रमेशकुमार वली, सल्यान । जिल्लामा मोबाइल नपुगेको र मोबाइल नभएको मान्छे विरलै होला । सूचनाको प्रभावकारी माध्यम बनेको छ मोबाइल । तर पश्चिमी क्षेत्र मूलखोला– ५ की रुपकली विकलाई भने परम्परादेखि चल्दै आएको कटुवाले पेसा जीवन गुजार्ने सहारा बनेको छ ।
गाउँमा रुपकली कराएको सुन्ने सबैले गाउँमा केही भएछ भनेर अड्कल काट्छन् । कटुवाले पेसाबाट गुजारा चलाउँदै आएका रुपकलीका श्रीमान् अमृत विक आफ्नै आँगनमा लडेर मृत्यु भएपछि श्रीमानले गरेको पेसा रुपकलीले सम्हालेकी हुन् । गाउँमा विवाह, मृत्यु, पूजापाठ, बैठक हुँदा गाउँका सबैलाई खबर गर्ने जिम्मा रुपकलीकै हुन्छ । एकाबिहानै गाउँको बीचैमा गएर ठूलो स्वरमा गाउँलेलाई आठ वर्षदेखि खबर गर्दै आएको रुपकलीले बताईन् ।
“गाउँमा हुने सबै सूचना मलाई एकाबिहानै आउँछ, अनि मैले बीचैमा गएर ठूलो स्वरले खबर गर्छु, अहिले त मलाई रुपकलीभन्दा पनि कटुवाल्नी भनेर गाउँलेले चिन्न थाले” – रुपकलीले भने । सम्पत्तिका नाममा एउटा सानो झुप्रो मात्रै भएकी रुपकलीले सूचना प्रवाह गरेबापत प्रत्येक घरबाट वार्षिक २५० घरधुरीबाट प्रतिघर दुई पाथी अन्न उठाउँदै आएकी छन् । “श्रीमान्ले यही पेसा गरेर पाँच जनाको परिवार पाल्थे, अहिले चार जनाको परिवारको रोजीरोटी यही पेसाबाट जुटाउँदै आएकी छु” –उनले भनिन् ।
श्रीमानको मृत्युले एकल तथा दलित महिला भइयो अब धेरै दुःख पाइन्छ भनी सोचेको तर छरछिमेकले निकै सहयोग तथा संरक्षण गरेको उनको भनाइ छ । “गाउँमा केही भयो भने खबर गर्ने जिम्मा उनैलाई छ” स्थानीयवासी लोकबहादुर विष्ट बताउँछन्, “हाम्रोमा मोबाइलले त्यति राम्रो काम गर्दैन, पुस्तौँदेखि चल्दै आएको कटुवाले पेसालाई निरन्तरता दिएका छौँ ।
जिल्लाका अन्य कुनै पनि स्थानमा नभएको कटुवाले पेसा यही गाउँमा मात्र सीमित रहेको छ । परम्परादेखि चल्दै आएको यो पेसा कसैको जीवन गुजार्ने सहारा बनेको छ भने गाउँमा भाइचाराको सम्बन्ध पनि प्रगाढ बनेको स्थानीयवासी बताउँछन् ।