arrow

यसरी बन्छ दोस्रो चरणमा एमाले पहिलो

logo
विष्णु रिजाल,
प्रकाशित २०७४ असार ११ आइतबार
bishnu_rijal.jpg

काठमाडौं । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ६ हजार ५१ जनप्रतिनिधि अर्थात् ४५ दशमलव १५ प्रतिशत सिट जितेर पहिलो राजनीतिक दल बनेको नेकपा (एमाले) असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनमा सहजै पहिलो दल हुँदैछ । एमालेको परम्परागत पकड क्षेत्र र शहरी इलाका दुबैका कारण पहिलो चरणमा भन्दा भारी अन्तरले एमालेले अग्रता कायम गर्दैछ । दुई नम्बर प्रदेशमा एमालेलाई कमजोर ठानेर त्यहाँबाट पछाडि पार्न सकिन्छ कि भन्ने हिसावमा रहेको कांग्रेसले त्यो परिस्थिति पनि नदेखेपछि राजपालाई अघि सारेर निर्वाचन स्थगित गरेका कारण बाँकी क्षेत्रमा एमालेलाई झन् सजिलो भएको छ ।

पहिलो चरणको नतिजामा कांग्रेस करिब १० प्रतिशतले एमालेभन्दा पछाडि छ भने माओवादी चाहिँ एमालेको करिब एक तिहाई छ । यी दुबै दल मिलेर जितेको सिट संख्या जोड्दा एमालेको हाराहारीमा आउँछ । तर, पहिलो चरणको निर्वाचनको प्रभाव दोस्रो चरणमा पनि पर्ने भएका कारण यसपटकको निर्वाचन एमालेका लागि थप सहज बनेको छ ।

एमालेले पहिलो चरणभन्दा राम्रो नतिजा निकाल्न सक्ने भरपर्दा आँकलनहरु भइरहेका छन् । एमालेले चुनावको चार दिन अगाडिको आँकलनमा तीन ओटा प्रदेशका ३ सय ३४ स्थानीय तहमध्ये सहजै बहुमत हासिल गर्ने स्थिति रहेको प्रशासनिक संयन्त्रहरुले पनि आ–आफ्ना चेन अफ कमान्डमा सूचित गरेका छन् ।

प्रदेश नम्बर १ : सुबिधाजनक बहुमत
सबैभन्दा धेरै स्थानीय तह रहेको प्रदेश नम्बर एकमा एमालेले ३ नम्बर प्रदेशमा जस्तै सुबिधानजक बहुमत ल्याउनेछ । पहिलो चरणमा निर्वाचन भएको ३ नम्बर प्रदेशमा एमालेले कांग्रेसलाई आधा आकारमा राखेर बहुमत ल्याएको थियो । एक नम्बरमा पहिलो पार्टी बन्न कुनै समस्या छैन । तर, अझ बढी सिट हासिल गर्न नेताहरुले ध्यान केन्द्रित गरिहेका छन् ।

त्यसका लागि अध्यक्ष केपी ओली झापा, मोरङ, सुनसरी जस्ता धेरै जनसंख्या, धेरै र ठूला तहहरु रहेका जिल्लामा आयोजित तीसौँ कार्यक्रमहरुमा सहभागी हुनुभएको छ भने बरिष्ठ नेता झलनाथ खनाल १० दिनदेखि गृहजिल्ला इलाममा हुनहुन्छ । त्यसैगरी, सचिव योगेश भट्टराई दुई सातादेखि गृहजिल्ला ताप्लेजुङमा, अर्का सचिव भीम आचार्य सुनसरी, स्थायी समिति सदस्य सुवास नेम्वाङ गृहजिल्ला इलाममा सक्रिय हुनुहुन्छ । बरिष्ठ नेता माधव नेपालले आइतबार मात्रै सुनसरीमा आयोजित दुईवटा सभालाई सम्बोधन गर्नुभएको छ भने महासचिव ईश्वर पोखरेल मोरङमा आयोजित सभालाई सम्बोधन गरिसक्नुभएको छ । नेताहरुको यस दौडधुपले पनि पार्टीले एक नम्बर प्रदेशलाई कति महत्व दिएको छ भन्ने देखिन्छ ।

एक नम्बर प्रदेश अन्तर्गत ओखलढुंगादेखि ताप्लेजुङसम्मका पूर्वी पहाडका जिल्लामा एमाले विरुद्ध कांग्रेसले माओवादी, संघीय समाजवादीलगायत धेरै दलसँग गठबन्धन गरेका छन् । यसको अर्थ त्यहाँ उनीहरु आफैँ कमजोर रहेको सन्देश जनतामा गइसकेका छ । भोजपुर, ताप्लेजुङ, खोटाङ र इलाम जस्ता पहाडी जिल्लामा एमालेले शतप्रतिशत नतिजा निकाल्ने सम्भावना छ भने ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, तेह्रथुम र पाँचथरमा एमाले बहुमतसहित ठूलो पार्टी बन्ने आँकलन छ ।

झापा, मोरङ र सुनसरीको चुनावी परिणाम जता जान्छ एक नम्बर प्रदेशको समग्र परिणाम त्यसले निर्धारण गर्नेछ । झापामा अध्यक्ष ओली आफैं चार दिन खटेर लगभग सबै स्थानीय तहमा पुगिसक्नुभएको छ । त्यसबाट कार्यकर्तामा उत्साह मात्र बढेको छैन, कार्यक्रममा देखिएको जनताको व्यापक उपस्थितिले पनि एमालेका पक्षमा माहौल कस्तो छ भन्ने देखाएको छ ।

मोरङमा विराटनगर महानगरपालिकामा एमालेको अवस्था एकाएक सुदृढ बन्दै गएको छ । एमालेका तर्फबाट जिल्ला अध्यक्ष विनोद ढकाल आफैँ उम्मेदवार भएका कारण उहाँ जत्तिको हेभि वेट उम्मेदवार अरु पार्टीमा छैन । बौद्धिक, युवा र सहरी मतदाताले उम्मेदवारको व्यक्तित्व पनि हेर्ने भएका कारण त्यहाँ ढकालले सहजै जित्ने अवस्था बनेको छ । थप, नेपाल लोकतान्त्रिक फोरमसँगको सहकार्यले मत थपिने स्थिति त छँदैछ । एमालेले ०५४ सालमा गिरिजाप्रसाद कोइराला भएकै बेला विराटनगरमा मेयर जितेको थियो । मोरङका बेलबारी, उर्लाबारी, सुन्दर हरैंचा, पथरी शनिश्चरेलगायतका ठूला नगरपालिकामा एमाले अन्य दलको गठबन्धनभन्दा धेरै अगाडि छ । मोरङमा एमालेले ८० प्रतिशत स्थानीय तहमा जित निकाल्न सक्ने देखिएको छ ।

सुनसरीमा इटहरी र धरान दुवै उपमहानगरपालिकामा एमाले प्रतिस्पर्धाभन्दा माथि छ । त्यहाँका अधिकांश स्थानीय तहमा एमालेको अवस्था मजबुत छ । ०७० को संविधानसभा चुनावको परिणाम र पछिल्लो समय एमालेले लिएको नीतिका कारण शहरी जनमत एमालेतिर थपिएका कारण एक नम्बर प्रदेशमा एमाले बलियो शक्तिका रुपमा स्थापित हुँदैछ ।

गत चुनावमा एमालेले ताप्लेजुङ, भोजपुर, खोटाङ र तेह्रथुमका सबै निर्वाचन क्षेत्र जितेको थियो । ओखलढुंगा, उदयपुर र पाँचथरमा कांग्रेससँग बराबरी अवस्थामा रहेको एमालेले इलाममा ३ मध्ये दुई सिट जितेको थियो । त्यस्तै झापामा ७ मध्ये ४, मोरङमा ९ मध्ये ३ र सुनसरीमा ६ मध्ये ३ सिट जितेको थियो । सफलता हात पार्न नसकेका संखुवासभा र सोलुखुम्बुमा पनि झिनो मतले मात्रै एमाले पछि थियो । मोरङमै पनि एमाले दुई निर्वाचन क्षेत्रमा झिनो मतले पछि परेको थियो । तर, अहिले एमालेको अवस्था सुदृढ भइसकेको छ । समग्रमा एक नम्बर प्रदेशबाट सुबिधाजनक बहुमत ल्याउने र निर्वाचन हुन लागेको एक मात्र महानगरपालिका र दुवै उपमहानगरपालिकासहित अधिकांश नगरपालिकाहरुमा चुनाव जित्ने अवस्था छ ।

प्रदेश नम्बर ५ : प्रदेश विभाजनविरुद्धको जनमत
एमालेले ५ नम्बर प्रदेशका ४ उपमहानगरपालिकामध्ये कम्तिमा ३ ओटा जितेर प्रदेशको सबैभन्दा ठूलो पार्टी हुने निश्चित रहेको एमालेबाहेकका विश्लेषकहरु भनाइ छ । तर, एमालेका नेताहरु भने चारै उपमहानगर जित्ने अभियानमा छन् ।

०७० सालको संविधानसभा चुनावको हिसाव गर्दा यस प्रदेशमा एमालेलाई दाङले पछि पारेको थियो । तर, यसपटक घोराही र तुलसीपुर उपमहानगरपालिकामा एमालेको अवस्था मतबुत छ भने अरु नगर र गाउँमा पनि उत्साहजनक सहभागिता देखिन्छ ।

रुपन्देहीमा एमालेले बुटवल उपमहानगरपालिका अत्याधिक बहुमतका साथ जित्नेमा कुनै शंका नै छैन । बाँकी तीन ठूला नगर– सैनामैना, तिलोत्तमा र देवदहमा पनि एमाले जित्नेमा ढुक्क छ । दक्षिणका केही गाउँपालिकामा स्थानीय तालमेलले एमालेलाई फाइदा पु¥याउँदैछ भने बाँकी क्षेत्रमा एमाले प्रतिस्पर्धामा छ ।

कपिलवस्तुमा एक नम्बर क्षेत्रमा पर्ने स्थानीय तहमा एमाले पहिलादेखि नै अगाडि छ भने बाँकी तहमा पनि राम्रो माहौल सिर्जना भइरहेको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा छ । त्यसमा एमालेले बाजी मार्ने कोसिस गरिरहेको छ । कोहलपुर, बैजनाथ, खजुरा जस्ता तहमा एमाले प्रतिस्पर्धाभन्दा माथि छ भने बर्दियामा पनि एमाले अरु पार्टीभन्दा कमजोर अवस्थामा छैन ।

पाँच नम्बर प्रदेशका पहाडी जिल्लामध्ये पाल्पा र गुल्मीमा एमालेले ९० प्रतिशत नतिजा निकाल्ने र अर्घाखाँचीमा बहुमत स्थान जित्ने स्थिति छ । प्युठानमा बहुमत स्थानीय तह जितेर यसपटक रोल्पा र रुकुममा समेत खाता खोल्ने तयारी एमालेको छ । रुकुमको सिस्ने र रोल्पाको त्रिवेणी गाउँपालिकामा एमालेका उम्मेदवारहरु अगाडि छन् । पाँच नम्बर प्रदेशका हकमा एमाले त्यहाँको नेता हो । प्रदेश बिभाजन गरेर तराई र पहाड अलग गर्न ल्याइएको संविधान संशोधन प्रस्तावका विरुद्ध त्यहाँका जनताले गरेको आन्दोलनको स्वामित्व एमालेले लिएका कारण यो चुनाव संविधान संशोधनबारे जनमत संग्रह जस्तै बनेको छ । त्यही भएरै एमाले विरुद्ध पाँच नम्बर प्रदेशमा कांग्रेस र माओवादीले तालमेल गरेको कुरा जनताले बुझेका छन् । यस निर्वाचनलाई पाँच नम्बर प्रदेशमा जनमतसंग्रहका रुपमा हेरिएको छ ।

प्रदेश नम्बर ७ : राज्य आतंक झेल्दै बहुमत
सात नम्बर प्रदेशमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवा एक सातासम्म केन्द्रित हुनुपर्ने अवस्थाले पनि कांग्रेसका हबिगत बुझ्न सजिलो भएको छ । ७ नम्बर प्रदेशमा कांग्रेस चुनावको एक साताअघि नै दोस्रो स्थानमा देखिएपछि देउवा काठमाडौं छाडेर दलबलसहित सुदूरपश्चिम पुगेका छन् ।

संविधानसभको गत निर्वाचनमा एमाले कमजोर देखिएको कैलाली र कञ्चनपुरमा यसपटक व्यापक जोड गरिरहेको छ । एमाले उपाध्यक्ष तथा प्रदेश संयोजक भीम रावल एक सातासम्म तिनै दुई जिल्लामा खटिनुभयो भने बरिष्ठ नेता माधव नेपाल, महासचिव ईश्वर पोखरेल पनि त्यहीँका सभामा सहभागी हुनुभएको छ । प्रधानमन्त्री देउवाको जिल्ला डडेल्धुरामै कांग्रेसमा कलह देखिएको छ भने एमाले सम्पूर्ण एकताका साथ निर्वाचनमा होमिएको छ ।

गत निर्वाचनमा दुबै क्षेत्र जितेको बझाङमा शतप्रतिशत नतिजा एमालेको पक्षमा जाने निश्चित भएपछि कांग्रेसले राज्यसत्ताको दुरुपयोग गरेर एमाले कार्यकर्तामाथि कुटपिट र धरपकड थालेको छ । बझाङको काँडा गाउँपालिकाको वडा नम्बर ६ मा वडाध्यक्षसहित प्यानलै एमालेका उम्मेदवार निर्विरोध भइसकेका छन् । बझाङ र बाजुरामा राज्य आतंक मच्चाएर एमाले कार्यकर्ताको मनोबल गिराउने प्रयास भइरहेको छ । बाजुरामा उम्मेदवारी मनोनयनकै दिन एमाले कार्यकर्ता हंश रोकायको कांग्रेस उम्मेदवारकै नेतृत्वमा हत्या भयो । तर, प्रहरीले हत्यारालाई पक्राउ गरेको छैन ।

सात नम्बर प्रदेशका बैतडी, अछाम र डडेलधुरामा एमालेले बहुमत स्थान जित्दैछ । अछाममा एमाले उपाध्यक्ष रावलको गृहजिल्ला भएकाले कांग्रेस र माओवादीले तालमेल गरे पनि उनीहरुको केही लाग्ने अवस्था छैन ।

एमाले पहिलो पार्टी बन्ने तीन कारण
एमालेले पहिलो चरणमा जुन नतिजा ल्यायो त्यो उसले अपेक्षा गरेको भन्दा केही कम हो । एमालेले पहिलो चरणमा १४० देखि १५० स्थानीय तह जित्ने लक्ष्य राखेको थियो । तर, ३४ स्थानीय तहमा एमालेका उम्मेदवार २ देखि ७० मतको अन्तरमा पराजित भए । एमालेले दुई महानगर र एक उपमहानगरपालिका सहित ५३ नगरपालिकामा जितेको छ ।

१. पहाडी जिल्ला परम्परागत गढ
अहिले निर्वाचन हुन लागेका तीन प्रदेशमा ३५ जिल्लामध्ये पूर्वदेखि पश्चिमसम्मका अधिकांश पहाडी जिल्ला एमालेका गढका रुपमा रहँदै आएका छन् । गत ०७० सालको संविधानसभाको निर्वाचनलाई मात्रै विश्लेषण गर्दा पनि पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगादेखि पश्चिका अर्घाखाँची, पाल्पा, गुल्मी, प्यूठान, अछाम, बाजुरा, बझाङ, बैतडी, डोटी र दार्जुमा एमाले बलियो शक्तिका रुपमा छ । अहिले त्यहाँ हुने निर्वाचन एमालेका लागि अनुकूल छ । त्यही भएर तीमध्येका कतिपय ठाउँमा कांग्रेस र माओवादी मिलेर आउँदा पनि एमालेलाई हल्लाउन सक्ने अवस्था छैन ।

२. शहरी जनमत एमालेका पक्षमा
पहिलो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनले सहरी जनमत एमालेका पक्षमा रहेको देखिएको छ । निर्वाचन भएका नगरपालिकामध्ये एमालेले ५३ नगरपालिकामा प्रमुख जितेको छ, जबकि कांग्रेसले ३२ र माओवादी केन्द्रले १९ नगरपालिकामा मात्र जितेको छ । यस आधारमा हेर्दा यसपटक निर्वाचन हुन लागेका एक महानगर, ७ उपमहानगरसहित २ सय ११ वटा नगरपालिकामा एमालेलाई फाइदा पुग्नेछ । अधिकांश नगरपालिका शहरी क्षेत्रमा पर्ने र एमालेले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र विकासका लागि अघि सारेका सोचहरुको प्रभाव सहरी इलाकामा पर्ने भएकाले यसबाट एमालेलाई स्वतः फाइदा हुनेछ ।

३. कांग्रेस–माओवादीबीच गठबन्धनको असफलता
पहिलो चरणको निर्वाचनमा कांग्रेस र माओवादीले धेरैभन्दा धेरै ठाउँमा गठबन्धन गरेर एमालेलाई हराउने सपना देखेका थिए । तीमध्ये दुई ठूला महानगर भरतपुर र पोखरामा उनीहरुले एमालेका विरुद्ध गठबन्धन गरेका थिए । तर, ती दुबै ठाउँमा तिनले आफ्नो हविगत देखिसकेका छन् । पोखरामा एमालेले शानदार मतले जितेको छ भने भरतपुरमा एमालेले जित्ने निश्चित भएपछि मतपत्र च्यातेर जनमतको अपमान गरिएको छ ।

दोस्रो चरणको निर्वाचनमा पनि कांग्रेस–माओवादी गठबन्धनको खासै प्रभाव नदेखिने कुरा पहिलो चरणको निर्वाचनबाट बुझ्न सकिन्छ । ठाउँ–ठाउँमा उनीहरुका कार्यकर्तामा देखिएको असन्तुष्टीले पनि निर्वाचनमा पक्कै प्रभाव पार्ने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ