arrow

प्रचण्डको चीनप्रतिको आकर्षण

logo
अजय अलौकिक,
प्रकाशित २०७३ चैत ११ शुक्रबार
ajaya-aloukik.jpeg
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार चीन पुगिसकेका छन्। उनले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङसँग चैत्र १४ गते सोमबार शिष्टाचार भेट गर्ने भएका छन्।
 
प्रधानमन्त्री प्रचण्डले चीनको हाइनान प्रान्तमा चैत १० देखि १३ सम्म हुने 'पोआओ (बोआओ) फोरम फर एशिया' सम्मेलनको चैत्र १२ शनिबार हुने समुद्घाटन समारोहमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ जहाँ उनलार्इ विशेष वक्ताका रूपमा निमन्त्रणा गरिएको हो। त्यस समारोहपछि अपरान्ह पैचिङ (बेजिङ) आइपुग्ने र त्यसै दिन पैचिङस्थित चीनका लागि नेपाली दूतावासमा रात्री भोजमा सरिक हुने कार्यक्रम रहेको छ। त्यसै गरी चैत १३ गते आइतबार बेजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल-चीन सम्बन्धः संवृद्धि र समृद्धिका सम्भावनाहरू’विषयक कार्यक्रममा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने छन्। साथै प्रधानमन्त्री प्रचण्डले चैत्र ११ गते हाइनानमा उपप्रधानमन्त्री काउली चाङसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम पनि तय भएको छ।
 
सन् २००२ देखि चीनको हाइनानमा स्थायी रूपमा आयोजना हुँदैआएको पोआओ फोरम सम्मेलनको क्षेत्रिय आर्थिक एकिकरणको प्रवर्द्धन र विकास लक्ष्यतर्फ एशियाली मुलुकलार्इ निकट ल्याउने प्रतिबद्धताका साथ सन् २००१मा स्थापना भएको थियो। प्रत्येक वर्ष चीनले आयोजना गर्दैआएको पोआओ सम्मेलनको यस वर्षको नारा 'विश्वव्यापीकरण र खुला व्यापार : एशियाली अवधारणा' रहेको छ। 
 
विश्वव्यापिकरण, विकास, सुधार र नव आर्थिक यी चार विषयमा यस पटकको सम्मेलन केन्द्रित रहने छ। नेपाल चीनसहित विभिन्न एशियाली मुलुकका साथै फ्रान्स र न्यूजील्याण्डका प्रतिनिधि बीच ४४ वटा सत्रमा छलफल हुने छ। त्यसै गरी शनिबार हुने फोरमको मुख्य समारोहमा नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्ड, मडागास्कर, माइक्रोनेशियाका राष्ट्रपति, अफगानिस्तानका सभामुख र म्यानमारबाट उपराष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यस बाहेक यस फोरममा जापान लगायत अरू एशियाली मुलुक तथा फ्रान्स र न्यूजील्याण्डका भूतपूर्व प्रधानमन्त्रीहरूले पनि आफ्नो अनुभव र मन्तव्य राख्ने कार्यक्रम रहेका छन्।
 
हालसम्म पोआओ फोरममा एक वर्ष चिनियाँ राष्ट्राध्यक्षले अध्यक्षता गर्ने र अर्को वर्ष प्रधानमन्त्रीले गर्ने परिपाटी रहँदै आएको छ। तर यस पटक भने उपप्रधानमन्त्री काउली चाङले अध्यक्षता गर्दै छन्। प्रधानमन्त्रीले शुक्रबार नै उपप्रधानमन्त्री चाङसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ। तर चिनियाँ राष्ट्राध्यक्षको उपस्थिती नहुने भएकाले नै प्रधानमन्त्री प्रचण्डको हाइनान प्रान्तमा हुने सम्मेलन पछि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङसँग राजधानी पैचिङमा भेट गर्ने चाँजोपाँजो मिलाइएको हो। यसका लागि प्रधानमन्त्री प्रचण्ड निकै आतुर पनि देखिन्छन्। 
पूर्व तयारीबिना, बडो हतारमा चिनियाँ राष्ट्राध्यक्ष सीसँग भेट्नुको कारण के छ त? न कुनै एजेण्डा न त कुनै सम्झौताको सम्भावना। प्रधानमन्त्री स्वयमले कुनै सम्झौता नहुने पनि बताइसकेकै छन्। त्यस्तै यस भ्रमणलार्इ उनले मन्त्री परिषदमा आफैले स्विकृत गरेका थिए।
 
त्यस्तो के छ त? किन लालायित छन्। के मोह छ। के आकर्षण छ। उनको यो कार्यकालमा २ पल्ट भारत भ्रमण भइसकेको तर उत्तरतर्फ १ पल्ट पनि नभएकोले यस्तो आतुरता हो कि या मिडियाले लगाएको चिनियाँ राष्ट्राध्यक्षको हुनलागेको भ्रमण अन्तिम समयमा हुननसकेको यस आरोप अपजसलार्इ मेटाउने प्रयास मात्र। त्यस माथि गत नोभेम्बरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई न्यानो आतिथ्य पनि प्रदान गरेका नै हुन्, प्रधानमन्त्रीले।
 
पूर्व सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका बेला नेपाल र चीनबीच भएका समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर नहुने भएको छ किनकि हाल चिनियाँ प्रधानमन्त्री लि खछ्याङ अस्ट्रेलिया भ्रमणमा छन्। के यो भेटको औचित्य यही भारतपरस्तको आरोपलाई न्युनीकरण गर्न र चीनसँगको चिसिएको सम्वन्धलार्इ पुनःताजा गर्ने उद्देश्य नै हो त। दोस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डको यस कार्यकाल अन्तिम समयतिर पुगिसकेको स्थितीमा यो भेटलार्इ चाइना कार्ड बनाउन लागेका पो हुन् कि। कतै यो सत्ता मोहको अर्को चाल नै पो हो कि?
 
किनकि नेपालको तर्फबाट भ्रमणका खास एजेण्डाहरु नै सार्वजनिक भएनन्। त्यसो मात्र होइन भ्रमणको तालिकासमेत फेरबदल भयो। तालिकामा फेरबदल हुनसक्छ तर तयारी फितलो भएको नकार्न मिल्दैन। पोआओ फोरममा भाग लिनु नियमित हो या हुनसक्छ तर चिनियाँ राष्ट्राध्यक्षसँग भेट र भ्रमणमा ठोस एजेण्डाका प्रसङ्ग उठाइनु पर्छ र जिम्मेवारीबोध हुनुपर्छ। तर त्यस्तो देखिएन। 
 
हुन त प्रधानमन्त्री प्रचण्डको चीनप्रति सम्बन्ध मित्रवत् नै छ। आजभन्दा नौ वर्षअघि पहिलोपटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री प्रचण्डले चीनबाट आफ्नो विदेश भ्रमण सुरु गरेका थिए। र चीनसँग रणनीतिक सम्बन्ध गाँस्न चाहेका थिए तर पार्टीभित्र र बाहिरको दवाब र कटवाल काण्डबाट सत्ताबाट नै विस्थापित हुन पुगे। त्यस पछिको चीन भ्रमण दोस्रो संविधानसभा निर्वाचनको मुखमा तथा सी चिनफिङ पार्टी प्रमुख र राष्ट्राध्यक्ष भएलगत्तै भएको थियो। राष्ट्राध्यक्ष बनेपछि सीको कुनै दक्षिण एशियाली नेतासँगको त्यही पहिलो भेट थियो। यी दुर्इ नेताबीचको पनि पहिलो भेट थियो र यसमा विश्वकै ध्यानार्कषण पनि भएको थियो।
 
राष्ट्राध्यक्ष सी र प्रधानमन्त्री प्रचण्डबीच दोस्रो भेट यसै वर्ष भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनमा भएको थियो। पुन प्रधानमन्त्री भएपछिको यो भेटको चर्चा निकै चल्यो जहाँ नेपाल, भारत र चीनका तीन नेता बीच त्रिदेशीय साझेदारीका विषयमा छलफल भएको थियो। यहाँ पनि दुर्इ नेताबीचको सम्बन्धमा एक आकर्षण छ भन्ने चाहीँ देखिएकै हो। तर यी दुवै भेटबाट अर्थपूर्ण उपलब्धि भएको देखिएन। यस पङ्क्तिकारसँगको छोटो अन्तर्वार्ताको क्रममा प्रधानमन्त्री प्रचण्डले सीसँगको पहिलो भेटमा चिनियाँ रेल लुम्बिनीसम्म पुर्याउने प्रस्ताव गरेको बताएका थिए। राष्ट्राध्यक्ष सीले पनि भारतसँगै मिलेर त्रिदेशीय साझेदारीको रूपमा अघि बढ्न सुझाएको बताएका थिए। तर दोस्रो भेटसम्ममा यी कुरामा मात्रै सीमित रहे।
 
अब यी दुर्इ नेताबीच तेस्रो पटक भेट हुँदैछ। यसबाट के उपलब्धि होला त? यस पटकको भेटमा गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका बेला नेपाल र चीनबीच भएका १० वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर नहुने भएको छ। चिनियाँ प्रधानमन्त्रीका साथै विदेशमन्त्री पनि भ्रमण कालमा पैचिङमा नहुने भएकाले यस्तो अवस्था सिर्जित भएको हो। परराष्ट्रमन्त्री प्रकाशशरण महतले पनि प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा कुनै सम्झौता नहुने स्पष्ट पारिसकेका छन्। पूर्व तयारी बिनाको यस्तो अन्योलको भ्रमण भए तापनि प्रधानमन्त्री प्रचण्डको सद्भाव भ्रमणमा राष्ट्राध्यक्ष सीसँगको भेटबाट आउने प्रतिक्रिया महत्वपूर्ण हुनेछ। जसले आउने दिनको नक्शा कोर्ने छ। 
 
यस भेट अवसरलार्इ आफ्नो पक्षमा पार्नु नै प्रधानमन्त्रीको ध्येय हुनु पर्छ। पहिलो भेटदेखि नै त्रिदेशीय साझेदारीको छलफल भएको हिसाबले सबै पक्ष बीच ‘विनवीन’ अवस्था सिर्जना गर्नसकिने सम्भावना छ। यस बाहेक पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा विचार विमर्श तथा समझदारी त छदैँछ। मुख्यतः चीनका राष्ट्राध्यक्षले नेपाल भ्रमण नगरेको २१ वर्ष पुगिसकेको छ र हालको भेटले सीको हुने भन्दै हुननसकेको भ्रमण चाँडै नै हुनसक्ने आशा गर्नसकिन्छ।
 
 
लेखक,  जन गणतन्त्र चीनको चिनियाँ अन्तर्राष्ट्रिय रेडियो पैचिङका विशेषज्ञ हुन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ