चन्द्र धामी, काठमाडौं । आज पुस १४ अर्थात् पूर्व राजा बीरेन्द्र शाहको ७०औं जन्मजयन्ती । राजनीतिक अस्थिरताले थीलथीलिएका नेपाली उनको योगदानलाई सम्झिरहेका छन् । ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ ..............यी वाक्यांश चोक, सडक, गल्ली, गाउँ बस्ती जता ततै सुनिन्थ्यो । ‘जमाना गइगयो’ । स्कुले नानीहरुले समेत अब त्यो विर्सिसकेका छन् । अहिले विद्यालयमा राजा रानीबारे पढाई हुनै छाड्यो । फोटोहरु पनि छैनन् । बेलानै कहाँ रहयो र ? लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा राजाको कल्पना असम्भव पनि ! अहिले जिन्दावाद र मुर्दावाद चलन चल्तिमा छ । यो, आवाज खुलेका साना नानीदेखि बयो बृद्ध सम्म सबैले उच्चारण गर्न सक्छन् । बझ्ने–नबुझ्ने भने दोस्रो पाटो हो । व्यवस्था परिवर्तनपछि राजा उच्चारण गर्न पर्दैन ।
राजा शब्द छोड्दैमा संगै जोडिएर आउने देश शब्दावली छोड्न मिल्छ र ? कि देश शब्द समेत शाही अर्थात निरंकुश थियो । अहिले संघीय गणतन्त्रात्मक मुलुक भन्न थालिसकिएको छ । पछिल्लो समय झन् बहुराष्ट्रिय राज्यको एजेन्डा अघि आएको छ । देश शब्द आफैमा ओझेल परेको छ । देशबारे आज भोली कि कसैले गित बनाउँछन् । कि कसैले लेख लेख्छन् र कि किताब । अब देश चिया गफमा झरिसकेको छ । आजभोली समाचारको भाषा समेत राज्यमा परिणत भइसकेको छ । उ बेला हरेक स्थानको पछाडी नेपाल जोडिएकै हुन्थ्यो । सन्दर्भ बीरेन्द्र जयन्तीकै ! बीरेन्द्रको जन्मस्थान पछाडी समेत नारायणहिटी दरबार काठमाडौं नभएर नारायणहिटी, दरबार नेपाल नै लेखिएको छ । आज देश र राज्य शब्दबीच लडाई भइरहेको छ । लडाईबारे देश र राज्य पक्षधर दुबै बेखबर छन् ।
सम्झना !
बीरेन्द्रको विक्रम सम्बत् २००२ साल १४ गते (सन् १९४५ डिसेम्बर २८) मा नारायणहिटी दरबारमै जन्म भयो । पिता महेन्द्र शाह र माता इन्द्रराज्य लक्ष्मी देवी शाहका जेष्ठ सुपुत्र थिए बीरेन्द्र बाल्यकालमा अति शील स्वाभावका उनी मृत्युसम्म उदारबादी रहे । २०२२ सालमा ऐश्वर्य शाहसंग विवाह भयो । उनका तीन सन्तान थिए । पूर्व युवराज दिपेन्द्र शाह जेष्ठ पुत्र थिए । पूर्व अधिराजकुमारीको रुपमा श्रुती र अधिराजकुमार अर्थात् कान्छा पुत्रका रुपमा निराजन रहे । बीरेन्द्रका दुई भाई मध्य ज्ञानेन्द्र मात्रै बाँकी छन् । धिरेन्द्र शाहको समेत बीरेन्द्रको परिवारसंगै हत्या भएको थियो । बीरेन्द्र दशौं शाहवंशीय राजा थिए । उनले विक्रम सम्बत् २०२८ माघ १७ गते सोमबार शासन सत्ता सम्हालेका थिए ।
२०५८ जेठ १९ शुक्रबार नाराणहिटी दबार हत्याकाण्डसंगै उनको शासनकाल समाप्त भयो । दरबार हत्याकाण्डमा बीरेन्द्रको वंश नाश भयो भने भाई धिरेन्द्रको समेत हत्या भयो । दरबार हत्याकाण्ठको १५ वर्ष वित्न लाग्दा समेत छानविन हुन सकेको छैन । तत्कालिन समामुख तारानाथ रानाभाटको संयोजकत्वमा छानविन समिति गठन भएपनि हाल सम्म कुनै तथ्य बाहिर आएको छैन । हत्याबारे अनेक अड्कलबाजी भएपनि तथ्य बाहिर आउन सकेको छैन । त्यसपछि भएका पुथ्रै राजनीतिक परिवर्तन र लोकतन्त्र तथा गणतन्त्रवादी सरकारले विभिन्न प्रतिवद्धता गरेपनि कुनै प्रगति हुन सकेन । कतिपय राजनीतिक दलहरुले शाही काल निरंकुश भन्दै तत्कालिन विकास र इतिहास मेटाउने कार्य गरे । नागरिकलाई शाही भड्काउ बनाउँदै इतिहास मेटाउने कार्यमा प्रेरित गर्नेदलहरु लोकतन्त्र र गणतन्त्रको नाउमा नाङ्गीएका छन् ।
बीरेन्द्रको समय
विक्रम सम्बत् २०३६ सालमा पञ्चायत वा बहुदल रोज्ने भन्दै जनमत संग्रहको घोषणा भयो । २०३७ शालमा जनमत संग्रह भयो । जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्र पुर्नवहाली भयो । जुन प्रजातान्त्रिक मूल्य मान्यताबाट आज दलहरुले लोकतान्त्रिक गणतन्त्र नेपालका परिकल्पना गरेका छन् । सोही संरचना अनुसार संसदीय शासन पद्दतीमा तत्कालिन विद्रोहीहरु नयाँ नेपालको परिकल्पना गरिरहेका छन् । सार्कमा नेपालको हैसियत स्थापना गरेका बीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वमाझ राखेर शान्तिवादी छवि बनाए । राज्यको भौगोलिक अवस्थालाई हेरेर प्रशासनिक क्षेत्रको सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बीरेन्द्रको पारिवारिक जमघटकै सयमा रहस्यमय हत्या भएको कहालीलाग्दो घटनाक्रम अझै ताजै छ ।
विकासका लागि
विकासका सारथी बीरेन्द्र सार्कका परिकल्पनाकार थिए । नयाँ नेपाल निर्माण अहिले दलहरुले ल्याएको मोडालिटी होइन । विकास पथमा जान बीरेन्द्रले नयाँ नेपालको परिकल्पना गरिसकेका थिए । सन् २००० सम्म पहिलो खुट्किलो नेपाललाई एसिया स्तरमा लैजाने र त्यपछि अन्य विकसित देशको दाँजोमा नेपाललाई हाँक्ने योजना थियो । तर, त्यसको उल्टो मुलुक अहिले लोकतान्त्रिक पद्दतीमा गएर समेत दक्षिण एसियाकै गरिब कहलिएको छ । देशको सामाजिक, आर्थिक विकासको लागि राजनीतिक विकास समेत समानुकूल अन्तर्राष्ट्रिय र क्षेत्रीय वाताबरणसंगै विस्तार गर्दै लैजाने कार्यको थालनी गरिसकेका थिए बीरेन्द्रले ।
जसका लागि विशेषतः राष्ट्रवादी शक्ति र प्रजातन्त्रवादी शक्तिलाई एक आपसमा मिलाएर लैजानुपर्दछ भन्ने मान्यता थियो । नेपालको राष्ट्रिय मूल नीति निर्माण गरी शिक्षा स्वास्थ्य, कृषि, उद्योग एवं सुरक्षालगायत आर्थिक सामाजिक सुधारको काम अघि बढिसकेको थियो । त्यति मात्र नभई राजनीतिक सुधार र उन्नती भइरहेकै थियो । २०३६ र २०४७ सालको राजनीतिक परिवर्तनलाई उदारतम् सोचकै परिणाम ठानिन्छ ।
मृत्यु पछी
संविधान सभाको पहिलो बैठकले जेठ १५ गते नेपाललाई गणतन्त्रात्मक मुलुकको रुपमा घोषणा गर्दै शाही सासनको अन्त्य भएको निर्णय सुनायो । यद्यपि, नेपालमा गणतन्त्रको औपचारिक थालनी भने करिब ८ बर्षअघि भइसकेको थियो । राजाको जेठो छोरा राजा हुने परम्पराको अन्त आठ बर्षअघि अर्थात् २०५८ जेठ १९ गते भएको थियो । त्यो दिन नारायणहिटी राजदरवारभित्र भएको हत्याकाण्डमा राजा बीरेन्द्रलगायत उनको पुरै वंश नाश भएसंगै राजा हुने शाही परम्परा अन्त्य भइसकेको थियो । परम्परागत राजतन्त्रअनुसार राजाको जेठो छोरा राजा हुने त्यो दिन नै नेपालमा गणतन्त्र सुरुवातको दिन थियो । राजा बीरेन्द्रको बंशनासपछि भाई ज्ञानेन्द्रले राजगद्दी सम्हाले ।
गणतन्त्र स्थापनाकालागि १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा कयौं नेपाली शहीद भए । गणतन्त्र स्थापनामा ती शहीदका रगतको जति भूमिका छ त्यति नै भूमिका जेठ १९ गते राजदरवारमा बगेको राजा बीरेन्द्रका परिवारको रगतकोपनि त्यत्तिकै भूमिका छ । नारायणहिटी राजदरबारमा हरेक महिनाको तेश्रो शुक्रबार राति नियमित पारिवारिक जमघटको आयोजना हुन्थ्यो । जस अनुसार २०५८ जेठ १९ गते शुक्रबार समे जमघट भएको थियो । जमघट त्रिभुवन सदनमा भयो । जहाँ तत्कालिन युवराज दीपेन्द्र बस्ने गर्दथे । राजा बीरेन्द्र, रानी ऐश्वर्य, मुमाबडारानी रत्न, युवराज दीपेन्द्र, अधिराज निराजनका अतिरिक्त राजपरिवारका अन्य सदस्यहरुलाई डाकिएको थियो ।शाही नातेदारपनि निम्त्याइएका थिए । निम्तालुहरुको संख्या २४ रहेको बताइन्छ ।
जनआन्दोलन २०४६
जनआन्दोलन २०४६ मा विभिन्न राजनीतिक दलहरू एकै उद्देश्य लिएर सडकमा उत्रिए । नेपाली कांग्रेसले नेतृत्व गरेको आन्दोलनमा विभिन्न कम्युनिस्ट पार्टीहरूको समूह संयुक्त वाम मोर्चा बनाएर आन्दोलनमा उत्रियो । आन्दोलन ५० दिनसम्म चल्यो । आन्दोलनमा तत्कालीन पञ्चायती शासकहरूले बर्बरतापूर्वक दमन गरे । जनआन्दोलन २०४६ नेपालमा बहुदलीय व्यवस्थाको लागि भएको शान्तिपूर्ण आन्दोलन थियो । जसले नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको शुरुआत गरेकै हो ।
किन भयो आन्दोलन ?
२०१७ सालमा राजा महेन्द्रले जन निर्वाचित तत्कालिन प्रधानमन्त्रीलाई पदच्यूत गर्दै संसद समेत भङ्ग गरेर निर्दलीय पञ्चायती व्यवस्था कायम गरेका थिए । त्यस व्यवस्थामा बहुलवाद थिएन । जनताका आधारभूत मौलिक हकहरू कुण्ठित थिए । सो विरूद्ध विभिन्न राजनीतिक दलहरू र जनता पटक–पटक आन्दोलनमा होमिए । १८ सालको क्रान्ति, ३३ सालको बीपीको मेलमिलाप नीति, २०३६ सालको विद्यार्थी आन्दोलन आदिको दबाबका कारण २०३६ मा तत्कालिन राजा बीरेन्द्रले नेपालमा जनमत सँग्रह गराए । बहुदल वा सुधारिएको पञ्चायत कुन रोज्ने भनी गराइएको जनमत सँग्रहमा राज्य शक्तिको चरम दुरूपयोग गरी पञ्चायत पक्ष जित्यो । त्यसपछि पनि देशमा बहुदलीय व्यवस्था स्थापना हुन नसकेपछि २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह सुरू गरेको थियो । कम्युनिष्ट पार्टीहरू आफ्नै किसिमले संघर्ष गरिरहेका थिए। एकैठाउँमा आएर आन्दोलन गर्न नसकेका कारण पञ्चायत अझ शक्तिशाली हुँदै गयो ।
बहुदल घोषणा
२४ गतेको घोषणाले आन्दोलनमा कुनै असर गरेन । जना अझ आक्रोशित भए । सडकमा ओर्लिए । अन्ततः केही नलागेपछि राजाले जनतासामु घुँडा टेके र चैत्र २६ गते राती एक सम्वीधन मार्फत संविधानमा रहेको निर्दलीयता शब्द हटाएको घोषणा गरे । जसलाई राजाको पराजय ठानिएन । मुलुकका लागि त्याग नै ठुलो हो भन्ने प्रमाणित भएको तर्क गरियो । त्यसको भोलिपल्ट आन्दोलनकारीको तर्फबाट ४ जनाले राजासँग भेटेपछि संवैधानिक राजतन्त्र, बहुदलीय व्यवस्था र मौलिक अधिकारको प्रत्याभूति दिलाउने शर्तमा आन्दोलन स्थगित भयो । सहमतिको र समझ्दारीको सुरुवात त्यहीबाटै भइसकेको थियो । यद्यपि, अहिले सहमतिकै नाउमा मुलुक ९ वर्ष गुम्राहमा गुज्रिसकेको छ ।
प्रजातन्त्रवादीले मनन गर्नै पर्ने !
बीरेन्द्रले नयाँ सरकारको नेतृत्व गर्न नेपाली कांग्रेसका नेता तथा जनआन्दोलनका सर्वोच्च कमाण्डर भनिएका गणेशमान सिंहलाई आग्रह गरे । सिंहले अस्वीकार गरे । पछी बैशाख ३ गते नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री नियुक्त भए । वैशाख ६ गते भट्टराईको नेतृत्वमा कांग्रेस, बाममोर्चा र राजाका तर्फबाट गरी ११ जनाको मन्त्रीमण्डल बन्यो । जसको काम संविधान निर्माण गर्ने र संसदको निर्वाचन गराउने थियो ।
त्यसताका समेत विरोधको स्वर वर्षियो । अधिकांश पञ्चायती व्यवस्थाप्रति असहमति जनाउँदै सडकमा होमिए । नेपाली जनताले विश्वका थोरै सक्रिय राजतन्त्रमध्ये एक शाही शासनविरुद्ध र प्रजातन्त्रका पक्षमा आवाज उठाए । सो समयमा समेत नेपाली जनताले खेप्न सम्म पीडा खेपे र कयौंले बलिदानी दिए । जनताले ५० दिनसम्म निरन्तर संघर्ष गरे । अन्ततः खोजेको प्राप्त गरेरै छाडे । त्यपछि पनि पटक–पटक जन संघर्ष भए ।
दश वर्षे सशस्त्र विद्रोह र १९ दिने जनआन्दोलन शाही शासनको छाया हटाउने हतियार बन्यो । त्यसले एउटा व्यवस्था परिवर्तन भयो । सोच, जाँगर र व्यवहार अझै परिवर्तन भएन । जनता पटक–पटक संघर्ष गरिरहे । बहुप्रक्षित जन संविधान प्राप्त भयो । कार्यान्वयनमा फेरि संघर्ष । सहमतिका नाउमा दलीय भागबण्डाको संघर्ष जारी छ । शाही शासनका दशौं शासक बीरेन्द्रकै सहमति र त्यागको स्मरण पटक–पटक गरिरहेका छन् नेपालीले । कतिपयले राज संस्था विर्सिए तर, बीरेन्द्रको उदारवादलाई अझै विर्सन सक्दैनन् । त्यसैले प्रजातान्त्रिक अभ्यासका लागि उनकै अवधारणाले मार्ग प्रशस्त गरेको दलहरुले भुल्न हुँदैन ।