गोपाल पोखरेल, ताम्लिछा (उदयपुर) । झण्डै दुई बर्षयता दुर्गम पहाडी क्षेत्र ताम्लिछाका कृष्णकुमार राईले सिस्नु र फापरसंग चामल साट्दै आएका छन् । उनी सिस्नु र फापरको पिठो बेच्छन् । बिक्री गरेको पैसाले चामल किन्छन् । उनी भन्छन्,“सिस्नु र फापरसँग चामल साट्दैछु ।”
गाँउमा सिस्नु, फापर, कोदो र मकै प्रसस्त पाइन्छ । आफ्नै खेतवारीमा सिस्नु, फापर, कोदो र मकै फलेपनि धान फल्दैन । धानका लागि पानी प्रसस्त लाग्ने खेत चाहिन्छ । धान नभई चामल हँुदैन । तर सिस्नुका लागि खेतबारी नभएपनि हुन्छ । बारीको डिल र जंगलमा आफै उम्रिने सिस्नु संरक्षण गरे पुग्छ । त्यसैले दुर्गमका सर्वसाधारण सिस्नु संरक्षण गर्छन् । बिक्री गरेर पैसा कमाउँछन् ।
त्यसैगरी फापर र मकैपनि बारीमा फल्छ । त्यसका लागि खासै समस्या छैन । “उत्पादनमा समस्या नभएपनि ४÷५ बर्ष पहिलेसम्म बारीको फापर र मकै बिक्री हँुदैन थियो” कुष्णकुमारले भने, “त्यसैले आपैmले खानु पर्ने वाध्यता थियो ।” तर अहिले समय फेरिएकोले सिस्नु, फापर, कोदो र मकै बजार लैजाने वित्तिकै बिक्री हुने उनले वताए ।
पछिल्लो समयमा ग्रामिण क्षेत्रमा सिस्नु, मकै, कोदो र फापरको पिठो बनाउने साना उद्योग खुलेका छन् । थोरै जनशक्तिको प्रयोग गरेर पिठो बनाइन्छ र प्याकिङ्ग गरेर बजारमा बिक्री गरिन्छ । फापर र कोदोको पिठो र मकैको च्याँख्ला बनाएर बिक्री गर्दा फाइदा हुने भएपछि कृष्णकुमार जस्तै दुर्गमका सर्वसाधारण अहिले यो पेसामा लागेका छन् । ताम्लिछा, बलम्ता, बाराहा, रौता, पोखरी, लाफागाउँ, पंचावतीलगायतका गाविसमा मकै, कोदो र फापर प्रशोधन गर्ने मिल स्थापना भएका छन् ।
ताम्लिछा, बलम्ता, लाफागाउँलगायतका गाविसमा पानी घट्टामा मकै, कोदो र फापर पिस्ने गरिन्छ । “पारखीहरु घट्टामा पिसेको मकै, कोदो र फापरको पिठो स्वादिलो हुन्छ भन्छन्” रौताका गंगा मगरले भने, “ शहर बजारमा अहिले मकै, फापर र कोदोको पिठोसंगै सिस्नुको माग छ ।” बिशेष गरेर मधुमेह र उच्चरक्तचाप भएकाले यी वस्तुको प्रयोग गर्ने गरेकाले माग बढेको उनले वताए ।
ग्रामिण क्षेत्रमा बसोवास गर्ने आर्थिक अवस्था कमजोर भएका सर्वसाधारण पछिल्लो समय सिस्नु संकलन गरेर बिक्री गर्छन् । “सिस्नु बिक्रीबाट आउने पैसाले चामल किनेर खान्छन्” आँपटारको पोखरीकी तुलसी राइले भनिन्, “सिस्नु सर्वसाधारणको लागि आर्थिक उपार्जन गर्ने राम्रो माध्यम बन्दैछ ।” सिस्नु बिक्रीबाट सर्वसाधारणले चामलको भात खान पाएको उनले वताइन् ।
“मकै, कोदो, फापर र सिस्नुको पिठोको माग धेरै छ” गाईघाटस्थित कालिका डिपार्टमेन्टका संचालक केदारकुमार थापाले भने, “बिशेष गरेर मधुमेहका विरामीले यी वस्तु खोज्ने गरेका छन् ।” तर माग अनुसार आपूर्ति गर्न नसकिएको उनले वताए ।
सामान्य मसिनो चामल अहिले बजारमा प्रतिकेजी ५९ रुपैयाँले बिक्री हुन्छ । तर, मकैको चामल(च्याँख्ला) ७० रुपैयाँ किलो बिक्री हुने गरेको छ । त्यसैगरी सिस्नुको पाउडर प्रतिकेजी ८÷९ सय रुपैयाँले बिक्री हुन्छ । त्यसले गर्दा ग्रामिण क्षेत्रका सर्वसाधारणलाई सिस्नु र फापरसंग चामल साट्न सजिलो भएको छ ।