एमालेसँग माओवादीको एकता हुनै सक्दैन (अन्तर्वार्ता)
एकता सजिलो छ, भन्नेहरु रुखको फेदमा बसेर हल्लाउने प्रवृतिका हुन्
प्रकाशित २०७४ असोज १६ सोमबार
527
Shares
प्रमुख विपक्षी दल एमालेले आगामी चुनावमा वामपन्थी दलहरुसँग तालमेल र सहकार्य भनेको छ । एमालेले सत्तारुढ माओवादीसँगको तालमेललाई पनि प्राथमिकतामा बतारहकै बेला माओवादी केन्द्रका केही नेताले एमालेसँग तालमेल भन्दा पार्टी एकता गर्न सजिलो हुने बताएका छन् । दुवै पार्टीभित्र यो समीकरणका लागि छलफल भएकै हो त ? के एमालेसँग कार्यगत एकता वा पार्टी एकता हुनसक्छ ? हामीले माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य लिलामणि पोखरेलसँग कुरा गरेका छौँ । प्रमुख विपक्षी एमालेले पनि वामपन्थीहरुसँग तालमेल र सहकार्य गर्ने भन्यो, नभन्दै तपाईहरुकै नेताहरुले त पार्टी एकता नै गर्न सजिलो भनिदिनु भो, यो सम्भव छ ?
–अहिले एमालेसँग पार्टी एकता सम्भवन छैन । अहिले नै यो सम्भव छैन ।
कसरी ?
–किन भने धेरै कुराहरुमा अन्तर छ ।
के–के कुराहरुमा अन्तर छ ?
–नेपालको सामाजिक परिवर्तनको आन्दोलनको निम्ति लिएका विचार, दृष्टिकोण, संगठनात्मक विधि यि सबै कुराहरुमा फरक छ । त्यसकारण पार्टी एकताको निम्ति अहिले संवाद चलाउने वा संवाद चलाएर पार्टी एकता अहिले सम्भव बनाउने भन्ने कुरा मैले देख्दिन । अरु साथीहरुले के कसरी भने त्यो मलाई थाहा छैन ।
तर, माओवादी केन्द्रले लिएको मूलभूत वैचारिक, राजनीतिक प्रश्न र सांगठनिक प्रश्नहरुमा अहिले एमालेसँग त्यो दृष्टिकोणका हिसाबले सम्भव छैन । आधारभूत व्यवहारका हिसाबले कतिपय अवस्थामा एमालेको विधि व्यवस्थापन भन्दा माओवादी कतिपय कुरामा कमजोर होला । सांगठनिक विधि व्यवस्थापनका हिसाबले भन्दै छु है । तर, दृष्टिकोण र सांगठनिक सिद्धान्तका हिसाबले भन्ने हो भने भिन्न छ । जसले तत्काल पार्टी एकताको संवाद चलाईहाल्ने भन्ने कुरा मैले देख्दिन ।
त्यसो भए, पार्टीका जिम्मेवार नेताले किन बोलिदिन्छन् त ?, केही न केही त कुरा भयो होला, हावा नलागि पात हल्लिदैन भन्या जस्तो ?
–होइन कहिले काँही रुखको फेदमा बसेर पनि हल्लाउन सकिन्छ के । तर, वरिपरि हल्लिदैँन एउटा रुखमात्रै हल्लिन्छ । फेदमा बसेर हल्लाउने प्रवृति चिन्तनको प्रवृति होला । मलाई थाहा छैन । यो संवाद अगाडि बढिसक्यो भन्ने लाग्दैन । म पनि हिजो पार्टीको केन्द्रीय कार्यालय हुँदा सदस्य थिँए । अहिले केन्द्रीय सचिवालय छ, त्यसको पनि सदस्य छु, त्यस्तो छलफल भएको जस्तो त लाग्दैन ।
अनि के कार्यगत एकता सम्भव छ त ?
–जहाँसम्म कार्यगत एकताको प्रश्न छ । कार्यगत एकताको प्रश्नमा हाम्रो नेपालको वाम आन्दोलन असाध्यै विश्रृंखलित भएको छ । अविश्वसनीय ढंगले आन्दोलनमा कार्यगत एकतासम्म पनि हुन नसक्ने स्थितिहरु आज सम्म बन्दै आएको छ । केही कालमा कुनै आन्दोलनका पृष्ठभूमिहरुमा सँगै गएता पनि आन्दोलन सम्बन्धि आफ्नो शैलीको विश्वसनीयताका अभावले त्यो पूरा बन्न सकिरहेको छैन । अलिक दीर्घकालीन प्रकृतिको कार्यगत एकताका निम्ति एजेण्डाहरुलाई सुनिश्चित गरेर के–के एजेण्डामा, कुन–कुन एजेण्डामा कोसँग कार्यगत एकता गर्ने भन्ने प्रश्न उठ्छ । कार्यगत एकता भन्ने वित्तिकै वापन्थी हुन् त्यो कारणले एकता गरिहाल्नु पर्छ र कार्यगत एकता भइहाल्छ भन्ने होइन ।
कार्यगत एकताको सिद्धान्त के हो भन्दा ? के–को निम्ति एकता भन्ने पहिलो तय भएपछि त्यसले शक्तिहरुको माग गर्छ । कुन–कुन् शक्तिहरुसँग यो एजेण्डामा सहमत हुन सकिन्छ त भनेर शक्तिहरुको खोजी हुन्छ । शक्ति छ त्यसकारणले एकता गरौँ भन्ने होइन, एजेण्डा छ, एजेन्डाले मागेका शक्तिहरुसँग कार्यकता एकता हुन सक्छ । र, नेपालको अहिलेसम्मको स्थितिमा एजेण्डाको आधारबाट कार्यगत एकता भन्दा शक्तिको आधारबाट कार्यगत एकताको खोजी गर्ने जुन अभ्यास रहेको छ । त्यो अभ्यास विधिगत रुपमा पनि गलत छ । तत्कालिक सम्भावनाका हिसाबले पनि गलत छ । कहिलेकाँही एजेण्डाको खोजीमा अरु शक्तिहरुसँग छोटो समयको निम्ति हुने गरेको छ । जस्तो, संविधान कार्यान्वयको सन्दर्भमा, संविधान जारी गर्ने सम्बन्धमा तीनवटा पार्टीहरुकोबीचमा कार्यगत एकता केही समयको लागि भयो । संविधान जारी गर्नका निम्ति । संविधान कार्यान्वयनको सन्दर्भमा केही जटिलता सिर्जना भयो । केही जटिलता केही अविश्वसनीयता भएकाले स्थितिमा फेरबदल भयो र फेरि अन्य राजनीतिक शक्तिसँग यो कुरा भइरहेको छ ।
तपाईले क्षणिक मात्रै कार्यगत एकता भएको उदाहरण दिनु भो, अहिले चुनावको लागि मात्रै कार्यगत एकता भन्ने खोजिएको हो कि ? के होला त ?
–यो त मैले चुनावको लागि मात्रै पनि भनिन । एमालेले उठाएको मुद्दा अहिले मैले राम्रोसँग बुझेको छैन । सतही रुपमा बुझेको छु भने नेपाली काँग्रेस र माओवादी केन्द्रको बिचमा सहकार्य भएर स्थानीय तहको निर्वाचन देखि अन्य तहको निर्वाचन गर्ने सम्मनको सरकारमा एउटा जुन सहकार्य भयो । म यसलाई कार्यगत एकता पनि भन्दिन । यो त सरकारमा सहभागिता मात्रै हो । कार्यगत एकता भनेको त सबै ठाउँहरुमा निर्वाचनमा तालमेल मिलाउने र संयुक्त ढंगले निर्वाचनमा जाने भन्ने हुन्छ । त्यो पनि देखिएको छैन । हामी एक्ला एक्लै चुनाव लडेका छौँ । एकाध ठाउँहरुमा एमालेसँग पनि भएको छ । एकाध ठाउँमा काँग्रेससँग पनि भएको छ । एकाध ठाउँमा राप्रपा पनि मिलेको छ । केन्द्रीकृत योजना अन्र्तगत कार्यगत एकताको शैलीले यो भएको छैन । काँग्रेस र माओवादी केन्द्र सरकारमा रहेर संविधान कार्यान्वयनको अवधिसम्म हामी अर्को समीकरणको स्थिति नआइपुगुन्जेल देखिएको समीकरण भनेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भइसकेपछि त्यसले शक्तिहरुको पहिचान गराउँछ ।
त्यतिन्जेलसम्मका लागि अहिले सरकारमा सहभागिता अर्थात् सरकारमा सहकार्य भइरहेको छ । सरकारमा सहभागिता कस्तो छ भने, आ–आफ्नो भागमा परेको मन्त्रालय आफ्नै ढंगले चलाउने गतिविधि देखिएको छ । कतिपय ठाउँमा सहकार्य गर्दा हामीले आफुहरुलाई नीतिगत रुपमा घाटा भएको पनि महसुस गरेका छौँ । कतिपय अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा भो, नेपालको अरु कतिपय मुद्दाहरुमा भो, सरकार निर्माण गरेर जम्बो मन्त्रीमण्डल बनाउने सन्दर्भमा भो, कुटनीतिक क्षेत्रमा नियुक्ति आदिका बारेमा भो । यी कुराहरुमा हामीले घाटा व्यहोरेका छौँ । त्यसैले हाम्रो पार्टीमा एमालेसँग पार्टीगत एकतासम्बन्धि बहस चलाउने भन्ने कुराहरु केही पनि भएको छैन ।
एउटा कुरा के हुन सक्छ भने, निर्वाचनमा वामपन्थी शक्तिहरुको दीर्घकालीन कार्यगत एकताको सहकार्यको स्थितिलाई अगाडि बढाउन सकिने सम्भावना हुन सक्छ, गर्न सकिन्छ । नसकिने कुरो होइन । अलिकति दीर्घकालीन योजना हुनुपर्छ ।
दीर्घकालीन योनना भन्नाले के ?
–जस्तो काल सम्मका एजेण्डाहरुलाई हामी कहाँसम्म हो लिएर जाने ? कुन–कुन एजेण्डामा जाने ? अबको राज्य निर्माणको प्रश्न, शासकीय स्वरुपमा आएको परिवर्तनको प्रश्न, शासकीय स्वरुपमा पनि सुधार गर्नु पर्ने प्रश्न, संसदीय व्यवस्था रहेका त्रुटीपूर्ण व्यवस्थाले ल्याउने अस्थिरतालाई कसरी स्थिर बनाउने ? राज्य निर्माणको प्रश्नमा, विकास निर्माणको प्रश्नमा, शक्तिहरुको डिभोलुशनको प्रश्नमा, स्थानीय तहमा शक्तिको हस्तान्त्रण गर्ने प्रश्नमा, संवैधानिक रुपमा गरिएका व्यवस्थालाई अभ्यास गर्ने सन्दर्भमा, हाम्रो राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको रक्षाकै सन्दर्भमा, जनताको आधारभूत जीवनस्तर विकास गर्ने सन्दर्भमा निर्माण हुने दीर्घकालीन विकास निर्माणको योजनाका सम्बन्धमा । दृष्टिकोणका हिसाबले यी कुराहरुमा सहकार्य गर्नसकिने अवस्था त हुनै पर्छ । मिल्दा जुल्दा एजेण्डा नभएका होइनन् । तर, हामीसँग आग्रह, विश्वासका केही जटिलता हुन् ।
तपाईले भनेका कुराहरुलाई गहिरिएर हेर्ने हो भने, यसका लागि समय लाग्ने र पर्याप्त अभ्यास चाहिन्छ भन्ने हो ?
–तर, एउटा कुरा । हाम्रो संस्कृति र हाम्रो चलन के छ भने थोरै समयमा पनि हामी मिलेका उदाहरण छन् । त्यो देखिदै आको छ । केही कुराहरुमा थोरै समयमा सहमति भइहाल्ने, कहिले काँही लामो पर्याप्त समय हुँदा पनि त्यो समयलाई खेर फालेर छोटो समयमा त्यस्ता सहकार्यहरु भएका छन् । त्यस कारण अहिले सम्भावना छँदै छैन, भन्ने होइन । अबको निर्वाचनको निम्ति दुवै वामपन्थी पार्टीको बिचमा टिम निर्माण गरेर जाने हो भने, एक हप्ता भित्रमा सबै कुराहरु तय हुन सक्छ । नसक्ने कुरा होइन । विल पावर हो । आफ्नै विश्वसनीयता र आफ्नै इच्छाशक्तिमा भर पर्ने कुरा हो ।
भनेको फाइदा घाटाको कुराले मात्रै हो अफ्ठयारो ?
–फाइदा घाटाको सन्दर्भमा हामीले के हेर्नु पर्छ भने, मेरो पार्टीलाई भन्दा मुलुकलाई फाइदा हुन्छ कि हुँदैन ? समग्रमा देश र जनतालाई फाइदा हुन्छ कि हुँदैन । स्थानीय चुनावलाई नै हेर्नु हुन्छ भने हामीले नै सरकार चलायौँ तर, सबैभन्दा घाटा हामीलाई नै भा छ । तर, निर्वाचन भयो । जनतामा नयाँ आहा जगाइदियो । लोकतन्त्रमा विश्वासको वातावरण बन्यो । त्यसअघि त निर्वाचन हुन्छ भन्ने पनि कसैले कल्पना गरेका थिएनन् । अविश्वासै अविश्वास थियो । तर, निर्वाचन भयो । अब हामी अर्को निर्वाचनमा जाँदै छौँ, त्यो के हो भने विल पावरको प्रश्न हो । त्यसकारण विल पाउर हामीले प्रयोग गर्ने हो भने हामी सहकार्य गर्न सक्दैछौँ ।
तालमेललाई नागरिकले कसरी बुझ्ने ? या दलहरुले एक्लाएक्ले चुनाव लड्न सक्दैनन्, या सांगठनिक रुपमा कमजोर छ, कि त अहिलेको मिश्रित निर्वाचन प्रणालीको सिकार हुने डर हो, के बुझ्ने ? किन हुन्छ तालमेल ?
–तपाई भनेको कुरा ठिक हो, अहिलेको निर्वाचन विधि प्रत्यक्ष र समानुपातिक । र, संसदले बनाउने सरकारको विधिका कारणले नेपालको शासकीय स्वरुपमा स्थायीत्व नआउने भयो । सधैँभरी हङ पार्लियामेन्ट बन्नुपर्ने अवस्था आयो । हङ पार्लियामेन्टले स्थायित्व दिँदैन । हामीले हिजो भनेका थियौँ प्रत्यक्ष निर्वाचित राष्ट्रपति, एमालेले भनेको थियो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री । जाऔँ न संविधान संशोधन गरेर । जसले स्थायित्व दिन्छ । पाँच वर्षसम्म एउटा राजनीतिक पार्टीले सरकारको नेतृत्व गर्छ । संसद बनाउने सन्र्दमा यही निर्वाचन प्रणालीमा गएपनि माथि शासन चलाउने ठाउँमा अर्थात राष्ट्रपतिको हकमा जान सकिन्छ । सुधार गर्न सकिन्छ । भोलि हामी यो एजेण्डा लिएर अघि बढ्न अहिलेदेखि सहकार्य गर्न सकिन्छ ।
के तपाईहरुले भन्दै आएको पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान सकिन्छ ?
–हामीले यो गर्न नसकिने र गर्न नहुने भन्ने कुरा होइन । जस्तो अहिले स्थानीय तहलाई अधिकार दिइएको छ, कतिपय दलहरुले स्थानीय तहलाई दिएको अधिकार बढी भो भने । अभ्यास गर्न जान्दैनन् । जनताहरु अभ्यस्त छैनन् । यो कुराहरु प्रयोग गर्न जान्दैनन् भनेर भने । यो कुराहरु गरेर मात्रै थाहा हुन्छ । त्यसकारण हामीले समानुपातिक समावेशी सिद्धान्तको आधारमा प्रतिनिधित्व गराउने कुराहरुका निम्ति हाम्रा राजनीतिक पार्टीमा देखिएको संकिर्णतावादी चिन्तनले गर्दा हिजोको भन्दा कम भएर आयो अहिले । हिजोको जुन पोजिसन थ्यो अहिले त्यो भन्दा कम भो । त्यो त विकास हुनु पर्ने । अहिलेको राजनीतिक सन्तुलनको हिसाबमा अहिले त्यो देखिँदैन । बन्ने सम्भावना कम देख्छु ।