arrow

रानीटार हवाई मैदान निर्माणका लागि समिति गठन

logo
प्रकाशित २०७२ पुष १९ आइतबार
Pachthar.jpeg.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । पाँचथरको रानीटारमा निर्माण गर्ने भनिएको प्रस्तावित पाँचथर रानीटार हवाई मैदान निर्माणको कार्य अव द्रुत गतिमा अघि बढ्ने भएको छ । गत पौष १५ गते रानीटारमा भएको सर्वपक्षिय,सर्वदलिय वैठकपछि हवाई मैदानको निर्माण कार्यलाई द्रुत गतिमा अघि वढाइने भएको हो ।

जिल्ला विकास समिति पाँचथरको नेतृत्वमा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु, स्थानिय राजनितीक दल,संघ संस्था,उद्योग वाणिज्य संघ तथा जिल्लावासीले सहयोग गरेर अघि वढ्ने निर्णय भएसँगै काम अघि वढ्ने विश्वास लिइएको छ । स्थानिय विकास अधिकारी कोमलप्रसाद धमलाले भने “ केहि दिन अघि सर्वपक्षिय,सर्वदलिय वैठक वसेर यसको नेतृत्व जिल्ला विकाश समितीले गर्ने निर्णय भएको छ,अव तुरुन्तै अर्थ संकलन गर्ने,अर्थ संकलनका लागि उद्योग वाणिज्य संघ पाँचथरको संयोजकत्वमा एउटा समिती बनाई उसले अर्थ संकलन गर्ने निर्णय भएको छ ।”

यस्तै उनका अनुसार अर्थ संकलन भइसकेपछि जिल्ला विकाश समिती पाँचथरले खाता खोल्ने,त्यसपछि जिल्ला बाट प्रतिनिधित्व गर्ने सांसदहरुले केन्द्रमा पहल गर्ने निर्णय भएको छ ।” उनले भने,“ अव तुरुन्तै पत्राचार गर्ने,पत्रकार पश्चात जग्गा प्राप्त गर्ने,त्यससँगसँगै मुआब्जा वितरण गर्ने र त्यसपछि नागरिक उड्यन प्राधिकरण मन्त्रालयले काम अघि वढाउने विश्वास लिएको छु ।”

“स्थानीय स्तरमा हामीले गर्न सकिने सबै कामहरु गरिसकेका छौँ” हवाई मैदान व्यवस्थापन समितिका सल्लाहकार सूर्य अधिकारीले  भने, “हामीले जिल्ला देखी केन्द्र सम्म सबै ठाँउमा हवाई मैदान निर्माणको कार्य अघि बढाइनुप¥यो भनेर माग ग¥यौँ । तर, कसैले वास्ता नगरेपछि हवाई मैदान रानीटारवासीको मात्र हो कि पाँचथरवासीको भन्ने प्रश्न उठेको छ ।”

उनका अनुसार हवाई मैदान निर्माणका लागि जिल्ला स्थित सम्पूर्ण सरोकारवाला निकाय देखी पाँचथरबाट प्रतिनिधित्व गर्ने सांसदहरु, राष्ट्रिय योजना आयोग, नागरिक उड्ययन प्राधिकरण, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, सभामुख लगायत सबैलाई ध्यानकर्षण गराइसकिएको छ ।

जिल्ला विकास समितिको जिल्ला परिषदबाट रानीटारमा हवाई मैदान निर्माण गर्ने योजना समेत पारित भइसकेपनि जिल्ला स्थित सरोकारवाला पक्षले प¥र्याप्त चासो नदिँदा हवाई मैदान निर्माणको काम अघि बढ्न नसकेको गुुनासो व्यवस्थापन समिति तथा स्थानीयको छ । अधिकारीका अनुसार हवाई मैदान निर्माणका लागि अन्तिम सम्भाब्यता अध्ययनको काम २०६७ सालमा सकिएसँगै निर्माणको कार्य अघि बढ्ने निश्चय भएको थियो । इन्जिनियर गोविन्दमान श्रेष्ठको नेतृत्वमा २०६७ सालमा प्राविधिकहरु टोली आई सर्वेको काम सम्पन्न गरेको थियो । उनले भने,“जिल्लामा भएको सर्वपक्षिय,सर्वदलिय वैठक वसेर द्रुत गतिमा काम अघि वढाउने भन्दै जुन निर्णय गरिएको छ यसबाट हामी स्थानियले विश्वास लिएका छौ,पक्का अब विमानस्थलको कामले तिव्रता पाउँछ ।”

‘एक जिल्ला एक एयरपोर्ट’को नीति बमोजिम पाँचथरको फिदिम, याङनाम, नांगीन र रानीटारमा भएको सर्वेक्षणबाट रानीटार हवाई मैदान निर्माणका लागि प्राविधिक, लागत र भौगोलिक रुपले पहाडी क्षेत्रमा अत्यन्तै सहज र उपयुक्त रहेको निश्कर्ष उक्त प्राविधिक टोलीले निकालेको स्थानीयको भनाई छ । सोही साल सम्भाव्यता अध्ययन गर्दा समेत हवाई मैदान निर्माण गर्न सकिने निश्कर्ष प्राविधिकहरुले निकालेका थिए । हवाई मैदान निर्माणका लागि रानीटारको स्याउडाँडा उपयुक्त देखिएपछि स्थानीयको टोली जिल्लाबाट प्रनिधित्व गर्ने सांसदहरु सहित नागरिक तथा पर्यटन उडड्यन मन्त्रालय, नागरिक उड्ययन प्राधिकरण, राष्ट्रिय योजना आयोग लगायतका निकयामा पुगी ज्ञापन पत्र बुझाउने कार्य गरेको थियो । पाँचथर आएका बखत तत्कालिन पर्यटनमन्त्री भीम आचार्यलाई समेत ज्ञापनपत्र बुझाइएको थियो । काठमाण्डौँमा पूर्वमन्त्री पद्यमसुन्दर लावती, दीपकप्रकाश बाँस्कोटा लगायत समेत सहभागी भएको वृहद भेला आयोजना गरी हवाई मैदान निर्माणको कार्य अघि बढाउन आग्रह गरिएको थियो ।

सो क्रममा सांसद तथा पूर्वमन्त्रीहरुले आफुहरु निर्माण कार्यलाई अघि बढाउन पहल गर्ने प्रतिवद्धता जनाएका थिए । हवाई मैदान निर्माणका लागि स्थानीयले ३ सय २६ रोपनी जग्गा मध्ये २५ प्रतिशत निशुल्क र अन्य पनि १० हजार प्रतिरोपनी दिने लिखित निर्णय नै लिइसकेका छन् भने जिल्ला नापी तथा मालपोत कार्यालयले सिमाङ्नको कार्य समेत सम्पन्न गरिसकेको छ ।

तर, यत्तिका कार्यहरु सम्पन्न भइसक्दा समेत सम्बन्धित निकायहरुले चासो नदिएको भन्दै स्थानीयले तिब्र गुनासो पोखेका हुन् । “हवाई मैदान निर्माण गर्ने क्षेत्रभित्र रहेको विद्यालयको भनव बनाउन जिल्ला शिक्षा कार्यालयले भवन दिइसकेको छ । तर, हवाई मैदान बन्ने÷नबन्ने अन्यौलले विद्यालय भवन बनाउन सकिएको छैन् ।” स्थानीयको गुनासो छ “हवाई मैदान निर्माण गर्ने क्षेत्रभित्रै रहेको गुम्बा र गुरुङ संग्रहालयको रङ्ग रोकन र जिर्णोद्वार गर्न समेत सकिएको छैन् । हामी कहिले सम्म अन्यौलमा बसीराखौँ ?” “स्थानीयले सबै काम सक्दा पनि किन सम्बन्धित निकायको ध्यान गएन् ? हामीलाई किन यसबारेमा सुझाइएन् ?” प्रश्न गर्दै स्थानीय थप्छन् “स्थानीयलाई करिब १ करोड रुपैँया मुआब्जा दिए पुग्ने देखिन्छ । यत्ति सस्तोमा अन्यत्र कहाँ जग्गा पाइन्छ ?” व्यवस्थापन समिति तथा स्थानीयले हवाई मैदान निर्माणको कार्य अघि बढाउन आफुहरु एक्लै भएको गुनासो समेत पोखे ।

यसैबिच हवाई मैदान निर्माणको कार्य अघि बढाउन छुट्टा–छुट्टै तीन समिति निर्माण गर्ने निर्णयसर्वपक्षीय बैठकले गरेको छ । राजनीतिक दलका प्रतिनिधिहरु सहित सरोकारवाला सम्लग्न जिल्ला स्तरीय समिति, जिल्लाबाट प्रतिनिधित्व गर्ने ५ सांसद सहितको केन्द्रीय स्तरमा लविङ गर्ने समन्वय समिति र पाँचथर उद्योग वाणिज्य संघको नेतृत्वमा आर्थिक संकलन समिति गठन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ