arrow

चिसोले कठ्याङ्ग्रिएर १३ भूकम्प पिडितको मृत्यू

logo
प्रकाशित २०७२ पुष १३ सोमबार
Dolakha.jpg.jpeg
(गोकर्ण भण्डारी) दोलखा । भूकम्प प्रभावित क्षेत्र दोलखाका वृद्धवृद्धाको  चिसोबाट मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । दोलखाका विभिन्न गाविसमा गरी सोमबार बेलुकासम्ममा चिसोका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
भूकम्पले तहसनहस भनेको दोलखामा  जस्ताको टहरा र पालमा बस्दै आएका वृद्धवृद्धा चिसोका कारण बिरामी पर्ने र मृत्यु हुनेको संख्या  पछिल्ला दिनमा बढ्दै गएको छ । 
 
तापक्रम शुन्यमा झरेसंगै दोलखा चङ्खु गाविस–७ की ५५ वर्षीय मिठ्ठु तामाङ, लापिलाङ–३ का ७३ वर्षीय गम्भीर थामी, पवटी–५ का ५८ वर्षीय बमबहादुर तामाङ, शैलुङ्गेश्वर–५ का ८२ वर्षीय देवकुमारी कार्की र कालिञ्चोक–१ की ६६ वर्षीय सानुमाया थामीको चिसोका कारण  मृत्यु भएको हो । भूकम्पले घर भत्किए पछि जस्ताको टहरामा बस्दै आएका मेलुङ–८ का ६८ वर्षीय विष्णुमाया श्रेष्ठ र ७० वर्षीय जगतबहादुर श्रेष्ठ, दोलखा डाँडाखर्क– ८ का ९५ वर्षीय धनराज तामाङ, झुले गाविस–७ का ८६ वर्षीय लालबहादुर कार्की, झुले गाविस–४ का ८३ वर्षीय जानुका कार्की, गैरीमुदी गाविसका ६८ वर्षीय लालबहादुर तामाङ, बुलुङ गाविस–८ का ६२ वर्षीय भक्तबहादुर मगर र जफे गाविस–१ का ७९ वर्षीय भद्रकुमारी पोखरेलको चिसोका कारण मृत्युु भएको स्थानीयवासीले बताएका थिए । 
 
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले दोलखाको केही गाविसमा वृद्धवृद्धाको मृत्यु भएको जानकारी आएको भए पनि चिसोकै कारण मृत्यु भएको हो भने तथ्य प्रमाणित भइनसकेको बताए ।
 जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख माधव लम्सालका अनुुसार दोलखाका विभिन्न ठाउँमा मृत्यु भएका मानिस चिसोको कारणभन्दा पनि दम, मिर्गौला जस्ता समस्याले पीडित रहेको बताए । मृत्यु भएका अधिकांश दीर्घरोगी भएको उनको भनाइ छ । 
 
भूकम्पले घर भत्किए पछि टहरामा बसेका बिरामी, वृद्धवृद्धा, बालबालिकाले स्वास्थ्यमा कुनै समस्या भए तत्काल स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न भनेको छ । मृत्यु हुनेहरुको सङ्ख्या बढेर सरोकारवालामाथि चुनौती थपिएको नागरिक समाज दोलखाका अध्यक्ष चिरञ्जीवी मास्के बताए । स्थानीय विकास अधिकारी सीता परियारका अनुसार दोलखाका भूकम्पपीडितलाई न्यानो कपडाका लागि सरकारले दिने भनेको रु १० हजार वितरण सुरु गरिएको छ । जिल्लाको भूकम्पपीडितको सङ्ख्याको हिसाबले रु ८५ करोड ८५ लाख ८० हजार आवश्यक पर्नेमा अहिले रु ५० करोडमात्र प्राप्त भएको उनले बताईन् ।
 
सरकारले भूकम्प प्रभावित जिल्लामा राहत तथा पुनःस्थापनाको काम प्रभावकारी ढङ्गले अगाडि बढाउन नसक्दा घरवारविहीन बनेका पीडित धमाधम बिरामी मात्रै होइन मृत्यू हुन थालेको छ । यसरी दैनिक रुपमा भुकम्प पिडितको मुत्यू भईरहदा समेत सरकारले कसनै चासो दिएको छैन्न् ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ