- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
"लि क्वान यु लाई सिङ्गापुर दिंदा ढुङ्गा दिइएको थियो, उनले हीरा बनाए, तपाईंलाई नेपाल तपाईंको हातमा दिंदाखेरि हीरा दिइएको थियो, तपाईंले ढुङ्गा बनाउनुभो"
अवश्यनै, देश अपेक्षाकृत रुपमा विकाश हुन सकेको छैन। तर यसको दोष केवल एक देउवा या एक प्रचण्ड या कोही एकलाई मात्रै जाँदैन। उनी जेजस्ता भएपनि यो देशका प्रधानमन्त्री पदमा आशिन व्यक्ति हुन्। जनता अर्थात हामीलेनै चुनेर गएका व्यक्ति हुन्। हामीले दिएको भोटले चुनाव जितेरै उनी त्यहाँ पुगेका हुन्। हामीले भोट दिइरह्यौं, उनले जितिरहे। यो यथार्थ हो। कार्यक्रम जहाँ भैरहेको छ, त्यो ठाउँ हाम्रो देशको प्रधानमन्त्री कार्यालय हो।
कार्यक्रममा प्रधानमन्त्रीले बहालवाला प्रधानमन्त्रीका रुपमा सार्वजनिक विद्यमान गुनासाहरुलाई आफ्नो तर्फबाट सम्बोधन गरिरहेका छन्। यसैका बीचमा यो प्रश्न सोध्नुपर्ने औचित्य के त? जसको तादात्म्य न चलिरहेको बहससंग छ, न उठ्नुपर्ने बहससंग छ। एक शिक्षित युवाले आफ्नो देशका प्रधानमन्त्रीमाथि आधिकारिक रुपमा जिज्ञासा राख्ने शैली यो होइन।
यता र उताका सबै उदाहरण जानेको मान्छेले शीष्टता भन्ने कुरा किन नजानेको? तपाईंलाई के लाग्छ, तपाईंकै शैली अरु युवाले पनि अपनाऊन्? यस्ता प्रचारात्मक शैलीको स्टन्टले वास्तविक नेपाली युवाको परिचय दिंदैन।
स्मरण रहोस्, देउवा आफैंपनि एक जमानाका तीक्ष्ण विद्यार्थी हुन्। उनले राजनीतिशास्त्रमा डिग्री गरेका छन्। मानविकीमा स्नातक र कानूनमा एलएलबी हुन्। लण्डन स्कुल अफ इकोनोमिक्समा रिसर्च फेलोसिपको निम्तो पाउने केही सिमित नेपाली विद्यार्थीहरुमध्ये उनी एकमात्र प्रधानमन्त्री हुन्।
सबै बेलायती प्रधानमन्त्रीले अक्सफोर्डमा पढेका होइनन्। यस्तो तथ्यहीन कुरा किन गरेको? सबै देशमा सबै उत्कृष्ट विद्यार्थीमात्रै प्रधानमन्त्री बनेका छैनन्। अक्सफोर्डमा पढ्ने व्यक्तिमात्रै उत्कृष्ट र अरु निकृष्ट भनेर भन्न मिल्दैन।
मुख्य प्रश्न भनेको कसले कति पढेको र नपढेको भन्ने होइन। महात्मा गान्धीले आफ्नो स्कुल तेस्रो डिभिजनमा पास गरेका थिए। उनी संसारकै महान नेतामा गनिन्छन्। अमेरिकामा हालसम्म भएका ४५ राष्ट्रपतिहरुमध्ये १२ जनाले कि त पढाइ बिचैमा छोडे, कि त फेल भए। युकेका ५२ प्रधानमन्त्रीमध्ये ५ ले कहिल्यै युनिभर्सिटीको मुख देखेनन्।
पढेका व्यक्तिहरु माथि नजानु समस्या होइन। उपयुक्त व्यक्तिहरु नजानुचाहिँ समस्या हो। माथि जानेको मात्रै गल्ती छैन यहाँ। माथि पठाउनेको पनि गल्ती छ। त्यसकारण यो देश सिर्फ नेताले बिगारे भन्न मिल्दैन। हामीजस्ता पढेलेखेकै व्यक्तिहरुले तिनको पक्षपोषण गरेकाले तिनीहरु माथि पुगे। उपयुक्त पात्रको छनौटमा हामी बारम्बार चुकेकै हो। पढेलेखेकाले मात्रै देश बनाउने भए तिनै पढेलेखेकाहरुको नाम चरम भ्रष्टाचारमा यतिबेला किन आइरहेको छ?
तसर्थ, युवा भएर सकेसम्म तथ्यगत कुरा गर्नु उपयुक्त हुन्छ। प्रचारात्मक शैली अपनाएर गाली गर्नाले मात्रै यो देश माथि पुग्ने होइन। शेरबहादुरलाई स्यालबहादुर र पुष्पकमललाई फुस्सकमल भन्दै भाषण दिएर देश अगाडि लाग्नेभए सबैले यसै गर्दै गए भो। आआफ्नो ठाउँबाट सकेको केही गरेमा अवश्य एकदिन यी खराब तत्त्वहरु विस्थापित हुनेछन् र सही मान्छेले अवसर पाउनेछ। अहिलेलाई हामी पहिला संस्कार सिकौं। बोल्न सिकौं, आफ्नो कुरा राख्न सिकौं।