arrow

गुमेको मानवीय मूल्य र संवेदना

logo
रेनुका पौडेल,
प्रकाशित २०७४ साउन ६ शुक्रबार
renuka-poudel.jpg

 काठमाडौं । महिला तथा बालिकाहरुको हत्या, बलात्कार, कुटाई पिटाई तथा उनीहरुमाथिका दुब्र्यबहारका घटनाहरु श्रृखंलाबद्ध रुपमा दिनहुँजसो संचारमाध्यममा आईरहेका हुन्छन र छन् नै । 

श्रीमतीको हत्या गरी टाउको लिएर प्रहरीमा, रुकुममा नवनिर्वाचित महिला वडा सदस्यको हत्या, बलात्कार गर्ने बाबुलाई २३ बर्ष कैद, सामुहिक बलात्कारका चार जना आरोपी पक्राउ, बालिकाको बलात्कारपछि हत्या गरी भागेका अपराधि पाँच बर्ष पछि पक्राउ, नातिनीको पेटमा बाजेको गर्भ, एघार वर्षिया बालिका गर्भवती भएपछि गाउँ निकाला र छाउगोठमा महिलाको मृत्यु, लगायतका दर्जनौं शिर्षकमा पछिल्लो महिना संचारमाध्यममा लैगिंक हिंसाका समाचार प्रकाशित भए । यस्ता समाचारहरुले हाम्रो समाजमा रहेको महिलाहरुको स्थानलाई प्रतिविम्वित गरेको छ । 

यति धेरै अमानबिय समाचार सुन्दा र पढ्दा कसको मन स्तब्ध भएन होला र । सुन्दा पनि आङै जिरिङ्ग हुने र कल्पना गर्न सम्म पनि नसकिने यस्ता घटनाहरु अचेल दैनिक जसो संचार माध्यम मार्फत उजागर भएका छन् । 

यसले हामीलाई मर्माहत मात्र बनाएको छैन हाम्रो सभ्यतालाई समेत गिज्याएको छ । संवेदनहीन, आपराधिक र हिंसक मनोवृतिको यो भन्दा पराकाष्ट के हुनसक्छ ? यी त केहि प्रतिनिधिमुलक घटना मात्र हुन् ।

दिनहुँजसो लैगिंक हिंसाका घटनाहरु प्रकाशित भएकै हुन्छन् । समाजमा जति पनि घटना घटेका छन् ति सबै घटनाहरु बाहिर आउन आज पनि सक्दैनन् । पछिल्लो एक दशकको अन्तरालमा लैगिंक हिंसाका घटनामा अत्याधिक बृद्धि भएको बिभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छ । 

बलात्कारमा पर्नेहरु प्राय बालिका हरु नै रहेका छन् । परपुरुषले महिला माथी गरेका यौनिक तथा लैङ्गीक हिंसाका घटना जति छिटो र सजिलै बाहिर आउन सक्छन्  आफन्त, नातागोता, दाजु, काका, हजुरबाबु र बाबुबाट हने गरेका बलात्कार तथा यौन दर्व्यबहारका घटना बाहिर आउन त्यो भन्दा कठिन र असम्भव जस्तै हुन्छ । 

जबसम्म सबै छोरीहरु स्वाबलम्बी, निर्भिक र साहसी बन्न सक्दैनन् तब सम्म अभिभावकत्वको आवरणमा लुकेर जबर्जस्त गरिने यस्ता सबै कूकृत्य बाहिर आउन असम्भब छ । जो पिडित छ उसैलाई कमजोर र निरिह बनाईने हुँदा पिडितहरु पूर्ण रुपमा खुलेर आउने बाताबरण बनिसकेको छैन । यस्ता घटना उजागर हुने क्रम बढेको छ । हरेक एक घटनालाई अर्काले पछ्याईरहेको छ ।

 भनिन्छ र मानिन्छ पनि संसारमा सबैका लागि सबैभन्दा सुरक्षित स्थान घर हो । तर बिडम्बना आज केहि छोरीहरुका निम्ति सबैभन्दा असुरक्षित स्थान त्यहि घर भएको छ भने बांकी संसार त कसरी सुरक्षित रहन सक्ला रु केहिले आफ्नै छोरीहरु माथि हिंसा गरेका छन् भने धेरैले अरुका छोरीहरुमाथि हिंसा तथा जबर्जस्ती गरिरहेका छन् । छोरीहरु आखिर सबैका छोरी हन् । 

हरेकका निम्ति आफ्नो जीवन सर्बा्धिक महत्वपूर्ण छ र हुनपर्छ तर महिलाहरुको जीबनलाई मुल्यहीन र अर्थहीन ठान्ने र बनाउने प्रयत्नको अन्त्य किन हुन सकेन ? पबित्रताबादी सम्बन्धलाई प्रदूषित बनाउने दुरासाय कसरी निर्माण हुन्छ ? मानव गरिमाको सम्मान र प्रत्याभुत गर्न गराउन सक्ने चेतनाको निर्माण किन हुन सकेन ? यति धेरै अमानवीय प्रवृति मौलाउनुको कारण के हो ? किन गुमिरहेको छ मानवीय संवेदना ?

महिलाहरुका लागि सुरक्षित स्थान कहाँ हो ? मान्छे रुपधारी राक्षसी प्रवृतिको अन्त्य गर्न कसरी सकिएला ? गल्ति कहाँनेर भयो ? दोष कहाँ कहाँ छ ? हाम्रो सामाजिकरण प्रक्रियामा कि सृष्टिमा, महिला प्रतिको दृष्टिकोणमा कि जैबिक, प्राकृतिक भिन्नतामा, राज्यका कानुनि संयन्त्रमा कि अपराधीलाई दिने दण्ड सजायमा ? महिलामाथि हुने हिंसाका कारणहरु के के हुन्  ? बालिका तथा महिला माथि किन यति धेरै क्रुर र निर्मम बनेका छन् मानिसहरु ? पुरुष समदायले महिलामाथि अन्याय, अत्याचार, हिंसा र दमन प्रदर्शन कहिलेसम्म गरिरहने ?

छोराहरुलाई कसरी हुर्काइयो, के सिकाईयो र कसरी हुर्काइदै छ ? के सिके उनीहरुले घर, परिवार र समाजबाट ? छोरीहरुका लागि सुरक्षित स्थान कहाँ हो ? छोरीहरुले सुरक्षाको अनभूति कहाँ गर्ने हो ? छोरी, नातिनी, श्रीमती , दिदीबहिनीहरु आफ्नै श्रीमान्, बाबु, हजुरबाबु, दाजुभाइहरुसंग कहिलेसम्म सशंकीत भईरहनुपर्ने हो ?

किन घर साँच्चै घर बन्न सकेन र समाज, समाज बन्न सकेन ?  महिलाहरुका लागि  सुरक्षित स्थान कहाँ खोज्ने हो घर भित्र कि घर बाहिर ? कि दुबै स्थान  उनीहरुका लागि होईनन् ?

छोरीहरुले आफ्नो अधिकार समानता र स्वतन्त्रताका बारेमा कहिलेसम्म वकालत गरिरहनुपर्ने हो ? कुन चरणमा पुगेर यसको अन्त्य हुने हो ? कति औं पूस्ता सम्मका छोरीहरु कुन रुपमा हिंसाको सिकार बन्नु पर्ने हो ? हिंस्रक मानसिकताको अन्त्य कहिले हुने हो ? आफ्नै शरिर र मनका पिडा र मर्मले खेदिरहेपछि बाहिरी संसारबारे महिलाहरुले कहिले बुझ्ने, लेख्ने र बोल्ने ? यस्ता प्रबृतिका बिरुद्ध समाज र राज्य किन आन्दोलित हुन सकेन ?

सिंगो समाजको मुद्धा किन बन्न सकेन ? हिंसा, बिभेद र असमानता यहि समाजमा यहि संरचनामा बिद्यमान छ । सामाजिक सम्बन्धमा दरार सिर्जना भएको छ । नैतिकता र ईमान्दारिताका सामाजिक मूल्य मान्यताहरु कमजोर बन्दै गईरहेका छन् ।  

यी यावत् पिडा र समस्या महिला तथा पिडित र अधिकारकर्मीका मात्रै हाईनन् । सिंगो समाज र राज्यकै अझ मानबतामाथिकै समस्या हुन्। हिंसा जहाँ, जसले, जसरि र जो माथि गरे पनि त्यो मानबता बिरुद्धको अपराध हो ।

गुमिरहेको मानबिय मुल्य र संबेदनाको खोजि गरौं । हिंसा हाम्रो मानसिकतामा छ । हाम्रो संरचनामा छ , हाम्रो कानुन र प्रचलनमा छ र कार्यन्बयनमा पनि छ । महिलामा पनि छ र पुरुषमा पनि छ । कानुनमा लेखियो तर सभ्यताको पाठ कसैले सिकाएन, व्यवहार आचरण र कार्यशैलिमा परिबर्तन भएन । निषेध गरेर हिंसा रोकिदैन । बदल्न यहिबाट, हरेकबाट र आजैबाट सुरु गरौ हाम्रो सोच, आचरण, ब्यबहार र क्रियाकलापमा । 

जहिले देखि यस्ता दुस्साहस र दूष्कर्मलाई अपराधमा परिणत गर्न सकिन्छ त्यसपछि मात्रै मानबिय मुल्य र मान्यता सहितको सभ्य समाजको परिकल्पना सार्थक हुन जान्छ । (लेखिका मानवअधिकारकर्मी हुन्)
 



नयाँ