काठमाडौं। ‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ तेश्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको नारा। ईश्वी सम्म्बत को नयाँ वर्ष २०१६ सुरु भएकै दिन जनवरी १ मा नेपाली पहिचान र राष्ट्रिताको खोजीका लागि दिवसको निरन्तरता। राजधानीमा दिवसको निरन्तरताका लागि जागरुक युवा अभियान नेपाल अग्रसर भयो। युवा–युवती देखि पाका तन्नेरीहरुको लस्कर नारा भट्याउँदै माइतीघर मण्डलादेखि बसन्तपुरतिर अघि बढ्यो। बसन्तपुर पुगेर सभामा परिणत भएको प्रभातफेरीमा विभिन्न झलकहरु देखिए।
परम्परागत रुपमा पुरुषले लगाउँदै आएको ढाका, भातगाउँले टोपी बालबालिका र महिलाले समेत पहिरिए। विभिन्न पेशामा सक्रिय व्यक्तिहरु टोपीकै माध्यमबाट एकताको सन्देश दिन सरिक भए। प्रभातफेरीमा सहभागिहरुले ‘मेरो टोपी कैलाशको शिर जस्तो’, ‘गाउँछ गीत नेपाली’ जस्ता गीतहरु गाए। शिशिर यामको चिसो बिहानीमा चिच्याउँदै निस्केको त्यो एक हुलमा सरिक हरेकको तनमा युग बदल्ने जोस देखियो। नेपाली टोपीले ठाँठिएपछी मन सबैको नेपाली हो भन्नेमा शंका गर्ने ठाउँ नै रहेन। सहभागिहरुले नेपाली मन नेपाली पन, ह्याप्पी न्यू इयर विथ नेपाली टोपी, यो मन त मेरो नेपाली हो लेखिएका प्लेकार्ड बोकेर राष्ट्रिय भाव जगाए। तर, पाको तन्तेरीको त्यो एक हुलमा पनि खाँचो रहयो। फोटो खिच्नेहरुलाई भ्याई नभ्याई छ।
सामाजिक संजालमा फोटो अपलोड गर्ने हतारोले प्रभातफेरीको लस्क भत्किने र जोडिने क्रम बसन्तपुर सम्म जारी रहयो। दौतरी भेट्यो कि टोपी दायाँ–बाँया पार्दै क्लिक्क क्लिक्क पोज लिने र दिने क्रममले मौलिकताको शोभा आएन। कतिपयले रमाइलोकाबीचमा सोच्न भ्याएनन् पनि। बसन्तपुर पुगेपछि फोटो खिच्ने ठाउँ रोज्ने क्रम पनि चलिरहयो। कोही टोपी तिखार्दै विराजमान भइरहे। हुलमा टोपीको महत्व बुझ्ने–नबुझ्नै सबै सहभागि छन् । जे होस् स्वाभीमान दर्शाउने कार्यक्रमको औपचारिकता पुरा भयो।
बसन्तपुरमा लोप हुन लागेका नेपाली पोशाक र नेपाली टोपी लगाएका सहभागिले बोल्न सुरु गरे। वर्तमान राजनीतिक अस्थिरतालाई चिर्न एकताको सन्देश टोपी दिवसले दिएको सहभागिहरुले सुनाए। सामाजिक संजालले तताएको राष्ट्रिवादी लहरले युवालाई एक ठाउँमा भेला गर्न निकै सहयोग पुग्यो । राष्ट्रियता संकटमा पर्न थालेको चिन्तामा आ–आप्mनो कर्तव्यबाट कोही चुक्न नहुने र बढ्दो आधुनिक एवं अत्याधुनिकताबीच नेपाली पहिचानको संरक्षण–प्रवद्र्धन गर्न एक दिनको भेला युगौं युग सम्मको मार्ग निर्देश हुन सक्नेमा कसैले शंका गर्न नहुने युवाहरुको जोड छ । यद्यपि, अस्थिर राजनीति र अधिकारका नाममा हुने बन्द, हड्तालकै कारण धरासायी हुँदै गएको नेपाली उद्योग र उत्पादनको प्रवद्र्धनमा विशेष दिनहरु एक संकल्प बन्न सक्नु पर्ने आवश्यकता छ । संस्कृतिविद्हरु लोप भइसकेका हाते उद्योगको खोजी तथा नेपाली कपडाको संरक्षणका लागि राज्यका विभिन्न तह परिचान नभए पहिचानको नारा अर्थपूर्ण हुन नसक्ने मत राख्दछन्।
मौलिकता र व्यवहारिकता
नेपाली टोपीको प्रचार–प्रसार, प्रर्वद्धन सम्वद्र्धनका लागि कार्यक्रम भइरहनु राम्रै पक्ष हो। यद्यपि, टोपीको मौलिकता र उपलब्धताबारे सोच्न सकिएन भने पहिचानको नारा नारामै सिमित नहोला भन्न सकिँदैन। नेपाली टोपीको उत्पादनका लागि युवाको जाँगर, साना–ठुला उद्योग व्यवसाय संचालन र स्वदेशी उत्पादन विदेश निर्यातको नीति अख्तियार गर्नै पर्दछ। जसले खास पुँजी भित्रने छ। अर्को तर्फ, टोपीको संरक्षण गर्न मौलिक प्रयोगको विस्तार हुन आवश्यक छ।
टोपीको महत्व र टोपीको उपयोगिता तथा शोभाका बारेमा स्वदेशी विदेशीलाई जानकारी गराउन व्यवसायिक रुपमै लाग्न पर्दछ। टोपीको मौलिकपन जगाउन औपचारिक कार्यक्रम नै गर्नु पर्दछ भन्ने मानसिकताबाट नेपाली समाज माथि उठ्नै पर्दछ। राज्य वा नागरिक सबैले टोपी र नेपाली पोशाकको जगेर्नाका लागि प्रथमतः आफैबाट प्रयोग र उपयोगको थालनी गर्नु आवश्यक छ। आत्मनिर्भरताका लागि उत्पादन र निर्यातमा बढावा दिने रणनीति अघि बढ्नु पर्दछ। जसले सहयोगको हात फैलाउनु पर्ने बाध्यता अन्त्य गर्नेछ। जसले औपचारिक कार्यक्रममा उपस्थितिका लागि अनुनय विनय गर्ने पर्ने बाध्यता टरेर स्वस्फुर्त उल्लासको बेहरी थाम्न सकिने छैन। त्यही उल्लासको बेहरीलाई लक्षितगरी अघि बढ्न विलम्ब नगरौं।