arrow

एमालेले पहिले चुनाव हारेका र जितेका दुवैलाई टिकट दिँदैन (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ असोज १३ शुक्रबार
bhanu.JPG

स्थानीय तहको निर्वाचन सकिएपछि दलहरु आउँदो मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा जुटेका छन् । समानुपातिक सांसदका उम्मेदवार छान्नेदेखि प्रत्यक्षमा क–कसलाई टिकट दिने भनेर दलहरुले गृहकार्य तीब्र बनाएका छन् । प्रधानमन्त्रीको उम्मेदवार नै घोषणा गरेर चुनावमा जानुपर्छ भन्ने रणनीतिमा लागेको प्रमुख विपक्षी एमालेले के गर्दै छ ? हामीले एमालेको संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालसँग कुरा गरेका छौँ ।

तपाईहरु अहिले के मा व्यस्त हो ?
–आगामी प्रदेशसभा र प्रतिनिधिसभा चुनावको तयारीका क्रममा छौँ । दशैँको सामान्य औपचारिकताका कार्यक्रम राखेका छौँ । मूख्य गरी चुनावकै तयारीमा केन्द्रीत छौँ ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लाबाट कहिलेसम्म केन्द्रमा सिफारिस आइपुग्छ ?
–पार्टी केन्द्रीय कमिटीको बैठकले आधारभूत निर्वाचन तयारीका आधारभूत निर्णय गरिसकेको छ । पार्टी स्थायी कमिटीलाई दिएको जिम्मेवारी अनुसार स्थायी कमिटीले मापदण्ड, कार्यक्रमगत योजनाहरु बनाएर तल्लो निकायमा पठाएको छ । यो १६ र १७ गते प्रदेशसभाको क्षेत्रीय कमिटीहरुले बैठक बसेर भए सर्वसम्मत नभए एक महिलासहित ३ जनाको नाम जिल्ला कमिटीमा पठाउने काम गर्ने छन् । यस्तै, प्रतिनिधिसभाको लागि पनि १६ र १७ गते क्षेत्रीय कमिटीहरुबाट नाम माथि आएपछि १९, २० मध्ये आफ्नो अनुकुलतामा जिल्ला कमिटीहरुले बैठक बसेर त्यो प्रस्तावमाथि आफ्ना रायहरु, थप प्रस्तावहरु राखेर प्रदेश कमिटीमा पठाउने छन् । प्रदेश कमिटीले २२ र २३ गते बैठक बसेर तल्लो तहबाट आएका प्रस्तावबारे छलफल गरी केन्द्रमा सिफारिस गर्ने छ । र, त्यो सिफारिस आइसकेपछि २६ र २७ गते स्थायी कमिटीको बैठक बसेर प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नामबारे अन्तिम टुंगो लगाउने र यो २९ गतेभित्रमा समानुपातिकतर्फ र यो महिनाको अन्तिमसम्ममा हामी सबै उम्मेदवारहरु घोषणा गरिसक्ने कार्ययोजना बनाएर अघि बढिरहेका छौँ ।

भनेको २९ गतेभित्र समानुपातिकको मात्रै उम्मेदवारी टुंगिने र प्रत्यक्षको त्यसपछि मात्रै टुंगिने हो ?
–करिब–करिब समानुपातिक र प्रत्यक्षका उम्मेदवारको नामावली एकै पटक नै टुंग्याउने गृहकार्य भइरहेको छ । सैद्धान्तिक हिसाबमा त हामीले जिल्ला कमिटी र अरु कमिटीहरुबाट समानुपातिकमा ३ जनाको नाम माग्न भनेका छौँ । प्रत्यक्षतिर आएको समानुपातिकतर्फ आम रुपमा नगर्ने भने पनि कतिपय ठाउँमा भोलि उम्मेदवारहरुको सन्तुलन मिलाउने, विभिन्न पक्षहरुलाई ध्यान दिँदा केही अदलवदल पनि हुने भएकाले समानुपातिक उम्मेदवाहरु अन्तिम गर्ने बेलामा प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पनि लगभग अन्तिम भइसक्छ ।

यस्तो व्यक्तिलाई टिकट दिने भनेर केही आधार वा मापदण्ड बनाउनु भा छ ?
–हामीले मापदण्ड बनाएका छौँ । पार्टीप्रति प्रतिवद्ध, इमानदार, पार्टीमा लामो समयसम्म योगदान गरेको, पार्टीका नीति कार्यक्रम र पार्टीका संस्थागत निर्णयहरु बोक्न सक्ने, त्यसको पक्षमा उभिन सक्ने, संसदमा गइसकेपछि संसदीय क्षेत्रको प्रर्दशनलाई पनि महत्वका साथ बहन गर्न सक्ने व्यक्ति भनेका छौँ । यस्तै, जनतामा लोकप्रिय भएको, समावेशीता र जनताको प्रतिनिधित्वलाई ध्यान दिने, हिजोको निर्वाचनमा उठेर पराजित भएकाहरु अथवा जितेकाहरुलाई प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सिफारिस नगर्ने मापदण्ड बनेको छ । हिजो बागी विद्रोहीको पक्षमा लागेका, पार्टीलाई लागेकालाई घात गर्नेहरुलाई टिकटबाट बञ्चित गर्ने भनेर हाम्रो स्थायी कमिटीले हाम्रो मातहतसम्म त्यो सर्कुलर गरिसकेको छ । त्यसलाई मध्येनजर गरेर तलका समितिहरुले नाम सिफारिस गर्ने छन् ।

केन्द्रीय कमिटीको बैठकमा पार्टीको एक जनालाई प्रधानमन्त्री घोषणा गरेर चुनावमा जानुपर्ने कुरा उठेको थियो, कसैलाई उठाउने निर्णय भयो कि बाँकी छ ?
–विभिन्न समूहहरुबाट कुरा उठ्ने भनेको आधारभूत रुपमा तल काम गरिरहनु भएका र आफ्नो क्षेत्रमा नेतृत्व गरिरहेकाहरुले जनताको भावना के छ, क्याडरहरु के चाहन्छन् र अहिलेको राष्ट्रको आवश्यकता के हो भन्ने अर्थमा नै ति कुराहरु प्रतिविम्बित भएका हुन् । नितिगत हिसाबमा अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको प्रतिवेदन पास भइसकेको छ । बाँकी नारा, घोषणापत्र बनाउँदा यी कुराहरुलाई समावेश गरेरै जान्छौँ र सुझावमा आएका धेरै कुराहरुका आधारमा नै मापदण्ड बनेका छन् । पार्टी स्थायी कमिटिले आफ्नो योजनाका साथ लैजाने छ । पार्टी केन्द्रीय कमिटीमा अभिव्यक्त भएका धारणाहरुका आधारमा नै सबै कुराहरुलाई समेटेर हामी अगाडि जान्छौँ ।

अहिले तालमेलको चलन छ, तालमेल गर्नु हुन्न ?
–हामीले स्थानीय तहको निर्वाचनमा पनि तालमेल गरेका छौँ । हामी एक्लै उठ्न सक्छौँ, पहिलो पार्टी हौँ । जनताले हामीलाई स्थानीय तहको निर्वाचनमा पहिलो पार्टीको म्यान्डेड दिए । चाहे त्यो सिट संख्याको आधारमा होस् वा चाहे त्यो पपुलर मतको आधारमा होस् अथावा वडामा निर्वाचित भएका  जनप्रतिनिधिको संख्याको हिसाबले होस् । यसो गर्दा हामीले अरु पार्टीसँग नमिलेर उठ्नै सक्दैनौँ, बैसाखी लगाएर, काम्रो बाँधेर मात्रै उठ्नु पर्छ भन्ने तहमा हामी छैनौँ । तर, मुलुकको पहिलो पार्टी भएका नाताले एजेण्डा मिल्ने दलहरुसँग चुनावी तालमेल गरेर अघि बढ्न सकिन्छ ।

एउटा कुरा भनिदिनु न, अब चुनाव महंगिएको हो, शुद्ध राजनीति गरेर चुनाव लड्न नसक्ने अवस्था आइसकेको हो ?
–निर्वाचनको बारेमा विभिन्न समयमा प्रश्नहरु उठिरहेको छ । निर्वाचन खर्चिलो भो, भड्किलो भो, सत्ताको दुरुपयोग गरेर अझ यसलाई महंगो बनाइयो, यसमा अझ सम्पत्ति हुनेहरुले मात्र चुनाव लड्ने खालको बातावरण बन्दै छ र यसलाई आवश्यक नियन्त्रण गर्नु पर्छ । र, त्यसलाई एउटा विधिभित्र ल्याउनु पर्छ भनेर विभिन्न समयमा बनेका आयोगहरुले सरकारलाई रिपोर्ट पनि दिएका छन् । त्यो रिपोर्ट दिँदा दिँदै सरकारले सत्ताको दुरुपयोग गरेर रकमान्तर गरेर पैसा तल पठाउने अरबौँ भ्रष्टाचार गरेर कमाएका पैँसाहरु निर्वाचनमा प्रयोग गर्ने गरिदियो । संवैधानिक अंगहरुले समेत सत्ताले गरेका क्रियाकलापलाई टुलुटुलु हेर्ने त्यसको प्रतिवाद नगर्ने भएकाले निर्वाचन खर्च अझ बढेर गएको छ । तपाईले उठाउनु भएको प्रश्न छ, निष्ठाको निम्ति, समाजसेवाको निम्ति, आधारभूत तहमा राजनीतिको मूल मियो भन्दा पनि तडक भडक र पैसाको कुराले प्रभाव पार्ने खालका समस्याहरु झनपछि झन् विकराल बन्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ