- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । गान्धारको वास्तुकलाले पनि आकर्षक मनमोहक मूर्तिकलामा पाईने जस्तै उत्कृष्ट शास्त्रीय र दक्षिण एशियाको स्वदेशी शैलीको समिश्रणलाई स्पष्ट रुपमा प्रस्तुत गर्छ । यहाँको वास्तुकलामा पश्चिमी कलाको सिको गरिएका लक्षणहरु पाईन्छ । तर पनि प्रारम्भिक स्फूरण एवं प्रेरणा स्थानीय तत्वहरुमा आधारित भएको पाईन्छ ।
गान्धारको वास्तुकला क्रमिक रुपले माथितिर बढ्ने गतिको प्रबृत्ति बुद्धबादी सोचको गहिरो रहस्यात्मकताको अभिव्यक्ति थियो भन्ने यस्ता संरचनाहरुमा शिलास्तर, रङ्गिन सिसा, रङिगविरङ्गी वज्र लेपनले जिवन्तता र चमकता प्रदान गरेको हुन्थ्यो ।
यस प्रकारको विशिष्ट विचारशील कारिगरीले गन्धारको वास्तुकलामा निहीत मौलिक तत्वहरु मध्ये एउटा तत्वका रुपमा परिचय गराउँछ । यो मौलिकता बुद्ध धर्ममा आधारित भएर शताब्दीऔसम्म रहेको थियो ।
गान्धारको वास्तुकलामा आम रूपले भएको वैशिष्ठ्यता भव्य रुपले निर्माण गरिएका बौद्ध विहार, स्तुप र गुम्बाहरुमा देख्न सकिन्छ । तिनीहरु अत्यन्तै आकर्षक ढङ्गले प्लाष्टिक कला र विशेषगरी स्तुपहरुको सबै भाग सिंगारिएको हुन्छ । तर, अन्यत्र भने सिँढीका सानासाना पंक्तिहरुमा रहेका स्तम्भ र प्रवेश मार्गलाई आकर्षक ढंगले श्रृङ्गारिएको पाईन्छ ।
गान्धारमा पाईने वास्तुकलामा प्राचीन साँची र बरहुतमा निर्मित मौर्यकालीन वास्तुकलाको ढाँचालाई क्रमिक रुपमा विस्तार गरिएको कुरालाई झल्काउँछ । गोलार्ध आकारको स्तुपाको नमूना कर्णपट राखेर वा नराखीकनै गोलाकार तथा वर्तुलाकारमा माथितिर बढाउने शैलीको विकास भयो । यसरी निर्माण गर्दा माथिल्लो संरचनालाई बढी महत्व दिईयो र त्यसमा केही रहस्य छ भन्ने कुरालाई जोड दिईयो ।
यसरी गोलाकार वा वर्तुलाकार संरचनामा कर्णपट थपेर अरु संरचना बढाउने प्रचलन ल्याईयो । त्यसरी गान्धारका स्तुपहरु अग्लो टावर जस्तै देखाउने, र सो आधारका रुपमा बनाईएको गोलार्धको आकारलाई आधार बनाएर त्यसमाथि बाटुलो पूर्जा आकारको संरचना बढाईएको पाईन्छ । विद्वानहरुले यसप्रकारको संरचनाबाट सिको गरेर प्राचीन चीनमा प्यागाडा शैलीको विकास गरिएको निष्कर्ष निकालिएको पाईन्छ ।
स्तुपहरु या त वृत्ताकार कर्णपट या वर्याकार संरचनामाथि बनाईएको पाईन्छ । गोलाकार स्तुपहरुको टड्कारो उदाहरण तक्षशीलाका धर्मरजिक र मोह्रामोरादु एवं स्वात क्षेत्रको बुत्कार स्थित शैदु सरिफका स्तुपहरु मान्न सकिन्छ । त्यस्तै, वर्गाकार आधारमा आधारमा निर्मित स्तुपहरुको उदाहरण खैरव उपत्यका स्थित अलि मस्जिद नजिकै हाल नष्ट गरिएको स्तुपलाई लिन सकिन्छ ।
पुरातत्वविद्हरुले सो स्तुप मौलिक रुपमा १२ मिटर जति अग्लो थियो र यसलाई दुईवटा वर्गाकार आधारमा निर्माण गरिएको थियो । यसलाई दुईवटा वर्गाकार आधारमा निर्माण गरिएको, एउटा कर्णपट(ड्रम) समेत बनाईएको थियो । सम्भवतः यसको माथिल्लो भागमा हर्मिका र अन्तमा त्यसमाथि छाता समेत जडिएको छ । श्रृङ्गार साजसज्जा भारतीय र शास्त्रीय तत्वको मिश्रण गान्धार कलाको एउटा महत्वपूर्ण सार्वभौमिक पक्ष मानिन्छ ।
पहिला बौद्ध धर्मीहरुका लागि स्तुपाहरु मृत व्यक्तिको चिहानमाथि उठाउने एउटा संरचना मात्रै मानिन्थे । कालक्रम वित्दै जाँदा ती चिहानहरुलाई पवित्र र सम्मानित स्थलका रुपमा लिन थालियो । त्यसपछि ती स्थलहरुलाई पूजा प्रार्थना गर्ने मन्दिरका रुपमा पुज्न थालियो । यसै क्रममा अर्ध गोलाकार गुम्वज, भवन आकारमा विकसित गरियो र त्यहाँ बुद्ध र अन्य बौद्ध सन्त महन्त र बौद्ध धर्मका महत्वपूर्ण अनुयायीहरुको अस्तु राख्ने स्थलका रुपमा प्रयोग गर्न थालियो । पछिल्ला कालमा यस्ता स्तुपहरु बुद्धको जीवनमा घटेका विभिन्न घटनाहरुको स्मृतिमा उनका चेलाहरुको स्मृतिमा पनि बनाउन थालियो ।
समय वित्दै जाँदा ती स्तुपहरु वा त्यहाँ राखिएका अस्तुहरुको स्मरण एवं तीर्थस्थलका रुपमा लिन थालियो । ती स्थलहरुमा भक्तजनहरुले पनि आ–आफ्ना तर्फवाट स्तुप निर्माण गरी चढाउने संकल्प गर्न थाले र धार्मिक आस्थाका परिचयका रुपमा पनि लिन थाले । स्तुपहरु बुद्धको मृत्युको संकेतका रुपमा लि थालियो । त्यसका साथ बुद्धलाई मानवीय स्वरुपमा प्रतिनिधित्व गराउने प्रचलन भन्दा अघि प्रस्तरमा बुट्टाहरु बनाएर बुद्धको चिह्नका रुपमा प्रयोग गर्ने वा बुझाउने गरिन्थ्यो ।
प्रस्तुत आलेख पाकिस्तानको लाहोरबाट नियाज अहमदले प्रकाशित गरेको बौद्ध गान्धार नामक पुस्तकबाट साभार गरिएको हो ।