arrow

बाढीबाट १५ हजार बालबालिकाको पढाइ प्रभावित

logo
राकेशकुमार मिश्र,
प्रकाशित २०७४ भदौ ८ बिहिबार
school-children.jpg.jpeg

खजुरा (बाँके)। जिल्लाको राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका १० वर्षीय समिर थारु भाइरल ज्वरोले ३ दिनदेखि थलिएका छन् । राप्ती नदीमा आएको बाढीले घर गल्र्यामगुर्लुम ढलेदेखि उनलाई सन्चो छैन ।

बाढी आउने बेला ओत लाग्ने ठाउँ नभएपछि समिर पनि पानीमा भिजेका थिए । र, बाढीले दूषित बनाएको पानी शुद्धीकरण नगरेर पिएपछि उनलाई रुघाखोकीले समात्यो । भाइरल ज्वरोले समातेपछि उनले खानासमेत खाएनन् ।

पानी तताउने र तातो भात तथा जाउलो पकाउने ठाउँ समेत छैन उनको घरमा । तरकारी र अन्नपात बाढीले बगाएका कारण उनको परिवारले बिहान मात्र खाना पकाउँछ । ‘खान पाएपनि भात र तरकारी चिसो हुन्छ,’ समिरले भने, ‘चाउचाउ बिस्कुट खाँदाखाँदा वाक्क लागिसक्यो ।’

उनको किताब, कापी र कलम ढलेको घरमै पुरिएको छ । किताब, कापी घरमा पुरिएपछि उनि निराश छन् ।  ‘बिरामी भएर पढ्न जान पाएको छैन, किताव, कापी समेत घरमा पुरियो, अव के लिएर पढ्न जाने होला ?’ उनले भने ।

राप्ती–सोनारी गाउँपालिका–६, मोहनपुरकी ममता शाही पनि एक हप्तादेखि विद्यालय जान पाएका छैनन् । उनि अध्ययनरत सरस्वती मावि पनेरियामा बाढीपीडितले आश्रयस्थल बनाएको र किताब, कापी लगायत शैक्षिक सामग्री विद्यालयले बगाएकाले उनले एक हप्तादेखि विद्यालय जान पाएका छैनन् ।  

‘किताब, कापी नदीले बगाएर लग्यो, बचेको पनि भिजेर काम नलाग्ने भएकाले विद्यालय जान सकेको छैन,’ ममताले भने ।

बाढी आएदेखि राप्ती–सोनारी गाउँपालिका–४ लालपुरका १३ वर्षीया लक्ष्मी चौधरीले विद्यालय जान पाएका छैनन् । उनी अध्ययनरत श्री भावना निमावि माहुमा बाढीपीडितले आश्रयस्थल बनाएर बसेकाले उनले पनि विद्यालय जान पाएका छैनन् ।

विद्यालय जान मन भएपनि उनिसँग न त किताब न त लेख्न कापी र कमल नै छ । ‘किताव, कापी जोगाउने प्रयास गरेको थिएँ, एक्कासी बाढी आएकाले केही गर्न सकिएन,’ लक्ष्मीले भने।

बाढी प्रभावित क्षेत्रका बालबालिकाको अवस्था दयनीय बन्दै गएको मात्र हैन उनीहरु शिक्षा आर्जनको अवसरबाट समेत बन्चित हुनपुगेका छन् । बालबालिकामा रुघाखोकीले समात्ने, ज्वरो आउने, टाउको दुख्ने समस्या देखा परेको राप्ती–सोनारी गाउँपालिका–४ का वडा अध्यक्ष कान्छा चौधरीले बताए ।

सिविन नेपाल नेपालगन्जका प्रमुख सिद्धराज पनेरुले बाढी प्रभावित बैजापुरका बालबालिकामा मानसिक असर देखिएको बताए । उन0का अनुसार बाढी पसेको, घर ढलेको र तहसनहस भएको देखेका बालबालिकामा डर कायमै रहेको छ ।

बालबालिकाको किताब, कापी बाढीले बगाएको र पानीले भिजेर पढ्न नमिल्ने भएको पाइएको उनले जानकारी दिए । बाढी प्रभावित क्षेत्रको अनुगमनपछि प्रतिक्रिया दिँदै उनले भने, ‘बालबालिकाको अवस्था दयनीय छ । कतिपय भाइरल ज्वरोका कारण थलिएका छन् । उनीहरुले उपचार समेत पाएका छैनन् ।’

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका निर्देशक मुरारी प्रसाद खरेलले पनि बाँकेका बाढी प्रभावित क्षेत्रका बालबालिकाले समयमा खाना खान नपाएको र सुत्ने ठाउँ समेत नपाएको बताए ।

बाढीले जिल्लाका १४ हजार ९९५ विद्यार्थीको पढाइ प्रभावित भएको छ । गत साउन २८ गतेदेखि राप्ती नदी लगायत विभिन्न खोलामा आएको बाढीले क्षति पुर्‍याएपछि ८१ वटा विद्यालयको पठनपाठन अवरुद्ध भएको हो । बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापाका अनुसार जिल्लाका २९ वटा विद्यालय आश्रयस्थलका रुपमा प्रयोग भएका छन् । उहाँले राप्ती–सोनारीका १८ वटा विद्यालयलाई बाढी पीडितले आश्रयस्थल बनाएको जानकारी दिए ।

सामुदायिक भवन नभएका कारण बाढीपीडितहरु सामुदायिक विद्यालयलाई आश्रयस्थलका रुपमा प्रयोग गरिरहेका छन् । ‘पठनपाठनभन्दा मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर आश्रयस्थलका रुपमा प्रयोग गर्न दिइएको छ,’ जिल्ला शिक्षा कार्यालय भन्छ ।

राप्ती–सोनारी गाउँपालिकामा ५२ विद्यालय छन् । सो गाउँपालिकाअन्तर्गत पर्ने विनौना स्रोत केन्द्रमा पर्ने बाल विकास केन्द्रदेखि कक्षा ५ सम्मका ९ हजार ८८१, कक्षा ६ देखि ८ सम्मका ३ हजार ६९८, कक्षा ९ देखि कक्षा १० का १ हजार ४०७ र कक्षा ११ देखि १२ का ६९ विद्यार्थीको पढाइ प्रभावित भएको थाहाभएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ