arrow

काठमाडौं महानगर क्षेत्र भित्र ४ गुणासम्म घट्यो घरजग्गा कर  

४४ हजार तिर्नुपर्ने करदाताले अब १३ हजार तिरे पुग्ने

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७४ साउन ३ मंगलबार
mahanagar123.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यापक रुपमा घरजग्गा करको दर घटाएको छ । महानगरपालिकाले एेन अन्तर्गत् २०७२ कात्तिक ९ गते राजपत्रमा प्रकाशित स्थानीय स्वायत्त शासन नियमावली २०५६ को सातौं संशोधनले गरेको केही असमान नीतिलाई संशोधन गर्दै घरजग्गा करको दरमा समानता समेत ल्याएको छ । महानगरपालिका राजश्व विभागका अनुसार सातौं संशोधन पछिको व्यवस्थाले ठूला करदातालाई फाईदा हुने र साना करदाताहरु मर्कामा पर्ने अवस्था देखिएकोले यस्तो असमान व्यवस्थालाई अन्त्य गर्दै आर्थिक ऐन २०७४ मार्फत् घरजग्गा करको दरमा समेत व्यापक कमि ल्याईएको छ । 

सातौं संशोधन पछि घरजग्गा कर तिर्ने घरदाताहरुको सम्पत्ति ३० लाखसम्मको भएमा २५ रुपैयाँदेखि एक हजार रुपैयाँसम्म लाग्ने व्यवस्था गरिएको थियो । जुन अहिले घटाएर पहिलो ३० लाखसम्म एकमुष्ठ ५ सय रुपैयाँ लाग्ने बनाएको छ । स्पष्ट शुल्क तोकिएकोले यसमा अनियमितताको सम्भावना पनि टरेको महानगरपालिकाको विश्वास छ । 

कसरी घट्यो दर ?
यस अघिको व्यवस्था अनुसार कूल ३० लाखसम्मको मूल्यांकन भित्र पर्ने घरधनीले घरजग्गा कर तिर्दा २५ रुपैयाँदेखि एक हजार रुपैयाँसम्म तिर्नुपर्ने व्यवस्था थियो । त्यसपछिको २० लाखसम्म ०.०८ प्रतिशतदेखि ०.१५ प्रतिशतसम्म महानगरले तोकेको प्रतिशत अनुसार पर्न आउने रकम अघिल्लो ३० लाखको करसहित जोडेर तिर्नुपर्ने अवस्था थियो । उदाहरणको लागि कुनैपनि ५० लाखको मूल्य पर्ने घरजग्गा धनीले कर तिर्दा न्यूनतम कर तिरेपनि पहिलो ३० लाखसम्मको २५ रुपैयाँ र थप २० लाखको ०.०८ प्रतिशतले हुन आउने रु १६ सय रुपैयाँ कर तिर्नुपर्ने अवस्था थियो । अधिकतम शुल्क तिर्दा त उसले ३० लाखसम्मको एक हजार र बाँकी २० लाखको ०.१५ प्रतिशतले हुन आउने ३ हजार गरी कूल ४ हजार रुपैयाँसम्म तिर्न पर्थ्र्याे । 

तर, अहिले महानगरपालिकाले ल्याएको आर्थिक ऐन अनुसार ५० लाखसम्मको घरजग्गाको मूल्यांकनमा पर्ने करदाताले पहिलो ३० लाखको ५ सय रुपैयाँ र थप २० लाखको ०.०२५ प्रतिशतका दरले कर लिने व्यवस्था गरेको छ । यस्तो अवस्थामा करदातालाई पछिल्लो २० लाखको ०.०२५ प्रतिशतले पर्न आउने रकम भनेको ५ सय रुपैयाँ तिर्दा हुन्छ । ५० लाखको घरजग्गा भएका करदाताले अब जम्मा एक हजार रुपैयाँ मात्रै कर तिरे पुग्ने भएको छ । 

त्यस्तै, २ करोडसम्मको घरजग्गा भएका ठूला करदाताहरुलाई पनि यसले फाईदा हुने भएको छ । यस अघि न्यूनतम कर तिर्दा पनि पहिलो ३० लाखको २५ रुपैयाँ, त्यसपछिको २० लाखसम्म थप १६ सय रुपैयाँ, त्यसपछिको थप ५० लाखसम्म ७५ सय रुपैयाँ र त्यसपछिको थप एक करोड रुपैयाँसम्म थप २० हजार रुपैंया लाग्ने अवस्था थियो अधिकतम हिसाव गर्दा, पहिलो ३० लाखसम्मको एक हजार, त्यसपछिको २० लाखसम्म ०.१५ प्रतिशतको दरमा थप ३ हजार, त्यसपछिको ५० लाखसम्म ०.२५ को दरमा थप १० हजार र थप एक करोडको जग्गामा ३० हजार रुपैयाँ लाग्ने व्यवस्था थियो । यसरी कूल जोड्दा २ करोडसम्मको घरजग्गा भएका करदाताहरुले २९ हजार १ सय २५ रुपैयाँ देखि ४४ हजार रुपैयाँसम्म तिर्नपर्ने व्यवस्था यस अघिको दररेटले गरेको थियो । तर, अहिले २ करोडको घरजग्गा भएका करदाताले अब पहिलो ३० लाखसम्मको ५सय रुपैयाँ, त्यसपछिको २० लाखसम्मको थप ५ सय रुपैयाँ, त्यसपछिको ५० लाखसम्मको थप २ हजार रुपैयाँ र त्यसपछिको थप एक करोडसम्मको १० हजार गरी कूल १३ हजार रुपैयाँ तिरे पुग्ने भएको छ । 

त्यस्तै, महानगरपालिकाले घरको मुल्यांकन दरमा पनि कटौती गरेको छ । यस अघि भित्र काँचो बाहिर ईटामा माटोको जोडाइ भएका सबै किसिमका घर र काठैकाठबाट बनेको घरको औषत् लागत दर ४ सय ५० रुपैयाँ देखि ६ सय रुपैयाँसम्म तोकिएकोमा अब यो दर ५ सय रुपैयाँमा सीमित गरिएको छ । त्यस्तै, यस अघि ५ सय २५ रुपैयाँदेखि ७ सय ५० रुपैयाँसम्म तोकिएको भित्र बाहिर पाको ईटा वा ढुंङ्गामा माटोको जोडाई भएका सबै किसिमका घरको औषत् दर अहिले जम्मा ६ सय रुपैयाँ तोेकिएको छ । त्यस्तै, यस अघि ८ सय रुपैयाँदेखि १७ सय ५० रुपैयाँसम्म तोकिएको भित्र बाहिर पाको ईटामा सिमेन्ट वा बज्रको जोडाइ भएका सबै किसिमका घरलाई अहिले ६ सय २५ रुपैयाँ तोकिएको छ । 

यो दर आर. सि. सि. फ्रेम सट्रक्चरबाट बनेका घर र स्टील फ्रेम स्टक्चर, फ्रेविङ, ट्रस, फाइबर वा यस्तै संरचनामा समेत कमि गरिएको छ । यसरी करको मूल्यांकन दरमा कमि ल्याएसँगै कर तिर्ने करदाताको घरजग्गाको मूल्यमा समेत कमि आउने र यसले घरजग्गा करमा समेत अझ कमि ल्याउने भएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ