arrow

कठै बालबालिका, कठै बालगृह

बालबालिकाको आश्रय बालमन्दिर नै समस्यामा

logo
प्रकाशित २०७२ पुष २० सोमबार
bal-mandir-child.jpg.jpeg
सञ्जिव दाहाल, काठमाडौं। कसलार्ई मन हुन्छ र सानै उमेरमा आफ्नो आमाको काखबाट छुट्नलार्ई ! दैवदशा लागेपछि कसको के लाग्छ र न आमाको काख न बाबाको साथ। नक्सालस्थित शिक्षाका लागि खाद्यान्नको कार्यालयमा पुग्दा दैवको यस्तै लीला देखिन्छ। विभिन्न ठाउँका अनाथ बालबालिका राखिदै आएको बालगृहमा विनाशकारी भूकम्पले अभिभावक गुमाएर टुहुरा भएका बालबालिकाहरू पनि थपिएका छन्। त्यहाँ रहेका हरेक बालबालिका आफैमा एउटा कथा छन् र त्यसका मूल पात्र पनि उनीहरु आफै हुन्। नक्सालको नेपाल टेलिकमसँगै रहेको बालमन्दिर भूकम्पले बस्नै नमिल्ने गरी चर्किएपछि त्यहीँ नजिकैको शिक्षाका लागि खाद्यान्नको कार्यालयमा उनीहरुलाई सारिएको हो। त्यहि कार्यालयमा भेटिएका बालबालिका अहिले नयाँ जीवन जीउने अभ्यास गरिरहेपनि उनीहरुको अनुहारमा एक किसिमको हतासा अझै देखिन्छ। 
 
बुधबार बिहानको ८ बज्दै थियो। स्कुलमा जाँन पेम्बा शेर्पा हतार–हतार टाई लगाउँदै थिए । एक भारी किताब र कापी झोलामा थियो । तर, उनको अनुहारमा चमक थिएन। गत १२ वैशाखमा गएको विनाशकारी भूकम्पमा आफ्नी आमा गुमाएका शेर्पाको आँखामा झलझली आमा नै डुल्छिन्। आमा गुमाएको ८ महिनापछि पनि यि स्कुले विद्यार्थी शेर्पाको आँखाले आमालाई नै खोजेको छ। उनको आँखा बेलाबेलामा टोलाउने गर्छ। हेर्दा आँखासम्बन्धी रोग लागेको हो कि भन्ने जस्तो देखिने उनको आँखा रोएर सुन्निएको छ। आमा र परिवारको याद आउँदा होस वा कसैले कुरा गरेसँगै उनी एक्कासी रुन्छन। भूकम्पमा परी घर भत्किँदा उनकी दिदी र आमाले ज्यान गुमाएका थिए। सानै हुँदा बुबा विदेश गएकाले पेम्बालाई बुबाको धमिलो स्मृतिसमेत छैन। आमाले अरूका घरमा काम गर्दै दैनिकी चलाइरहेकी थिइन् । आँइतबार उनी र दिदी स्कुलमा जाने योजनामा थिए। ‘स्कुल खुल्ने भएकाले नुहाउन भनेर धारामा जान लागेका थिएँ । दिदीले अल्छी गरेकाले घरमै बसिरहेकी थिइन् म चाहिँ धारामा गएको थिएँ,’ उनले आँखाभरि आँशु झार्दै भने । उनको मात्रै होइन, उनिसँगै बालमन्दिरमा रहेका दिलराज तामाङ, संगीता तामाङ, विद्यालक्ष्मी तामाङ, विजय तामाङ, लाक्पादोर्जे तामाङ र पोक्सी शेर्पालगायत काभ्रेपलाञ्चोकका १,  ओखलढुंगाका ६,  उपत्यकाका अरु पाँच गरी १२ जना बालबालिकाको ब्यथा पनि उस्तै प्रकृतीको छ। 
 
भुकम्पबाट प्रभावित र पीडित यि बालबालिकाहरु बालगृहमा संरक्षणमा आएका छन्। तर उनीहरुलाई संरक्षण दिने  बालगृह पनि समस्यामा छ। नक्सालस्थित बालमन्दिर बस्नै नमिल्ने गरी चर्किएपछि त्यहीँ नजिकैको शिक्षाका लागि खाद्यान्नको कार्यालयमा सारिएको धेरै भइसक्यो। त्यहाँ एउटै कोठामा कोचाकोच गरी १५ देखि २० जनासम्म बालबालिका सुताइएको छ। ग्यारेजमा भान्सा छ,  त्यहीँ अर्को १५ जना बालबालिका सुतेका छन्। ४४ जना बालबालिका बसिरहेको बाल मन्दिरमा भूकम्पपछि १७ जना थपिए। पुरानैलार्ई राख्ने ठाउँ नभएपछि काठमाडौंको सिफलस्थित बालगृहमा पठाइएको थियो। काठमाडौंको बालमन्दिरमा पढिरहेका मध्ये सातजनालार्ई कपिलवस्तुको बालमन्दिरमा र एकजनालार्ई ललितपुरकै ठेचोमा सारिएको थियो। 
 
‘बालमन्दिरले तत्काल क्षमता विस्तार गरेर दुई सयजति भूकम्पपीडित बालबालिका लिने सोचिरहेको थियो। सरकारको आदेश आएसँगै त्यो रोकियो,’ नेपाल बाल संगठनका अध्यक्ष रीता सिंहले भनिन्, ‘यो त सरकार आफूले नियमन गर्न नसक्ने भन्दै राम्रो उद्देश्यले काम गर्नेहरूको पनि हात बाँध्ने काम भयो।’ सिहंले भनिन्, ‘त्यस्तो योजना सुनाइरहँदा बालमन्दिरमा रहेका पुराना बालबालिकाको बसाइँ कष्टकर भएको छ।’ शिशुहरू पनि राखिने नक्सालको बाल मन्दिर निकै संवेदनशील छ। तर,  एउटै कोठामा धेरै जना बस्दा सास फेर्नै समस्या छ। त्यही भएर ६ महिने शिशु मनिसा श्वासप्रश्वासको समस्याले कान्ति बाल अस्पताल भर्ना भएका छन्। बाल मन्दिरकी नर्स संस्कृति श्रेष्ठका अनुसार त्यहाँ ल्यायो कि बिरामी पर्ने भएकाले उनलार्ई अस्पतालमै राखिएको छ। 
 
भूकम्पलगत्तै त्यहाँ एक वर्षमुनिका पाँच शिशु बालबालिका खोजतलास केन्द्रबाट ल्याइएका छन्। बौद्धमा फोहरको रासमा कुकुरले तान्न लागेको अवस्थामा फेला परेका अन्दाजी एक महिने शिशुले प्रतीक बालक नाम पाएका छन् भने बालाजुको पुलमुनि भेटिएका अन्दाजी तीन महिनाका अर्का शिशुले सन्देश नाम पाएका छन्। २५ दिनका प्रयास बालकलार्ई थापाथली अस्पतालमा अभिभावकले छाडेर गएका थिए भने जेनिसा बालिका कलंकीको फुटपाथमा भेटिएकी थिइन्। अहिले कान्तिमा रहेका ऋषभ भने आफ्ना जुम्ल्याहा भाइसँगै बोरामा राखेर फ्याँकिएका थिए । भाइको पछि मृत्यु भयो। 
 
नेपाल बाल संगठन (बाल मन्दिर) का उपनिर्देशक बालकृष्ण डंगोलले भने, ‘भूकम्पसँगै यस्ता घटना एकैचोटि धेरै किन भए भन्ने अनुसन्धान आवश्यक छ।’ यस्तो नियति झेल्ने सोना एक्ली होइनन्। कथा फरक होलान् तर ती कथाका बीचमा एउटा समानता के भने थुप्रै बालबालिका अभिभावक गुमाएर बेसहारा भएका छन्। नेपाल बाल संगठन (बालमन्दिर) ऐतिहासिक दरबार भएकाले तत्काल सरकारले पुनर्निर्माणमा ध्यान दिनुपर्ने डंगोलले बताए। 
 
भूकम्पसँगै अभिभावक गुमाउने घटनामात्र नभएर, गाउँघरमा बस्ने, लाउने समस्या भएसँगै पालिदिने भन्दै विभिन्न संघसंस्थामार्फत थुप्रैलार्ई राजधानी ल्याउने क्रम बढ्यो। त्यतिखेरै नेपाल सरकारले स्थानान्तरण गर्न नपाइने बताएपछि धेरैजसो आफ्नै गाउँघर फर्किएका छन्। 
 
केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले भने, ‘योजनाबद्ध रूपमा बालबालिकाको संरक्षण होस् भनेर त्यस्तो गरिएको हो। संरक्षण नै नहोस् भनेर होइन ।’ धितालले भने, ‘अनुभवमा यसरी स्थानान्तरण गरिँदा पछि गएर बालबालिकाको पहिचानकै समस्या आउने गर्छ र सुरक्षासँगै सम्पत्तिको हकमा समेत असर पर्न सक्छ,’ धितालको भनाइ छ,  ‘अर्को सरोकार के भने सकेसम्म बालबालिकाको स्याहार परिवारका अन्य सदस्यसँग उसकै गाउँठाउँमा हुनुपर्छ ।’
 
केन्द्रीय बाल कल्याण समितिका अनुसार भूकम्पमा परी कम्तीमा एक सय १३ बालबालिकाले बाबुआमा दुवै गुमाएका छन् भने सात सय १३ जनाले बाबु र आमामध्ये एक गुमाएका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ