arrow

काँग्रेस संस्थापन पक्षको उमेदवार कोईराला की पौडेल ?

logo
प्रकाशित २०७२ पुष १८ शनिबार
Sushil-and-Ramchandra.jpg.jpeg
काठमाडौ । नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा सभापतिमा तीन जना नेताले उमेदवारी दिने सार्वजनिक अभिव्यक्ति आएपछि भावी नेतृत्वको बारेमा काँग्रेस भित्र नयाँ नजिताको अनुमान  गर्न थालिएको छ। संस्थापन पक्षबाट पार्टी सभापति सुशील कोइरालाले समेत सभापतीमा उमेदवारी दिने संकेत स्याङजामा गएर गरेपछि नयाँ नतिजा आउने अनुमान गर्न थालिएको हो । 
 
उपसभापति रामचन्द्र पौडेलले संस्थापन पक्षबाट सभापतिको उमेदवार बन्ने भन्दै लामो समयदेखि चुनावी कसरत गरिरहेका बेला सभापति कोईरालाले पनि उमेदवारी दिने बताएपछि काँग्रेसका कार्यकर्ता तीन पक्षमा बाडिन थालेका छन् । पछिल्लो समयमा आएर उमेदवारीको चाहना सार्वजनिक गर्ने कोईरालाप्रति संस्थापन पक्षकै कतिपय नेता तथा कार्यकर्ता रुष्ट भएका छन् भने कतिपयले उपसभापति पौडेलले नजित्ने देखिएपछि कोईराला नै अगाडी सर्नु पर्ने अवस्था आएको तर्क गरेका छन् । कोईरालाको अग्रसरतालाई पौडेलले अन्तिममा आएर उमेदवारी नदिने हुन् की भन्ने आशंकाले पनि बल पुगको कतिपय नेता कार्यकर्ताहरुको भनाई छ । 
 
कोईरालाले केहि दिन अघिसम्म उमेदवारीका विषयमा नवोलेकाले संस्थापन पक्षबाट पौडेललाई सभापति बनाउन लागिपरेकाहरु पनि अहिले कोईराला की पौडेल भनेर अन्यौलमा परेका छन्। सभापति निर्वाचित भएदेखि अहिलेसम्म पार्टीको काम पनि सन्तोषजनक नगरेको, प्रधानमन्त्रीको निर्वाचनमा एक्कासी उमेदवारी दिएर पार्टीलाई लज्जीत बनाएको लगायतका कारण देखाउदै कोईरालाको विकल्प खोज्ने संस्थापन पक्षकै नेताहरुलाई कोईरालाको चाहनाले निराश बनाएको छ । 
 
संस्थापन पक्षका सवैको सहयोग पाएमा कार्यकर्ता तहबाट पौडेल बलियो उमेदवार हुन सक्ने र कार्यकर्ताको माझमा आलोचना पनि हुन लागेकोले कोईराला भने कमजोर उमेदवार हुने संस्थापन पक्षकै विष्लेषण छ। संस्थापन पक्षकै शसांक, सुजाता लगायतका कोईरालाहरु, महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाको समर्थन नपाएमा पौडेललाई पनि देउवालाई जित्न निकै गाह्रो पर्ने धेरैको बुझाई छ । 
 
प्रधानमन्त्री भएका बेला संविधान जारी गर्ने नेतृत्व लिएर जस लिएका कोइराला त्यसयता प्रधानमन्त्रीमा उमेद्वार भएपछि केहि आलोचित भएका छन्। कार्यकर्तामा बढेको उनको पछिल्लो आलोचना कोईरालालाई चुनौती छ। प्रभावशाली नेताहरुलाई मिलाएर उनिहरुको समर्थनमा नेतृत्व लिनु पौडेलका लागि चुनौती छ । 
 
काँग्रेसका प्रभावशाली महामन्त्री कृष्ण सिटौलाले समेत आफ्नो उमेद्वारी बारे मुख नखोलेपनि उनको तयारी पार्टी सभापतिमा उठ्ने भन्दा कम देखिन्न। पार्टीको विधान संसोधन गरेर वहुपदियमा नगए यो महाधिवेशनमा अध्यक्ष र पदाधिकारीहरुको चुनाव लड्ने नेताहरुको लागि फलामे च्यूरा हुने देखिएको छ। 
 
संस्थापन पक्षमा अरु पनि नेताहरु पदाधिकारीहरुको आकांक्षी छन्। उनीहरुको आकांक्षाको समेत समयमै व्यवस्थापन हुन नसके कोइराला र पौडेलको लागि अर्को चुनौति थपिने छ। यी चुनौतीहरु सामना गर्न सके भने देउवाका लागि उनीहरु बलियो उमेदवार हुन सक्लान्, नत्र प्रधानमन्त्रीमा उमेद्वारी दिएपछि कोईरालासँग रुष्ट कार्यकर्तालाई फकाउन पनि कोइरालाको यात्रा ढीलो हुनसक्छ। यो अवस्था काँग्रेसको वर्तमान संस्थापन पक्ष भनिएका कोइराला र पौडेल दुवैको हातबाट काँग्रेसको वागडोर पाउन वरिष्ठ नेता देउवाका लागि सवल हुन सक्पछ। 
 
तर यि तीन नेता नै अन्तिम समयसम्म महाधिवेशनको मैदानमा भिड्ने अवस्था आए महाधिवेशनमा नेतृत्वका लागि दोस्रो चरणको चुनाव हुन सक्ने अवस्था आउन सक्छ। यो अवस्थामा दोस्रो चरणमा संस्थापन पक्षका दुई नेताबीच नै चुनाव हुन्छकी संस्थापन पक्षका एक नेता तेस्रो भएर संस्थापनका एकसँग देउवा भिड्नेछन त्यो आम कार्यकर्ताको लागि प्रतिक्षाको विषय हुनेछ। यतिखेर भने सभापतिमा आकांक्षी तीन नेताको आकांक्षाको व्यवस्थापन गर्न स्थानिय स्तरका नेता कार्यकर्तासँगै केन्द्रिय स्तरका नेताहरुलाई पनि गाह्रो देखिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ