arrow

सभामुखले जोगाइन् ११५ सांसदको जागिर, लगातार १० दिन बढी बेपत्ता हुने सांसदले नै ताली पड्काए

लज्जा शरणम्

logo
प्रकाशित २०७४ जेठ ४ बिहिबार
news-aaja-sansad-aa.jpeg

काठमाडौं । सभामुख ओनसरी घर्तीले लगातार १० बढी बैठकमा अनुपस्थित रहने सांसदको जागिर बचाइदिएकी छन् । विहिबार बसेको संसद बैठकमा सभामुख आफैले १ सय १५ जना सांसद लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित रहेको सूचना पढिन् ।

सांसदहरु उपस्थित नभएको विषयमा जानकारी मात्रै गराइएन । हाउसले विदा स्वीकृत समेत गरिदियो । जसले सांसदहरुको जागिर जोगियो । जागिर जोगिएको यो पहिलो पटक भने होइन । प्रत्येक अधिवेशन अन्त्य भएपछि स्वीकृत गर्ने परम्परानै बसिसकेको छ । सधैँ यस्तै हुन्छ ।   

सभामुख घर्तीले पाेहाेर झैँ यस पटक पनि सजिलै विदा स्वीकृत गर्न हाउसमा प्रस्ताव राखिन् । लगातार १० पटक भन्दा बढी बैठकमा अनुपस्थित  भएका सांसदहरुले  ताली पड्काएर विदा स्वीकृत गराए । आफ्नो जागिर आफै जोगाए ।

संसद सचिवालयका एक अधिकारीले भने, ‘संसद नियमावलीमा १० वटा बैठकमा लगातार अनुपस्थित रहे पदबाटै निलम्बन हुने व्यवस्था छ । जागिर जान्छ । तर, नियमावली प्रत्येक वर्ष उल्लघंन भइरहेको छ ।’ विदामा बस्ने जानकारी दिएपनि १० दिन भन्दा माथिको अनुपस्थिति मिलान हाउसले नै गर्नु पर्ने हुन्छ । संसद गठन भएदेखि प्रत्येक अधिवेशन अन्त्य भएपछि यसरी अनुपस्थित हुनेको सूची सार्वजनिक हुन्छ । विदा स्वीकृत हुन्छ ।

यो गज्जबको परम्परा छ, माओवादी सांसद रामनारायण विडारीले भने, ‘आफ्नो जागिर आफै जोगाउने परम्परा बेठिक छ । यो बेठिक काम गर्नेहरुलाई उन्मुक्ति हो । संसद नियमावलीविरुद्ध छ । यसरी माफी दिने चलन कदापि राम्रो हुँदैन । लोक हाँस्छ ।’ हरेक अधिवेधन अत्यभएपछि यो जात्रा आउँछ । यसरी नै सकिन्छ । यो एक प्रकारको रोग नै हो ।

सांसद विडारीले भने, ‘कम्तिमा आफुले जानकारी गराउन नसके पनि सम्बन्धित व्यक्तिमार्फत जानकारी दिन सकिन्छ । १०–१५ दिन जानकारी नै नदिएर हराउने, अधिवेशनको अन्तिममा ताली पड्काएर जागिर थप्ने ? यो कस्तो संस्कार हो ?’ यो सुधार हुनै पर्नेमा विडारीले जोड दिए ।

उनले भने, ‘के कारणले गर्दा विदा स्वीकृत गर्नु परेको हो ? त्यो कारण त खुल्नै पर्छ । राजनीतिक दलका शीर्ष नेता भए, राजनीतिक वातावरण मिलाउन व्यस्त भए होलान् भन्ने हुन्थ्याे । अकस्मात विरामी परे वेग्लै कुरा हो । तर, १० दिन सम्म जाँड खाएर भट्टीमा सुतेको हो भने सँधै कसरी आम माफी दिने ? ।’ विदा बस्नु अघि जानकारी दिने र विदा स्वीकृत गराउने बानी विधायकहरुले नै नसाउने हो भने के होला ? आफै कल्पना गर्नुस्, सांसद विडारीले भने ।

लगातार १० वटा भन्दा बढी बैठकमा अनुपस्थित रहँदा पदबाट निलम्बन हुने संसदीय व्यवस्था रहेपनि सभामुखसमक्ष उपस्थित हुन नसक्नुको विषेश कारण पेश गरे बचाउ हुने नियम रहेको बताइन्छ । विडारीले यो परम्परा ठिन नरहेको भनेका छन् ।
 

यो आम माफिनै हो ?
सत्ताधारी माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेत सुरुमा हाँसे । उनले भने, ‘यो आम माफी त नभनौँ चेतावनी हो ।’ सधैँभरी चेतावनी मात्रै ? भन्ने जिज्ञासामा बस्नेतले भने, ‘यसको सजाय त जनताले दिइहाल्छन् । कम्तिमा उहाँहरु बैठकमा अनुपस्थित भएको सार्वजनिक त भो । यही हो उहाँहरुका लागि सजाय । उहाँहरु जति यस्ता गतिविधि गर्दै जानुहुन्छ, त्यति जनविश्वास गुम्दै जान्छ ।’ यद्यपि, बस्नेतले सबैलाई एउटै क्याटेगोरीमा राख्दा अन्याय हुन्छ, भने । उनले थपे, ‘कहिले काँही कोही आकस्मिक घटनाक्रमको परिबन्धमा पर्न सक्छन् । कोही विरामी पर्न सक्छन् । तर, लामो समय ग्याप रहने कुरा आफैमा राम्रो भने पक्कै होइन ।’

यस्तै, बस्नेतले अब नियमावलीमै हेरफेर गर्नु पर्छ कि समेत भने । उनले थपे, ‘निमावलीमा एउटा व्यवस्था त छ । त्यसैमा थप गरी पहिलो पटक चेतावनी दिँदा दास्रो पटक पनि त्यही घटना दोहोरिए के गर्ने भन्ने प्रावधान थप्न सकिन्छ ।’ नियमवलीमा अझै कस्ने हो की ?

फर्म्याट तयार नै हुन्छ, पीएमार्फत जानकारी गराए पनि हुन्छ
काँग्रेस सचेतक इश्वरी न्यौपानेले अधिवेशन अत्य भएपछि जहिले अधिवेशन भरीको अनुपस्थिति अनुमोदन गर्ने गरिएको बताइन् ।
उनले भनिन्, ‘जानकारी गराएर गएको भए अफ्ठ्यारो पर्दैन । जानकारी नदिई अनुपस्थित भए अफ्ठ्यारो पर्छ ।’ फर्म्याट तयारनै हुन्छ, उनले थपिन्, ‘पीए मार्फत जानकारी गराएपनि हुन्छ । कतिपयलाई बाध्यता पनि पर्छ । कतिपय माननीयहरुले हामीले आफैले लेखेको संविधानमा के लेखिएको छ ? नियमावलीमा के छ ? भनेर नहेरेको पनि हुनुपर्छ । कतिपयलाई थाहा पनि नहोला ।’ न्यौपानेले भनेको जस्तो सांसदहरुलाई नियमावलीको व्यवस्था नै थाहा न होला र ? एक पटक हो र ? संसद गठन भएदेखि यो घटनाक्रम दोहोरिरहेकै छ ।

यस्तै, सचेतक न्यौपानेले सरकारले संसदलाई विजनेश नदिँदा समेत सांसदहरुले बेवास्ता गर्नेक्रम बढेको हुन सक्छ, भनिन् । उनले थपिन्, ‘विजनेश नभएको संसदमा हल्लिनु भन्दा गाउँ जान्छु भनेर हिँड्नेहरु पनि धेरै छन् । जनतासँग भेटघाट हुन्छ भन्नेहरु पनि छन् ।’ धेरैले यस्तो गुनासो पनि गर्छन् ।
 

आफैबाट पद्दती बसाल्नु अनिवार्य

एमाले सांसद रामेश्वर फुँयालले आफु बैठकमा अनुपस्थित नभएको बताउँदै मिश्रित प्रतिक्रिया दिए । उनले भने, ‘लामो समयसम्म ग्याप रहनु आफैमा राम्रो होइन । यद्यपि, आकस्मिक घटनाक्रमले हुन सक्छ । विरामी पर्न सक्छन् । यी विषय काबु भन्दा बाहिरका विषय हुन् । सरकारी कामकाजकै लागि बाहिर जानु पर्ने हुन सक्छ ।’ शरीरले नदिएका खण्डमा पनि यो अवस्था आउन सक्ला ।

यो एक पटक होइन माननीय ज्यू, पटक–पटक भो । पहिले नै विदा स्वीकृत गरेर बस्ने परम्पराको विकास कहिले हुने ? जवाफमा उनले भने, ‘यो प्रणालीको विकास अनिवार्य छ । तर, आफैबाट । नियमावलीमा त व्यवस्था छ । केही बाध्यता त पक्कै हुन्छन् । केही हेलचक्र्याइँ पनि हो ।’ हामी नियम कानुन बनाउने विधायक भएकैले पनि पद्दतीको विकास आफैबाट गर्नु पर्छ । यो आम नागरिकमा पनि लागु हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ