arrow

झापा–गर्मी छल्न राजधानी पसेका ‘खड्ग–श्रीमान्’ले आचारसंहितालाई ‘अचार’बनाएपछि

logo
वसन्तप्रकाश उपाध्याय,
प्रकाशित २०७४ असार १३ मंगलबार
basanta-prakash-upadhaya.jpg

एक ‘गाछी–छाप’ पार्टीका शुभचिन्तक भेटिए । उनले भने – ‘असार १४ गते त ठूलो पानी पर्छ भन्ने सुनेको छु । ठूलो पानी परेपछि सौखिन–नेता एवं कार्यकर्ताहरु भोट हाल्न नजालान् नि फेरि ।’ 

मन पोलेर हृदयदेखि गरिएको टिप्पणी थियो यो । वास्तवमा एकाध घण्टा दुःख गर्न छाडेर घरमै बस्दा धेरै कुरा हातबाट उम्कन सक्छ । यो बुझ्नु जरुरी छ– टी सर्ट र क्याप लगाएर ‘म्यारिज’ खेलेर बस्दा ‘चुनावी–माल’ अर्कालाई पर्छ । तास फिटेर बस्दा होइन, ‘साथ–मिलेर’ हिंड्दा ‘विजयश्री’ हात पर्ने हो ।

‘मौन’ अवधि थियो हिजो । तर ‘चर्को–हल्ला’ गरियो धुम्बाराहीतिर । झापा–गर्मी छल्न राजधानी पसेका ‘खड्ग–श्रीमान्’ले आचारसंहितालाई ‘अचार’ बनाउँदै बोले –‘सद्दाम र मार्कोस हो ऊ ।’ भय र आतुरपनमा उनले यसपटक ‘जोक’ सुनाएनन् । ‘हाँस्न’ भेला भएकाहरु अचम्ममा पर्दै थिए । 

हामीले सुनेकै हो– असल मान्छेले कहिलेकाहीं ‘तोलाको जीब्रो’ फड्कार्नुभन्दा धार्नीको टाउको हल्लाउनु निको हुन्छ । दुर्भाग्य, यहाँ त केही मान्छेहरु तोलाको होइन, खोलाको भ्यागुता सरह जहींतहीं नाकाम परिवेशमा ‘ट्वार्रट्वार्र’ गरिरहेका हुन्छन् । छुद्र बोली बन्दुकबाट निस्कने गोलीभन्दा ‘घातक’ हुन्छ । बोलीमा जसले विचारको तौल राख्दैन, एकदिन ऊ सर्वथा ‘हावादारी’ प्रमाणित हुन्छ ।

बोल्नेले बोलेका कुरा लेख्नेले लेखेर समाचार बनाइन्छ हामीकहाँ । बोलेको कुरामा ‘तर्क र तटस्थता’ खोज गरिंदैन । सद्दाम–संस्कृति र मार्कोस–मनोवृत्तिका घैलाडुब्बेहरुले जीतपछि बाँडिदिने ‘भत्ता’ कल्पनामा रमेझैं फुर्केर हामी ‘ब्यानर न्यूज’ बनाउँछौं । चन्द्रगढीका आफ्नै ‘कथा’ छन् । विर्तामोडको ‘व्यथा’मा कुनैवेला पार्टी कार्यालयमै पासो लगाएका राजवंशीको ‘फलो–अप’ खै ? 

हारको ज्वरोको बर्बराइ हो कि बेजोड पीडाको सन्निपात हो ? हामीले चिकित्सीय स्वरुपमा पत्रकारिताको ‘स्थेथोस्कोप’ लगाउँदैनौं, उल्टो मन परेकाको ‘नाडी’समाएर नबुझिने अक्षरको टिपोटमा ‘वाइलाइन’को कल्पना गर्छौं ।

देउवा–कर्मको दौडधूपमा छन् । मन–मत जित्न सिटौला–विश्वप्रकाश पैतलामा ठेला पारिरहेका छन्, पसिना वगाइरहेका छन् । चुटकिला सुनाएर मनोरञ्जन–मसला खोज्न फर्केनन् पौडेल राजधानीतिर । 

चुनावको एकदिन अघि राजधानी रमणमा रम्दै ‘ब्रेकिङ् न्यूज’ बनाउन खोज्ने यो कस्तो मनोवृत्ति हो ? चरम् हैकम र नागरिक माथिको नजरअन्दाजको योभन्दा बलियो उदाहरण अरु के हुन सक्छ ? महरादेखि टोपबहादुर अनि बालकृष्णसँगै एन.पी. र रमेश–गगनहरु बेफुर्सद भइरहेका बेला यो ‘गनगन’ किन गरिएको हो ? बुझ्नेले बुझ्नुपर्छ मौकामै ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ