- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगञ्ज। डा. सुरेश कुमार कनोडियाको नाम धेरैलाई कण्ठ छ तर कयौंको गुनासो पनि छ। सहजै भेटवार्ता गर्न पाइएको छैन । त्यो अस्वभाविक पनि होइन, किनकी उनी नेपालगञ्ज मेडिकल कलेजको सञ्चालक अनी प्रवन्ध निर्देशक हुन् । धेरै थरिको व्यस्तता र अहं जिम्मेवारी पनि छ । तर अब त्यो चिन्ता गर्नु पर्ने स्थिती छैन्, उनले आफुलाई राजनीतिक रुपमा स्थापित गर्दैछन् । बाल्यकालदेखिको समाज सेवा गर्ने सपना अब काँग्रेस अनी नेपालगञ्जीयाले पुरा गरिदिदैछन् । नेपाली काँग्रेस बाँकेले डा कनोडियालाई नेपालगञ्ज उपमहानगरपालिकाको मेयर उम्मेदवारका रुपमा अघि सारेर विजयीको शिखर चुमाउँदैछ ।
डा. कनोडिया अहिले मतदातामाझ पुगेर मेयरमा विजयी गराउन अपील गरिरहेका छन् । पश्चिम नेपालकै प्रतिष्ठित मेडिकल कलेजको सफल सञ्चालन मात्र हैन, हजारौंको ज्यान जोगाएर मानवीय सेवा पुर्याउनुका साथै नर्स र चिकीत्सक बन्ने सुअवसर पनि प्रदान गरेका छन् । डा कनोडियाकै नेतृत्वमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अष्पताल कोहलपुर, नेपालगन्ज मेडिकल कलेज चिसापानी सञ्चालनमा छन् ।
पहिलो ब्याजमा ७५ जना चिकित्सक उत्पादन गरेको नेपालगन्ज मेडिकल कलेजले हाल सम्म १७ सय डाक्टर, ४ सय बढी नर्स उत्पादन गरीसकेको छ । नेपालगन्ज मेडिकल कलेजले नै उत्पादन गरेका अधिकाशं चिकित्सक र नर्सले मेडिकल कलेजमा रोजगारी पाइरहेका छन् । यहाँ अध्ययन गरेका कयौं विद्यार्थीहरु हाल अमेरिका, युरोप, अष्ट्रेलिया, जापान लगायतका देशहरुमा पुगेर स्वास्थ्य क्षेत्रमा आफुलाई स्थापित गरिसकेका छन् । अहिले १४ सय डक्टर, नर्स र अन्य कर्मचारीले नेपालगन्ज मेडिकल कलेजमा प्रत्यक्ष रोजगारी पाएका छन् ।
असफलता नै सफलताको प्रतिक हो भने झैं उनी प्रवेशीका परीक्षामा अनिवार्य अंग्रेजी विषय लागेर अनुर्तिण भएपछि जीवनले अर्कै मोड लियो । पढाईमा लगाव बढाएपछि कक्षा मात्रै होइन, काठमाडौं त्रिपुरेश्वरस्थित विश्वनिकेतन स्कुलकै टपर भए ( सन् १९६७ ), त्यसपछि उनी कहिल्यै दोस्रो भएनन् । लगनशिलता र संघर्षलाई अगाडि बढाउँदै काठमाडौंको त्रिचन्द्र कलेजबाट आइएससी टपर भए । कपिलबस्तु कृष्णनगरमा २२ अक्टुबर १९५२ सालमा बुवा ओम प्रकाश कनोडिया र आमा सावित्री कनोडियाको माइलो सन्तानको रुपमा उनी जन्मीएका हुन् ।
सन् १९७२ मा उनी सहित ८ जनाले (४ जना मेडिसिन र ४ जना इन्जीनियरिङ्गका) विद्यार्थीहरुले रुसको मस्कोस्थित पिपल्स फ्रेण्डशिप युनिभर्सिटीमा छात्रवृत्तिमा पढ्ने अवसर पाए । जहाँ ११ वर्ष अध्ययन गरेर डा. कनोडियाले सर्जरीमा विज्ञता प्राप्त गरे । कोर्ष सकिएपछि उनलाई घाना, केन्या लगायतका देशबाट कामको प्रस्ताव नआएको होईन । तर उनले आफ्नै देश रोजे । आफ्नै देशका जनताको सेवा गर्ने चाह राख्दै उनी नेपाल फर्किए ।
स्वास्थ्य मन्त्रालयमा गएर जागिरका लागि आवेदन दिए अनि विक्रम संवत् २०४० सालमा विर अस्पतालमा ९ महिना काम गरे । त्यसपछि डा.कनोडियाको कर्मथलो बन्यो–नेपालगन्ज । उनले नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा २०५४ साल सम्म (करिब १४ बर्ष) काम गरे । त्यहींको अनुभवले यस क्षेत्रको स्वास्थ्यको कहाली लाग्दो स्वास्थ्य अवस्था बुझ्ने मौका पाए । गरिबी, बेरोजगारी, चेतनाको अभाव आदि कारणले सामान्य रोगलाई पनि हेलचेक्र्याँई गरेर आफैलाई मृत्युको मुखमा पुर्याइरहेका जनताको बास्विकता अनुभव गरे । राम्रो उपचारका लागि छिमेकी मुलुक भारत वा राजधानी काठमाडौं जानुपर्ने बाध्यता थियो । पैंसा खर्च गरेर पनि राम्रो उपचार पाउन नसक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य संस्था खोल्ने सोंच र कदमलाई सार्थकता दिए ।
भारतीय नागरिक डिवाई पाटिलले स्थापना गर्न लागेको मेडिकल कलेज संचालनको प्रस्तावलाई स्वीकार्दै साथीभाईहरु र परिवारको सहयोगमा सन् १९९६ मार्च अर्थात बि.सं. २०५३ फागुनमा डिवाई पाटिलसँग सम्झौता गरी अर्को बर्षको साउन १ गते लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड दर्ता गरे । जस अन्तरगत सन् १९९७ अर्थात २०५४ सालबाट नेपालगन्ज मेडिकल कलेज संचालनमा आयो । निजी क्षेत्रबाट संचालनमा आएको सुविधा सम्पन्न मेडिकल कलेजबाट सेवाप्रवाह हुन थालेपछि मध्य तथा सुदूरपश्चिम क्षेत्रका नागरिकले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता धेरै हदसम्म टरेको छ ।
शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका डा. कनोडियाले दूरदराजका दुःखी गरिब विरामीहरुको सेवामा पनि उत्तिकै ध्यान पुर्याएको पाईन्छ । आङ खस्ने समस्याबाट पीडित मध्य र सुदुरपश्चिमका पहाडी तथा हिमाली जिल्लाका महिलाहरुका लागि भनेर उनले १८ वर्षयता अभियानै संचालन गरेका छन् । आङ खस्ने समस्या ब्यहोरिरहेका महिलाहरुका लागि उनले निशुल्क शिविर संचालन गरेर सेवा प्रवाह गरिरहेका छन् । त्यस्तै महामारी फैलिएका क्षेत्रमा विशेषज्ञ चिकित्सकहरुको टोली र औषधिको व्यवस्था गरेर पनि डा. कनोडियाले सामाजिक उत्तरदायित्व वहन गरिरहेकै छन् । जटिल प्रकारको क्यान्सरको उपचार व्यवस्था गर्ने तयारीमा डा. कानोडिया रहेका छन् ।
डा. कनोडियाले स्वास्थ्य शिक्षाको क्षेत्रमा विशेष योगदान गरेवापत राष्ट्रपतिबाट २०६७ साल जेठ १५ गते सुप्रबल जनसेवाश्री तृतीय प्राप्त गरेका छन् । ०४६ सालको प्रजातान्त्रिक आन्दोलन पछि उनले बाँके जिल्ला सरकारी कर्मचारी संगठनको प्रथम अध्यक्ष, नेपाल मेडिकल एसोसिएसनका केन्द्रीय उपाध्यक्ष (२०४८ – २०५०), नेपाल मेडिकल एशोसिएशन भेरी शाखाको अध्यक्ष (०६८–०७०) र एशोसिएशन अफ प्राईभेट मेडिकल तथा डेन्टल कलेज अफ नेपालका संस्थापक अध्यक्ष (०६५–०७१) रहेर सामाजिक गतिविधिमा पनि योगदान पुर्याईसकेका छन् ।
राजनीतिमा कनोडिया
लामो समयदेखि प्रजातान्त्रिक विचारधारामा आस्था राख्ने डा कनोडिया संविधान सभाको दोस्रो निर्वाचनमा क्षेत्र नम्बर ३ बाट समानुपातिक सभासद्का उम्मेदवार थिए । त्यसपछि अहिले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाका लागि नेपाली कांग्रेसका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका छन् ।
सबै नीतिको माउ नीति भनेकै राजनीति भएकाले आफूले नगरको बिकासका लागि मेयर पदमा उम्मेदवारी दिएको कनोडिया बताउँछन् । उनी भन्छन्– ‘एक्लो व्यक्ति वा निजी संस्थाले सबै क्षेत्रको विकास गर्नु सम्भव हुँदैन । तसर्थ नगरको समग्र विकासका लागि राजनीतिमा लागेको हुँ । राजनीति भनेको समाज सेवा बताउने डा. कनोडियाले राजनीतिलाई पेशा र व्यवसाय बनाउनेहरुका कारण समस्या भएको मान्छन् । राजनीतिलाई व्यवसाय बनाउनेहरुकै कारण देशको विकास तीब्र गतिमा हुन नसकेको, दण्डहिनता बढेको र भ्रष्ट्राचारले प्रश्रय पाइरहेको उनको ठम्याई छ । नेपालगन्जका समस्याहरुबाट उनी अछुतो छैनन् । भौगोलिक, सामाजिक–सांस्कृतिक र समुदायगत वस्तुस्थिति पनि उनले बुझेका छन् । नगरको फोहर वयवस्थापन, सडक अभाव , ढल निकास, लोडसेडिङ् जस्ता समस्या पनि उत्तिकै छ । स्वास्थ्य क्षेत्रमा लामो समय व्यवस्थापनको जिम्मेवारी कुशलतापूर्वक पुरा गरिसकेका डा.कनोडियाले ५ बर्ष ः ५ प्रतिवद्धता सार्वजनिक गरिसकेका छन् । प्रतिवद्धता पत्रमा डुवान र फोहरमुक्त समुन्नत शहर निर्माण गर्ने, सडक सञ्जाल विस्तार गर्ने र पयर्टन हबका रुपमा विकास गर्ने कुरालाई प्राथमिकता दिइएको छ ।
कनोडियाको ५ बर्षका ५ प्रतिवद्धता
भौतिक बिकास
नेपालगंजको भौगोलिक अवस्था, रणनैतिक महत्व, अन्तर्राष्ट्रिय सीमाको कारणले सृजित अवसरलाई उपयोग गर्दै यस क्षेत्रकै समुन्नत शहरको रुपमा बिकास गरिनेछ ।
नेपालगन्जलाइ महानगरपालिका बनाउन तत्काल पहल गरिनेछ । डिजिटल नेपालगन्जको गुरु योजना तयार गरि आधुनिक शहर निर्माण गरिने छ ।
गुणस्तरिय सडक संजालको निर्माण, जिर्ण सडकको मर्मत तथा स्तरोन्नती, बैज्ञानिक ढल निकास प्रणाली बिकास गरी ‘कहिल्यै नडुब्ने नेपालगंज’ को निर्माण गरिनेछ ।
पश्चिम नेपालकै प्रमुख हवाई मार्गका रुपमा रहेको राँझा विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नती गर्न पहल गरिनेछ ।
प्रसस्त संभावना भएता पनि मानव बिकास सुचकांकमा ३६ औं स्थानमा रहेको बाँके जिल्लालाई आगामी ५ बर्षमा ५ नम्बरमा पार्ने गरि योजना कार्यान्यवयन गरिनेछ । प्रतिव्यक्ति आय १३३३ बाट न्युनतम २००० मा पुर्याउने गरि आय आर्जनका कार्यक्रमहरु संचालन गरिनेछ ।
भेरी बबइ डाइभर्सन आयोजना र सोबाट बबइ सिंचाइ आयोजनामा बढ्ने पानीको मात्राको समुचित प्रयोग गरि उपमहानगरपालिका भित्रका राजमार्ग उत्तरका स्थानमा सिंचाइको सुबिधा पुर्याइनेछ ।
उप महानगरपालिकाका सबै गाउँ–वस्तीमा सहज पहुँच हेतु चक्रपथ निर्माण गरिनेछ साथै अन्तराष्ट्रिय व्यपार बिस्तारको निम्ति प्रस्तावित सुख्खा बन्दरगाहको संचालन प्रकृयालाई तिब्रता दिइनेछ ।
प्लाष्टिक मुक्त नगर प्रति प्रतिबद्धता जनाउँदै स्वच्छ – सफा नेपालगंज निर्माणको निम्ति सुर्योदय अगावै फोहोर उठाइनेछ । निर्माणाधिन फोहोर व्यवस्थापन केन्द्र (ल्याण्डफिल साइट) लाई संचालनमा ल्याइनेछ । फोहोरबाट नविकरणिय उर्जाको संभावना पहिचान गरि सोको व्यवस्था मिलाइनेछ ।
ओझेलमा परेको रानी तलाउ (कान्ति ताल ), पुरैना ताल–तलैया, धम्वोझी स्थित वाटरपार्कलाई अत्याधुनीक पर्यटकीय केन्द्रका रुपमा विकास गरिनेछ ।
सार्वजनिक – निजी साझेदारीलाई प्रोत्साहित गर्दै नगरमा वृहत सभागृह, सहकारी बैंक, कोल्ड स्टोर, थप प्राविधिक शिक्षालय, खेद मैदान, व्यवस्थित आवास, ज्येष्ठ नागरिक मिलन केन्द्र, कृयापुत्री घर, शब दाहगृह र कब्रिस्तान आदि निर्माण सञ्चालन गरिनेछ ।
नेपालगन्जमा विश्व विद्यालय स्थापना , प्रत्येक वडामा स्वास्थ्य केन्द्र र भेरी अञ्चल अस्पतालको स्तरोन्नती गरिनेछ र प्रत्येक नगरबासीले आधारभुत र आपतकालिन सेवा निशुल्क प्राप्त गर्ने व्यवस्था अवलम्बन गरिनेछ ।
व्यवस्थित बसपार्क सहितको ‘अटो भिलेज’ तथा नगर बस , ट्याक्सी र रिक्सा स्टैण्डको निर्माण गरिनेछ ।
आर्थिक सम्बृद्धी
व्यवस्थित औद्योगिक क्षेत्र निर्माण, पर्यावरणीय हिसाबले जोखिम जन्य उद्योगहरुलाई स्थानान्तरण गरि दिगो बिकास सहितको औद्योगिक सम्बृद्धिको खाका कोरिनेछ ।
उद्योग र कलकारखाना निर्माणको निम्ति सहज रुपमा जग्गाको प्राप्ति, सहुलियत दरमा लिजरपरचेजको व्यवस्था मिलाइनेछ ।
उद्योगी र व्यवसायीलाई व्यवसायिक र भौतिक सुरक्षाको प्रत्याभुति दिइ लगानी मैत्री वातावरणको सृजना गरिनेछ ।
मान सरोवर, रारा, से–फोक्सुण्डो, बाँके र बर्दिया राष्ट्रिय निकुन्ज, स्वर्गद्वारी र बागेश्वरी मन्दिर आदिको प्रवेशद्वारको रुपमा रहेको नेपालगन्जलाई पर्यटकिय हबका रुपमा विकास गरिनेछ ।
होटेल व्यवसायलाई व्यवस्थित र पर्यटनमैत्री बनाइनेछ ।
सिंचाईको समुचित व्यवस्था गर्न राजमार्ग दक्षिणका सबै स्थानमा सिक्टा सिंचाई आयोजनाको बिस्तार गरिनेछ ।
नेपालगन्ज आसपासमा रहेका तरकारी, फलफुल, पशुपालन, माछा खेतीको सम्भावना रहेका ‘पकेट जोन’ को पहिचान गरि सोको प्रवर्द्धनका निम्ति आवश्यक रणनीति तय गरिनेछ ।
एकिकृत कृषि प्रणालीलाई प्रोत्साहन गर्न चक्लाबन्दी, बाँझो जग्गालाई लिजमा लिने, सहुलियत व्याजदरमा ऋण प्रवाह आदि सम्बन्धि ठोस नीति तर्जुमा गरिनेछ ।
युवा स्वरोजगारितालाई बढावा दिन सहुलियत ऋण, व्यवसायिक तालिम, शीपमुलक शिक्षाको व्यवस्था गरि बैदेशिक रोगजारमा जान पर्ने बाध्यताको अन्त्य गरिनेछ ।
खाद्य र दुग्ध कोल्डस्टोरको स्थापना, मलखाद र बिउ र कृषि उपकरणमा अनुदान र प्राविधिक सहयोग तथा कृषि उपजका निम्ति उचित बजार व्यवस्थापन गरिनेछ ।
जडीबुटी खेती तथा व्यवसायलाई प्रवर्द्धन गरिनेछ ।
जीवनस्तर प्रवद्र्धन
सम्पुर्ण नगरबासीहरुलाई स्वच्छ र प्रशोधित खानेपानीको व्यवस्था गरिनेछ ।
सार्बजनिक सौचालय एवं ‘एक घर एक चर्पी’को अभियानलाई शसक्त रुपमा कार्यान्वयन गरी स्वच्छ,सफा शहर निर्माण गरिनेछ ।
नगरबासीहरुलाई आफ्नो घरआँगनमा रुख रोप्न प्रोत्सहान गर्ने, सार्बजनिक स्थानहरुमा बगैंचा निर्माणमा निजी क्षेत्रसँग साझेदारी गर्ने र अन्य खाली ठाउँहरुमा उप महानगरपालीकाको अग्रसरतामा बृक्षारोपण गरि नेपालगन्जलाई ‘ग्रिन सिटी’ को रुपमा बिकास गरिनेछ ।
हालको भेरी अंचल अस्पताललाई आगामी ३ बर्षमा कम्तिमा ३०० शैया, ५ बर्षमा ५०० शैया र १० बर्षमा १००० बेड सहितको मल्टी स्पेसियालिटी रिफरल अस्पतालको रुपमा बिकास गरि प्रदेशका साथै देशकै नमुना अस्पताल बनाइनेछ ।
सामाजिक स्वास्थ्य बिमा कार्यक्रम अनिवार्य रुपमा लागु गर्ने, आर्थिक रुपमा बिपन्नहरुको प्रिमियम नगरपालीकाले व्यहोर्ने गरि स्वास्थ्य सेवा पाउने संबिधान प्रदत्त अधिकारको सुनिश्चितता गरिनेछ ।
आकस्मिक उपचार कोषको स्थापना गरि गरीब, असहाय, बिपन्न, घरेलु हिंसा पिडीत र असाध्य रोग लागेकाहरुलाई निशुल्क उपचार वा उपचारमा राहतको व्यवस्था गरिनेछ ।
जलेका बिरामीहरुको निम्ति पुर्नस्थापना केन्द्र, जन्मजात रुपमा र दुर्घटना वा अन्य कारणले अपाङ्गता भएका व्यक्तिहरुको निम्ति होस्टेल र अन्तिम चरणका क्यान्सरका बिरामीहरुलाई ‘होस्पिस’ को व्यवस्था गरिनेछ ।
हरेक बालबालिकालाई माध्यामिक तहसम्म निशुल्क शिक्षाको ग्यारेन्टी गरिनेछ । गरीब–जेहेन्दार तथा सिमान्तकृत वर्गका बिद्यार्थीहरुलाई उच्च शिक्षामा छात्रबृत्ति दिइनेछ । व्यवसायिक तथा शीपमुलक शिक्षालाई बढावा गरिनेछ । भेरी प्राबिधिक शिक्षालायलाई प्राविधिक महाबिद्यालयको अवधारणामा अघि बढाइनेछ ।
मदरसाहरुलाई राज्यको मुल प्रवाहको शिक्षा प्रणालीसँग समायोजन गरिनेछ ।
शहरमा चौबिसै घन्टा निर्वाध रुपमा संविधान प्रदत्त गतिबिधिहरुको अभ्यासका निम्ति चुस्त सुरक्षा व्यवस्था मिलाइनेछ । सो को निम्ति सिसिटिभी क्यामेराद्वारा निगारानी तथा कुनै पनि समय नागरिकका समस्या सुन्ने व्यस्थाको निम्ति हटलाइन सेलको व्यवस्था गरिनेछ ।
सांस्कृतिक बहुआयामिकता
विभिन्न धर्म, समुदायबीच भाइचाराको सम्बन्धलाई अक्षुण राख्दै सामाजिक सद्भावलाई प्रगाढ बनाइनेछ ।
ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक (मठमन्दीर, मस्जिद, धर्मशाला, कर्वला लगायत) क्षेत्रर स्थानको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन गरिनेछ ।
कला र साहित्य र संस्कृतिको जगेर्ना तथा स्रष्टाको सम्मान गर्दै समग्र उत्थान र विकासका लागि अग्रसरता देखाइनेछ ।
मातृ तथा स्थानीय भाषा, कला र साहित्यको संरक्षण, सम्वर्द्धन गरिनेछ ।
उप महानगरपालिका क्षेत्र भित्र सार्बजनिक निकायका जग्गाको पहिचान गरि सो को अधिकतम प्रतिफल आउने गरि व्यवस्थापन गरिनेछ ।
बिभिन्न धर्मका धर्मावलम्बी र तिर्थ यात्रुको निम्ति धर्मशाला निर्माण गरिनेछ ।
नेपालगन्जको पहिचान बनेको टाँगालाई सांस्कृतिक पहिचान दिंदै निश्चित क्षेत्रमा टाँगा मात्र संचालन गरिनेछ । प्रविधिको बिकाससँगै आएका नयाँ यातायातको साधनबाट बिस्थापित बनेका परम्परागत टाँगा व्यवसायीलाई वैकल्पिक रोगजारी वा शिपमुलक तालिमको व्यवस्था गरिनेछ ।
सामाजिक न्याय तथा सुशासन
मेयरको तलबभत्ता सामाजिक कार्यमा खर्च गरिने छ ।
समाजमा रहेका सबै जात जाति, लिङ्ग, वर्ग, वर्ण, धर्म, समुदायका व्यक्तिहरुलाई राज्यबाट प्रदत्त अधिकारको उपयोगको सुनिश्चितता गरिनेछ ।
भ्रष्टाचारमा सुन्य शहनशिलताको नीति अंगिकार गरिनेछ ।
राज्यका निकायबाट प्रदत्त सेवाहरुमा तदारुकता रहनेछ ।
सुचनाको हकलाइ प्रभावकारी बनाइनेछ । सो को निम्ति प्रत्येक वडामा सुचना केन्द्रको स्थापना गरिनेछ ।
दण्डहिनताको अन्त्य तथा कानूनी शासनलाई प्रभावकारी बनाइनेछ ।
भौतिक संरचना निर्माण गर्दा अपाङ्गता, महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक,जेष्ठनागरिक, बालबालिका मैत्री बनाइने छ ।
राज्यका सबै निकायहरुसँगको सहकार्य, समन्वयका आधारमा बिकास र निर्माणका कार्यहरु अगाडी बढाइनेछ ।
लागुऔषध दुव्र्यसनीको रोकथाम,पुर्नस्थापना र सेवामुलक रोजगारीको व्यवस्था गरिने छ।
सम्पुर्ण नगरबासीको अभिलेख राखिनेछ । गरीब परिचय पत्र वा राहतकार्डको व्यवस्थ गरि गरीबीको रेखामुनि रहेकाहरुलाई सुलभ दरमा खाद्यान्न र आवासको व्यवस्था गरिनेछ । छाप्राहरु विस्थापित गरी टिनरजस्ता उपलव्ध गराइनेछ ।
अशक्त, अपाङ्ग, असहाय, बेरोजगार महिलाका लागि आय आजर्नका कार्यक्रम सञ्चालन गरिनेछ तथा कानुनी समस्या परेकाहरुलाई निशुल्क कानूनी सेवा प्रदान गरिनेछ ।
सामाजिक सुरक्षा भत्ता घर–घर मै उपलव्ध गराइनेछ । नगरको आयबाट धान्ने देखिएमा जोखिममा रहेका वर्गलाई आर्थिक सहययता वा अन्य राहत उपलब्ध गराइनेछ ।