arrow

अनुत्तरित छन् अनेकौं ‘साझा–सवाल’हरु

logo
वसन्तप्रकाश उपाध्याय,
प्रकाशित २०७४ असार १९ सोमबार
basanta-prakash-upadhaya.jpg

अनुत्तरित छन् अनेकौं ‘साझा–सवाल’हरु यहाँ। जवाफ खोज्ने फुर्सद छैन हामीलाई। बोल्न जानेका छौं हामीले र ‘बकबक’ गर्दछौं जहींतहीं। हामीले कहिल्यै बोलेनौं – जाबो पोलियो थोपा नपाएर दह्रो उभिन नसकेका खुट्टाहरुको पीडामाथि । हामीले कुनै दिन हतार गरेनौं – ‘आयो–नून’ नपाएर घाँटीमा झुण्डिएको ‘गलगाँड’को मर्मबारे बोल्न । लाखौं आँखा त्यत्तिकै ‘रतअन्धो’को शिकार बने । हज्जारौं–हज्जारको ‘आङ’ त्यत्तिकै खसिरह्यो, हामी चुपचाप बस्यौं ।

एकदिन अचानक छोरीको स्कुलबाट फोन आयो । खबर सुनें– ‘छोरी लडिछिन् ।’ होसहवास गुम भयो । दुष्कल्पनाका अनेकन् ‘ज्वार’ चले मनमा । घण्टा पनि नलगाएर स्कुल पुगें । खेल्दै गर्दा लडेर थोरै दछारिएको रहेछ । घर–परिवार र परिवेशलाई कति धेरै माया गर्छ मान्छे ! थोरै चोटमा मन मस्तिष्क कसरी उद्वेलित हुन्छ ! कसले खप्न सक्छ – आफ्ना दरसन्तानको पीडा !

ठ्याक्कै त्यसैगरी होइन, त्योभन्दा भयानक र हृदयविदारक परिवेशमा एकताका एउटा अभिभावकले भोगेका थिए – असीम पीडाको उहापोह । सर्सराउँदो, स्फूर्त र स्वस्थ्य शरीर र वचन बोकेर राजधानीबाट फर्केको छोरोसँग पाशविक यातानाले ‘बुलन्द–आवाज’ लुटेको थियो । कल्पना गर्न सक्छ कोही ? अस्तिसम्म दमदार बोल्ने जीब्रो हराउँदा कसरी सहे होलान् ? ती अभिभावकले ।

रोएर आँसु सकिन्थ्यो होला। कराउँदा स्वर भासिन्थ्यो होला। बुझाउनुपर्ने एउटै चित्त थियो र उनीहरुले चित्त बुझाए। परिवर्तनकामी समरले आवाज लुटे पनि शरीर नासिएको थिएन । युद्ध मैदानमा भाग्ने ‘स्याल’हरुभन्दा धेरै–धेरै बहादुर ‘शेर’ थियो ऊ। मुलुक–मुहार फेर्न हिंडेको छोरोमाथि गर्व गरे अभिभावकले।

समयक्रममा यही पीडामाथि ‘धावा’ बोलिरहेछन् मान्छेहरु। सबै ‘सवाल’का जवाफ सुन्ने फुर्सद छैन हामीलाई। परिवर्तन–पीडाको एक लठ्ठी पनि नभोगिकन हामीलाई ‘मिष्टर–नेपाल’ बन्ने शरीरमा फूर्ति गर्नु छ । के जिन्दगीले टेलिभिजन स्क्रिनमा देखिने समाचार–वाचकको झैं ‘माइक अनुकूल’को स्वरलाई मात्रै स्वीकार्ने हो र ?!

जतिसुकै कुरुप विम्ब बनाइयोस् – ‘मेरी बास्सैमा सुकुनारायण र हर्के हल्दार’लाई। ती सामाजिक संरचनाका प्रतिनिधि पात्र हुन्। उनीहरुमाथि हाँस्नु बेकार छ।

भ्रम छ कैयौंलाई। उनीहरुले ठानेका छन्– युवावयको गालाजस्तै समय सधैं ‘चिल्लो–चाप्लो’ रहन्छ। बालहठको खोजीजस्तै दिनहरुमा सधैं ‘मिठास’मै बित्छ। अचेल अलि भ्रान्ति छ दंगल–परिवेशलाई। उनीहरुलाई पत्तो नै छैन – ‘गेष्ट र होष्ट’ बीचको फरक। उनीहरु त्यसैले हायलकालयल गराउन उद्यत बन्छन्। पाहुना बोलाएर आयोजकले तथानाम गर्ने प्रवृत्ति हावी देखिन्छ यत्रतत्र।

– ‘दाइ ! एउटा कुरा सोधुँ ?’ दिपेश भाइले भने। 
– ‘भन न , के भाइ ?’ मैले जवाफ दिएँ। 
– ‘तपाईं यहाँसम्म कसरी आइपुग्नुभयो ?’ उनले थपें। 
– ‘लामो छ कथा। तिमी सुन्छौ ?’ मैले हाँस्दै भनें। 
– ‘धेरैबेर लाग्छ भने त भो नसुनौं।’ दिपेश हतारिए।

हो, अहिले यस्तै दिपेश जस्तै ‘हतार’मा रहेका ‘भाइहरु’ छन्। जसलाई धेरै प्रश्नहरु त गर्नु छ तर जवाफ सुन्ने ‘फुर्सद’ चाहिँ छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ