर्छन् । सायद उनलाई जंगली जनावरको डर भन्ने थाहै छैन ।
उनीसँग पढ्ने अरु केही साथीहरु पनि एक कक्षा पढ्न दैनिक ५ घण्टा हिँडेर स्कुल पुग्छन् । तर उनीहरुलाई सुन्दरले जस्तो जंगलको बाटो हिँड्नु पर्दैन । काठे खोलाका पाँच वर्षका कमलबहादुर नेपाली, राजु नेपाली, गोपाल नेपाली दैनिक पाँच घण्टा हिँडेर स्कुल आउने गरेको शिक्षिका देवी पोख्रेल पौडेलले बताउनुभयो ।
बिहान उज्यालो हुने बित्तिकै भात खाएर स्कुल हिँड्नुपर्छ । स्कूल पुग्दा नपुग्दै भोक लाग्छ । भोको पेटमा पढ्न नसक्ने भएपछि स्कुलले खाजा नास्ताको लागि टिफिन बक्सको ब्यबस्था गरेको छ । तर उनीहरु स्कुल आइपुग्दा टिफिन बक्स रित्तो भैसक्ने प्रधानाध्यापक मणिराम पोख्रेलले जानकारी दिनुभयो ।
त्यसैले उनीहरु दिनभर भोकै पेटले पढ्छन् भोको पेटको छटपटाई र पढाईको तारत्मय उनको जिवनमा कहीले जुरला कलिलो उनकमो मनले प्रश्न गरिरहेको छ । वडा नम्बर ४ मा तीन वटा स्कुल छन् । सिद्धारा गावसभरी चाहिँ २७ वटा स्कुल छन् । ठूलो र विकट गाविस भएका कारण २७ वटा विद्यालय भएर पनि विद्यार्थीहरु एक कक्षा पढ्नका लागि दैनिक चार पाँच घण्टा हिँड्न बाध्य छन् ।
जंगल क्षेत्रमा यत्रतत्र छरिएको वस्तीका कारण अझै केही बालबालिका स्कूलको पहुँचबाट टाढा छन् । भएका स्कूलमा पढ्न जान बालबालिकालाई सम्भव नभएको जनजागृति माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद पौडेलले बताउनुभयो । यो समस्या समाधानका लागि वस्ती एकीकृत गर्नुको विकल्प नभएको उहाँको भनाई छ ।
सिद्धारा गाविसकै ६ नम्वर वडामा ६ वटा विद्यालय छन् । ६ नम्बर वडा नै गाविसको सबैभन्दा दुर्गम मानिन्छ । सुपारे, ओखटे, झिमझिमे दह लगायतका वस्तीबाट साना बालबालिकालाई विद्यालय जान अहिले पनि सम्भव नभएको स्थानीय शिक्षक दुर्गाप्रसाद बेल्बासेले बताउनुभयो ।