arrow

प्रधानमन्त्रीका प्रेस संयोजक परियार भन्छन्–‘समावेशीतामा देउवा साँच्चिकै हिरो’

logo
सुवास निरौला,
प्रकाशित २०७४ असार २९ बिहिबार
gobinda_pariyar.jpg

काठमाडौं। चौथो पटक प्रधानमन्त्री भएपछि काँग्रेस सभापति शेरबहादुर देउवाले गठन गरेको मन्त्रिपरिषद समावेशी नभएको भन्दै आलोचना भयो। 

पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्दा छुटाउनै नहुने दलित र महिला छुटेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भएको हो। यतिसम्म कि प्रधानमन्त्री देउवाले ११औँ काँग्रेस महाधिवेशनले अनुमोदन गरेको र आफैले ल्याएको कर्णाली–दलित– महिला–जनजाति–मधेसी (कदमजम) को अवधारणा नै कुल्चेकोसम्म आलोचना भयो। प्रतिनिधित्वको विषयमा नआत्तिन भन्दै प्रधानमन्त्री देउवाले दलित, महिलाको उचित प्रतिनिधित्व हुने बताए। र, बताइरहेका छन्। नभन्दै प्रधानमन्त्री देउवाले आफ्नो अवधारणालाई उचाई दिएका छन्। 

देउवाले यसअघि महिला, दलित र मुस्लिम आयोगको लागि महत्वपूर्ण पहल गरेका छन्। अहिले देउवाले आफ्नो प्रेस संयोजक सिमान्तकृत समुदायबाटै राखेर कदमजमको अवधारणालाई उचाई दिएका हुन्। 

नेपालको संविधानले उद्घोष गरेको समावेशी समनुपातिक प्रतिनिधित्वको प्रणाली कार्यान्वयनमा समेत प्रधानमन्त्री देउवा दुरदर्शी देखिएका छन्। उनले आफ्नो प्रेस संयोजक दलित समुदायबाट छानेका छन्। यस्तै, प्रधानमन्त्री देउवाले महिला र दलित समुदायको क्याबिनेट स्तरियमन्त्री बनाउने तयारी गरेका छन्। 

यसअघि, फरमुल्लाह मन्सुरलाई मन्त्री बनाएर मुस्लिम र प्रभू साहलाई मन्त्री बनाएर सकारमा मधेसीको प्रतिनिधित्व गराइसकेका छन्। पछिल्लो समयमा पत्रकार गोविन्द परियार प्रधानमन्त्रीको प्रेस संयोजक नियुक्त हुनु सिमान्तकृत र अल्पसंख्यक समुदायबाट राज्यका विभिन्न निकायमा संख्यात्मक रुपमा मात्र नभई गुणात्मक रुपमा समेत बढ्यो भन्ने एक उदाहरण हो। 

मुलुक लोकतान्त्रिक गणतन्त्रमा गएपछि सबै क्षेत्रमा समावेशी समानुपातिक प्रतिनिधित्वको अभ्यास भइरहेको छ। यद्यपि, यसअघिका सरकारमा महिला, आदिवासी जनजाति र मधेसीको प्रतिनिधित्व भएपनि दलित समुदायको गुणात्मक उपस्थिति देखिएको थिएन।

को हुन् गोविन्द परियार ? 
२०३५ साल माघ १० गते तनहुँको भानु नगरपालिकामा जन्मिएका गोविन्द परियार प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस संयोजक भएका छन्। देशको कार्यकारीको प्रेस संयोजकको जिम्मेवारी उनले पाएका छन्।

जनजागृति माध्यमिक विद्यालयबाट २०५२ सालमा प्रवेशिका परीक्षा (एसएलसी) पास गरेका परियार सानैदेखि पत्रकारितामा रुचि राख्थे। पत्रकारिताप्रति सानैदेखि आकर्षण थियो। सात–आठ कक्षा पढ्दैदेखि भित्ते पत्रिका निकालेको र  सम्पादन गरेको अनुभव परियारले सुनाए। त्रिचन्द्र कलेजबाट स्नातक गरेका परियारले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। २०५७ सालबाट नेपाली पत्रकारिता क्षेत्रमा औपचारिक रुपमा प्रवेश गरेका परियारसँग अमेरिकाको ओहायो विश्व विद्यालयमा आमसञ्चार विषयमा ६ महिने कोर्ष, लण्डन थम्स इन्टरनेशनल  कलेजमा आधुनिक पत्रकारिता र मल्टि मिडिया सम्बन्धि ६ हप्ताको कोर्ष गरेको ज्ञान छ। यस्तै, उनले अष्ट्रेलियाको लेज अवार्डमा ६ हप्ताको कोर्ष गरेका छन्।

प्रजातान्त्रिक विचारसँग निकट उनी सानैबाट वीपीको राजनीतिबाट प्रभावित भए। परियारले समय साप्ताहिक पत्रिका, नागरिक राष्ट्रिय दैनिक र अन्नपूर्ण पोष्टमा लामो समयसम्म बरिष्ठ सम्वाददाताको रुपमा काम गरिसकेका छन्। वीपीले बोकेको विचारको अनुसरण र आफ्नो क्षमताकै कारण आफु यहाँसम्म आइपुगेको सुनाए। उनले भने, ‘वीपी निकै समावेशी थिए। वीपी पछि शेरबहादुर देउवामा पनि त्यो राजनीतिक गुण रहयो। देउवा पहिले र अहिले समावेशी छन् भन्ने प्रमाण हो। म प्रेस संयोजक बन्नु।’ 

आफु यो स्थानमा आउनुले आम दलित समुदायमा सकारात्मक सन्देश प्रवाह भएको परियारले बताए। उनले भने, ‘अब समाजले दलितको पक्षमा काम गर्ने पार्टी काँग्रेस हो भन्ने बुझ्न सक्नु पर्दछ। यसको जस शेरबहादुर देउवाले पाउनै पर्दछ।’

सिमान्तकृत समुदायको उपस्थिति राज्यको प्रमुख निकायसम्ममा पुऱ्याउने श्रेय प्रधानमन्त्री देउवालाई जाने उनको भनाई छ। उनले भने, ‘प्रधानमन्त्रीको प्रेस संयोजक हुन लामो समय पत्रकारितामा रहेका र सम्पादक भइसकेका व्यक्तिहरु पनि इच्छुक थिए। प्रधानमन्त्री देउवासँग यअघि निकट रहेर काम गरेका व्यक्तिहरु समेत प्रेस संयोजकका आकांक्षी थिए। तर, प्रधानमन्त्री देउवाको दुरदर्शीताले एक दलित समुदायकोे व्यक्ति उहाँको प्रेस संयोजक हुन पुग्यो।’

यसअघि सिमान्तकृत समुदायका व्यक्तिलाई जिम्वेवारी दिएपनि कम महत्वका  मन्त्रालय दिने, समितिको सभापति दिए पनि कम महत्वकैमा राखिदिने र औपचारिकता निभाउने चलन थियो। त्यो तीतो यथार्थलाई चिरेर प्रधानमन्त्रीले आफुलाई यो स्थान दिएको भन्दै प्रशंसा गरे। वीपीले आफ्नो कार्यकालमै देखाएको समावेशीता प्रतिनिधित्वको उदाहरण शेरबहादुर देउवाले समेत प्रस्तुत गरेको उनको भनाई छ।

नेपाली काँग्रेसको स्थापनाकालमै दलितलाई केन्दीय सदस्य बनाइएको र २०१२ सालमा धनबहादुर परियारलाई महामन्त्री बनाएको प्रसङ्ग उल्लेख गर्दै प्रेस संयोजक परियारले काँग्रेसले क्षमता भएका व्यक्तिलाई सँधै उपयुक्त स्थान दिँदै आएको बताए। काँग्रेस हिजो पनि विभेदरहित थियो आज पनि त्यही छ। 

वीपीकै सोचबाट देउवाले नै पार्टीलाई पूर्ण समानुपातिक बनाउन खोजेको उनको  भनाई छ। नेपाली काँग्रेस फुटेर नेपाली काँग्रेस प्रजातान्त्रिक हुँदा समेत पार्टीभित्र दलित, महिला, मधेसी, कर्णाली सबैलाई समेटेर केन्द्रीय समितिमै उपयुक्त स्थान दिएको र प्रधानमन्त्री भएसँगै समावेशीतालाई अझै उचाई दिएको परियारले बताए । उनले भने, ‘समावेशीतामा देउवा वास्तविक हिरो हुन्।’ उनले मिडिया र प्रधानमन्त्रीबीच निकटता बढाउन र आम चाँसोका विषयमा बढी साक्षात्कार हुने वातावरण सिर्जना गर्न आफुले मत्वपूर्ण भूमिका निभाउने बताए । राष्ट्रिय तथा  अन्तराष्ट्रिय प्रेसबाट बटुलेको अनुभव र दक्षता प्रयोग गर्ने बेला आएको समेत उनले हाम्राकुरासँगको भेटमा बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ