arrow

भारत र चीनलाई छुने फक्ताङलुङ गाउँपालिका सम्भावनाकाबीच ओझेलमा

logo
प्रकाश ढुंगाना,
प्रकाशित २०७४ असोज ५ बिहिबार
prakas_dhungana.jpg

काठमाडौं । फक्ताङलुङ गाउँपालिका नेपालको तेस्रो ठुलो जिल्ला ताप्लेजुङमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्गासम्म फैलिएको मुलुककै तेस्रो ठूलो गाउँपालिका हो । यो भारत र चीन दुवै छिमेकी देशलाई छुने जिल्ला ताप्लेजुङको दुवै देशसँग सीमाना जोडिएको गाउँपालिका पनि हो । १८५८।५१ वर्ग कि।मि। क्षेत्रफल भएको यो गाउँपालिकाको जनसंख्या भने १२ हजार १७ जना मात्र छ । जसअनुसार यहाँको जनघनत्व प्रतिवर्ग किलोमिटर ८ जना भन्दा पनि कम हुन आउँछ । 

साविकका सावादिन, खेजेनिम, लिङखिम, इखाबु, तापेथोक, लेलेप र ओलाङचुङगोला गरी सात वटा गाविसहरु यसमा समेटिएका छन् । यसले जिल्लाको आधा भन्दा बढी उत्तरी भुभाग ओगटेको छ । लिम्बु र शेर्पा जातिको बाहुल्यता रहेको गाउँपालिकाको दक्षिणी भुभागमा लिम्बुवानि संस्कृति र उत्तरी भुभागमा तिब्बति संस्कृतिको प्रभाव देख्न सकिन्छ । अधिकांश मानिसहरु कृषि, पर्यटन र पशुपालन पेशामा छन । शिक्षा, स्वास्थ्य, सञ्चार, यातातात र अन्य पुर्वाधारका क्षेत्रमा  रहेको न्युन पहुँचले  समग्र सामाजिक आर्थिक र मानवीय विकासको अवस्था निकै दयनीय छ । फक्ताङलुङ गाउँपालिकाका विकासका अवसरहरुको अध्ययन गर्ने हो भने यहाँ विकास सबैको चाहना मात्र नभइ आवश्यकता पनि भएको देखिन्छ । यो लेखमा  फक्ताङलुङ गाउँपालिका को समृद्धि र विकासका असंख्य आधारहरु मध्ये मुख्य पाँच आधारहरु उल्लेख गर्ने प्रयत्न गरिएको छ । 

पर्यटनः 
विश्वकै तेस्रो अग्लो हिमाल कन्चनजघां, विश्वकै उत्कृष्ट पदयात्रा मार्ग मध्येको एक कंचनजघां पदयात्रा मार्ग, कचंनजघां संरक्षण क्षेत्र र विश्वभरकै हिन्दुहरुलाई आकर्षण गर्न सकिने पाथिभरा देवि अनि हिमालको फेदमा रहेका घुन्सा, याङमा जस्ता सुन्दर बस्तिहरु  यस गाउँपालिका भित्रका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु हुन । ओलाङचुङगोलामा रहेको चार सय वर्ष पुरोनो इतिहाँस बोकेको दिकिछ्योलिङ गुम्बा ऐतिहाँसिक कलाको नमुनाको रुपमा यहिँ गाउपालिकामा छ । रेड पाण्डा भिलेज को रुपमा विकास गरिएको ग्याब्ला, विभिन्न मनमोहक हिमतालहरु, मगर राजा ग्लाब्ला ग्याहु को दरवारको भग्नावशेस, सानासाना हिमाली उपत्यकाहरु लाई पनि आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने प्रसस्त आधारहरु छन ।  उल्लेखित पर्र्यटकिय गन्तव्यहरुमा पर्यटकहरुलाई उपलब्ध गराइने सेवा सुविधाको पर्याप्तता र गुणस्तरियताको सुनिश्चितता गर्दै सबै मौसममा पर्यटकीय क्रियाकलाप सञ्चालन गर्न सक्नुपर्छ । र आन्तरिक पर्यटक लाई आकर्षण गर्न दीर्घकालीन नीति बनाइ अघि बढनुपर्ने देखिन्छ । पर्यटनका असीमित सम्भावनाहरु भएको फक्ताङलुङमा पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न आवश्यक पर्यटकीय पुर्वाधारहरुको विकास गर्दै यस्का लाभहरु सबै वर्ग र क्षेत्रमा पुर्याउनुपर्ने आवश्यकता पनि टड्कारो देखिएको छ । समग्रमा पर्यटन व्यवसायले फक्ताङलुङ को अर्थतन्त्रको प्रमुख आधारको रुपमा जनताको जीवनस्तरमा कायापलट गर्न सक्ने देखिन्छ ।

जलबिद्युतः
ओलाङचुङगोला घाँटिबाट नेपाल छिर्ने तमोर नदि यस गाउँपालिकाको जलबिद्युत उत्पादनको प्रमुख आधार हो । गाउँपालिका भित्र ५४ मेगावाटको सानिमा मिडिल तमोर हाइड्रोपावर जग्गा अधिग्रहण कार्य सम्पन्न भइ निर्माणको क्रममा रहेको छ । गाउँपालिकाको केन्द्र तापेथोकमा बिशाल जलासय सहित निर्माण गर्न लागिएको २५० मेगावाटको माथिल्लो तमोर जलबिद्युत आयोजनाको विस्तृत सम्भाव्यता अध्ययन भइरहेको छ । विज्ञहरुका अनुसार यस गाउँपालिकामा  लगभग १,००० मेगावाट जलबिद्युत उत्पादन क्षमता रहेको छ । हाल फक्ताङलुङ गाउँपालिका मा  ८ वटा लघु जलबिद्युत आयोजनाहरु सञ्चालनमा छन । साथै  १ लघु जलबिद्युत आयोजना निर्र्माण भइरहेको छ । देशनै लोडसेडिङको चपेटामा रहेको बेला यहाँका लघु जलबिद्युत आयोजनाहरुको उत्पादन माग भन्दा बढि छ । राष्ट्रिय प्रसारण लाइनले छुन नसकेको साथै अन्य वितरण प्रणालि विकास गर्न नसकिएको कारण अझै पनि यहाँ उत्पादन भएको बिद्युत खेर गइरहेको छ ।  जलबिद्युतको पहुँचलाई गरिबि निवारणको अभिन्न अगंको रुपमा विकास गर्दै स्थानीय जनताको लगानि र स्थानीय जनता लाई रोजगारीका अवसरहरुको सुनिश्चितता गरि गाउँपालिकाको सर्वाङगिण विकासको लागि उपयोग गर्न सकिन्छ । 

ओलाङचुङगोला नाका :
ओलाङचुङगोला नाका लाई भारत र चिन जोडने सबैभन्दा छोटो नाका मानिन्छ । भर्खरै मात्र तिब्बतको रिउ सहर  र ओलाङचुङगोला सडक सञ्जालले जोडिएको छ । ओलाङचुङगोला नाका सम्म नेपालबाट सडक सञ्जालले जोड्ने योजना पनि प्राथमिकता का साथ कार्यन्वयन भइरहेको छ । नेपाल भारत सिमानाको जोगबनि नाका बाट ओलाङचुङगोला सम्म निर्माणाधिन तमोर करिडोरलाई त पूर्वी नेपाल«को समृद्धिको ढोकाको रुपमा नै प्रचार गरिएको छ । तमोर करिडोरले जोगबनि र चीनतिरको टिपताला भन्ज्याङ लाई २६५ किलोमिटरको दुरीमा जोड्छ । त्रिदेशिय भुमिलाई सबैभन्दा नजिकबाट जोड्ने यो करिडोर बाट जोगबनी–इटहरि–धरान–मुलघाट–लुबुघाट–माझिटार–दोभान–छिरुवा–ओलाङचुङगोला हुदै तिब्बतको सिमानाका टिप्तालापास पुग्न सकिन्छ । यो सडक पुरा भएपछि ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटाका स्थानियहरु तमोरको गड्तिरै–गड्तिर तराई झर्न अनि तिब्बत सम्म उक्लन सक्छन् ।  चिन र भारत बिचको सन्तुलित सम्बन्धको विकासका लागि उत्तर तिरका नाकाहरुको कुटनीतिक महत्व पनि रहेको छ ।  मुलुकको भूपरिवेष्ठित अवस्थिति साथै अन्तराष्ट्रिय व्यपारमा भारतको निर्भरता ले उब्जाएका समस्याहरुको समाधान गर्न चीनतिरका नाकाहरुको उपयोेग जरुरी छ । यसरी  ओलाङचुङगोला नाका लाई पनि फक्ताङलुङ गाउँपालिकाको समृद्धिको एक प्रमुख आधार को रुपमा विकास गर्न सकिन्छ  । 

कृषि / पशुपालन 
गाउँपालिकाका खेजेनिम, सावदिन, इखाबु, लिङखिम आदि वस्तिहरु जिल्लामै अलैँचि उत्पादनका पकेट क्षेत्रहरु हुन । यहाँबाट हरेक वर्ष  करोडौँ मुल्य बराबरको हजारौँ मन अलँैचि निर्यात हुन्छ । साथै यहाँको हिमाली क्षेत्रहरुमा बहुमुल्य जडिबुटिहरु त्यसै खेर गइरहेको दुखद अवस्था छ र जडिबुटि उत्पादनको उच्च सम्भावना लाई अवसरमा बदल्न सकिएको छैन । ठुलो परिमाणमा उत्पादन हुने अलैँचि र अन्य जडिबुटि प्रसोधन, भण्डारण र वितरण प्रणालिलाई व्यवस्थित बनाउँदै कृषिमा आधारित उद्योगहरु र कृषि पर्यटनको विकासमा युवा पुस्तालाई आकर्षित गर्ने योजना बनाउनु जरुरि देखिन्छ । गाउँपालिकाको उच्च भौगोलिक अवस्थिति र जैविक विविधताले सिर्जना गराएका विभिन्न सम्भावनाहरुको उपयोग गरि कृषि र पशुपालन लाई पनि पर्यटनसँग जोडेर अघि बढाउन सकिने अवसर यहाँको कृषि  क्षेत्रको विकासको आधार हो । विशाल हिमाली पाटनहरुमा गरिएका चौरी र भेडा पालन लाई यहाँको ब्रान्डको रुपमा विकास गरि बजारीकरण गर्न सके विभिन्न पशुजन्य उत्पादन ले यहाँ आउने पर्यटकहरुलाई कोशेली पुर्याउन पनि नसकिने दिनहरु देख्न धेरै कुर्न नपर्ला । 

युवा नेतृत्व :
राज्यको संघीय संरचना अनुसार पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा फक्ताङलुङ गाउँपालिका को अध्यक्षमा सरोज लिम्बु विजयी हुनुभएको छ । २९ बर्षका उहाँ जिल्लाकै कम उमेरका स्थानीय तह प्रमुख हुनुहुन्छ । यस गाउँपालिकाका गाउँ सभाका सदस्यहरुको औसत उमेर ४५ वर्ष भन्दा कम हुन आउँछ । देशले लोकतन्त्रको जग मानिने विकेन्द्रीकरण र स्थानीय शासनलाई पुर्ण रुपले अगांलेसगैँ जनतामा देखिएको उत्साह, जागरण र विकासप्रतिको चासोलाई यस्तै युवा प्रतिनिधिहरुले सदुपयोग र सम्बोधन गर्न सक्छन् । केन्द्रीकृत राज्य व्यवस्थाले लामो समय पुर्वाधार साथै सामाजिक, आर्थिक क्षेत्रको विकासमा ओझेलमा परेको यस क्षेत्रको सर्वाङगीण विकासको जिम्मा अब स्थानीय युवाहरुको काधँमा आएको छ । यसरी फक्ताङलुङको विकास नै एकमात्र उदेश्य भएका र जुनसुकै मुल्यमा फक्ताङलुङ लाई देशकै समृद्ध गाउँपालिका बनाइ छाड्ने हुटहुटि भएका युवा नेतृत्वहरु लाई पनि आफैँमा फक्ताङलुङ गाउँपालिका को समृद्धिको आधारको रुपमा लिन सकिन्छ ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ