- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बाबियाचौर । प्रवासीले बालविवाह र बाल हिंसा न्यूनीकरणका लागि अक्षयकोष स्थापनाका गरेका छन् ।
रोजगार, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका प्रवासी म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तरराष्ट्रिय कार्यसमितिको दरवाङमा आइतबारदेखि शुरु भएको महाधिवेशन उद्घाटनका क्रममा अक्षयकोष स्थापनाको घोषणा गरिएको हो ।
जिल्लाको सामाजिक, आर्थिक, स्वास्थ्य, शिक्षा र मानव विकासका लागि प्रमुख समस्या मानिएको बालविवाह र महिला हिंसाको समस्या न्यूनीकरणका लागि परिचालन गर्ने गरी अक्षयकोषको रकम परिचालन गरिने मोनाकी उपाध्यक्ष टीका गुरुङले बताए ।
महाधिवेशन उद्घाटनका क्रममा उपस्थित अतिथि र सहभागीबाट अक्षयकोषका लागि रु २० लाखभन्दा बढी सहयोगको घोषणा भएको उपाध्यक्ष गुरुङले बताए ।
अक्षयकोषका लागि मोनाले रु पाँच लाख, गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना घलेले रु पाँच लाख, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले रु पाँच लाख, उपाध्यक्ष भवन भट्टले रु दुई लाख सहयोग गरेका छन् ।
महाधिवेशनको उद्घाटन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले विदेशमा आर्जन गरेको सीप र स्रोतलाई नेपालको समृद्धिमा परिचालन गर्न चाहेको बताए ।
उनले भूकम्प र विभिन्न प्राकृतिक प्रकोपमा परेका पीडितको राहत र पुनःनिर्माणका लागि प्रवासमा रहेका नेपालीले उल्लेख्य मात्रामा सहयोग गरेको बताए ।
संस्थापक अध्यक्ष महतोले नेपालमा राजनीतिक परिवर्तनपछिको विकास र समृद्धिको अभियानमा गैरआवासीय नेपालीले सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।
महाधिवेशन उद्घाटनका अवसरमा एनआरएन उपाध्यक्ष भवन भट्ट, जमुना घले, कुल आचार्य, रञ्जु वाग्ले, त्रिलोक गुरुङ, अर्जुन श्रेष्ठलगायतले एनआरएनको अभियानलाई गाउँ केन्द्रित गर्नुपर्ने बताए ।
कार्यक्रममा सांसदत्रय नवराज शर्मा, नरदेवी पुन र रेशमबहादुर बानियाँले म्याग्दीको जलविद्युत्, पर्यटन र कृषि क्षेत्रको विकासका लागि लगानी भित्र्याउन पहल गर्न प्रवासी म्याग्देलीलाई आग्रह गरे ।