arrow

हाम्रा राम्रा दिन आइरहेका छन्

logo
रामचन्द्र पौडेल 
प्रकाशित २०७४ कार्तिक ११ शनिबार
paudel-ramchandra-news.jpeg

तीस वर्षे निर्दलीय निरङ्कुसताको अन्त्यपछि भएको प्रतिनिधिसभाको निर्वाचन, २०४८ मा पहिलेचोटि तनहुँबाट चुनाव लड्दा प्रायः सबै ठाउँ पैदल हिडेर पार गरेको थिएँ । मोटर बाटो कतै थिएन । व्यास मार्ग, भानु मार्ग कुटोकोदालोले खनेर शुरुमात्र गरेका थियौं । विजुलीको अत्तोपत्तो कतै थिएन । जताततै खानेपानीको हाहाकार । कताकति रहेका स्कुलहरु कटुसका स्याउलाले छाइएकाले धर–धर पानी चुहिएकाले केटाकेटीको कन्तोविजोग हुन्थ्यो । गाउँघरमा स्वास्थ्यचौकीको नाम निशान थिएन । सञ्चार सुविधा सदरमुकाम बाहेक अन्त कहीं थिएन । भएका पद्दति पनि ज्यादै कमजोर र पुरानोे । जनताको आर्थिक हालत विपन्न गाउँ घरमा दुईहजार रुपियाँ निस्कन मुस्किल पथ्र्यो । आधा पेट खाएर, आधा हर लगाएर गाउँवेसी भारी बोकेर कष्ट काटिरहेका जनता ओइरो लागेर सुविधा खोज्दै बसाई सरिरहेका थिए । 
त्यस्तै हालत देखेर मैले चुनावमा जादै गर्दा वरभञ्ज्याङ्गको विचारी चौतारमा उभिएर भने ‘गाउँहरूबाट अस्थिर भएको मनलाई गाउँमै आधुनिक सेवा र सुविधा पुर्‍याएर बसौ बसौं बनाउन म राजनीतिमा लागेको हुँ ।’

चुनाव जितेर स्थानीय विकास मन्त्री बन्नासाथ आफ्ना प्रधानमन्त्री र सरकार समक्ष ग्रामीण स्वाबलम्वन कार्यक्रम प्रस्तुत गर्दै प्रत्येक गाउँमा बाटो विजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चार पुर्‍याउने ग्रामीण विकासको अभियान शुरु गर्न मैले सुझाएँ । हामीले पहिलोपटक गाविसमा पैसा पठाउन शुरु ग¥यौं । स्कुलहरुलाई जस्तापाता पठायौं । चार हजार गाउँमा एकैचोपटक दस्वास्थ्य चौकी स्वाथ्य केन्द्रहरु खोल्यौं । टेलिफोनको विस्तार शुरु गर्‍यौं । सातौं विद्युतीकरण योजना तनहुँको निर्वाचन क्षेत्र नम्बर १ मा पनि शुरु भयो । खानेपानीका योजनाहरु गाउँगाउँमा शुरु भए । पानीको स्रोत नभएका ठाउँहरुमा पनि आकाशे पानी सङ्कलन र पछि लिफ्ट खानेपानी र सिंचाई योजना समेत शुरु भए । आज मादीको पानी तानेर दमौलीमा खादैछौं । वैरेनी, चिन्तुटार जस्ता सुख्खा टारहरुमा लिफ्ट सिचाई शुरु गरेका छौं । 

पहिलो पटक मन्त्री बनेर जिल्ला फर्कदा स्वास्थ्य चौकी उद्घाटन गर्न नौ ओटा गाडी लिएर मैबलको डाँडोमा उक्लिएको घटना मेरो मानसपटलमा आज पनि ताजै छ । मिर्लुङ्ग, पोखरीछापमा मोटर चढेर पुग्दा बजेका मिर्लुङ्गे बाजा अहिले पनि कानमा रन्किरहेजस्तो लाग्छ  । आज तनहुँका प्रत्येक डाँडाकाँडामा देवघाटदेखि राईपुरकोटसम्म पुट्टारदेखि चोक चिसापानीसम्म सर्वत्र मोटर कुदेका छन् । स्कुल, क्याम्पस र कलेजका भवनमा  झल्झलाउँदा छानाहरु झल्किरहेका छन् । 

करौडौको लागतामा बनेका स्वास्थ्य केन्द्रका भवनहरू जताजतै झल्किरहेका छन् । सञ्चार सुविधामा चमत्कार भएको छ । तनहुँको कर्णाली भनेर चिनिने बैदी, छिपछिपे, कोटा र देवघाटका डाडाँहरु सडक यातयातले वेष्टित भएका छन् । सेती, मादी, त्रिशुली, मस्र्याङ्गदी र काली नदीमात्र हैन अन्य खोलानालामा  समेत भोलुङ्गे पुल र ठूलाठूला मोटरेवल पुलले हाम्रा विकट बस्तीहरु सुगम बन्दैछन् । वुद्धसिंह मार्गको निर्माणले गण्डकी र धौलागिरी मधेसबाट ३० किलोमिटर नजिक हुँदैछन् । 

हो, यो अवधिमा यति काम भएर मात्र पुग्ने हैन । धेरै काम हुनुपर्ने थियो तर यति काम पनि हामीले अत्यन्त प्रतिकुल अवस्थामा गरेका हौं । हामीलाई म ताक्छु मुढो, बन्चरो ताक्छ घुडा भएकै हो । हामीले केवल तीन वर्षको अवधिमा ग्रामीण विकासको जग हाल्न नपाउदै हामीमाथि वम प्रहार भयो । देशलाई कहिले ०५२ सालबाट शुरु भएको दशक लामो हिंसा, हत्या, कहिले रेलिङ्गभाच्ने ताण्डवहरु, कहिले राजाको प्रतिगमन, कहिले तराई आन्दोलनका साथै आपूर्ति समस्या, कहिले भूकम्पको धक्का त कहिले बाढी पहिरो प्रकोप र खासगरी नेपालमा कहिलै पनि राजनीतक व्यवस्थाको टुङ्गो लाग्न नदिने अस्थिरता कायम गर्ने प्रपञ्चहरुले हामीलाई शुरुशुरुमा काम गर्न नदिएकै हुन् । यस्ता विपद् व्यहोर्न नपरेको भए अहिलेसम्म नेपाल साच्चिकै स्वीजरल्याण्ड बनिसक्ने थियो । 

शान्ति प्रकृया टुग्याई संविधानसभाबाट संविधान निर्माण गर्ने र राजनैतिक व्यवस्थाको टुङ्गो लगाउने, अभियानमा हामीले केही समय बिताउनु पर्‍यो । राजनैतिक विवादहरुको टुङ्गो लागेपछि विकास र जनताको जीवनस्तर उठाउने समृद्धिको अभियानमा जुटन परेको छ  । राजनैतिक कारणहरुले पुनंसंरचाना भएका हाम्रा स्थानीय तह, निर्वाचन क्षेत्रहरु, प्रदेश तथा संघीय सरकारमा निष्ठावान व्यक्तिहरुको उपस्थितिले मुलुक अवश्य आशा र भरोसासहित अगाडि बढ्नेछ । 

“महङ्गो योजना भयो” भन्दाभन्दै पनि मेरो निरन्तरको प्रयासका कारण ४२ अर्बको सेती जलासययुक्त आयोजना एमाले मन्त्रीले विथोल्न खोज्दा खोज्दै पनि अहिले तनहूँमा आएको छ । त्यसरी नै मैले विशेष प्रयास गरेर गिरिजाप्रसाद कोइराला स्वासप्रस्वास केन्द्र तनहूँमा लगेको हूँ । अहिले त्यसलाई ठूलो शिक्षण अस्पतालकै रुपमा निर्माण गर्ने सहमति भारतसँग भैसकेको कुरा त्यहाँका प्रधानमन्त्रीले घोषणा गरिसकेका छन् । अब हाम्रो ४ नं प्रदेशको ठूलो अस्पताल तनहुँमा बन्दै छ । भारतीय राजदुतसँगको सम्बादले गर्दा खैरेनीदुलेगौडामा जी.पी.कोइराला स्वासप्रस्वास केन्द्र जो, धरानको वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मोडेलको शिक्षण अस्पताल सहितको विशाल स्वास्थ्य प्रतिष्ठान मित्रराष्ट्र भारतको सहयोगमा बन्ने भएको छ । यता वन्दीपुर र दमौली अस्पतालको क्षमता विस्तार पनि अघि बढ्दै छन् । 

तीन वर्ष अगाडि दोस्रो तनहुँ महोत्सवको समापन गर्दै मैले भनेको थिए – “मैले दमौली गा.वि.सलाई व्यास नगरपालिका त बनाए तर अहिलेसम्म नगरको आकार भन्नु २, १० र ११ वडामा मात्र सीमित छ । अब म यो नगरलाई विस्तार गरेर मिर्लुङ्गकोट, कोटा, वैदी, गलेखाम, राईकोट र रिसिङ्गकोटतिर विस्तार गर्न चाहान्छु ।” 

अहिले त्यो काम दिनानुदिन अघि बढ्दै छ । तनहुँसुर सडक, क्यामिन मार्ग, केशवटार मार्ग , कालिकामार्ग, भानु मार्ग, छाब्दी वरहा मार्ग, सिन्धुमार्ग र काँहुशिवपुर तथा मानुङ्गकोटमा  कालोपत्रे सडक कार्यक्रम शुरु भैसकेका छन् । एक दुई वर्ष भित्रैमा ती सम्पन्न हुनेवाला पनि छन् । ए.डि.वी र वल्र्ड वैकको सहयोगमा भिमाद भीरकोट र भीमकाली मार्ग कालोपत्रे हुदैछन् । राईपुर लगायत तनहूँका सबै डाडाँ काडाँमा पीच रोड उक्लदै छन् । मानुङ्गडाडा, दुम्सीचौर, फराकचौर, रानीगाउँमा पक्की सडक बनिरहेका छन् । 

मेरो राजनीति लहडको राजनीति हैन । म उच्च मिसनका लागि स्पष्ट भिजनका साथ राजनीतिमा छु । मैले “गाउँमै बसौं–बसौं”को आधा बाटो तय गरिसकेको छु । थुपै्र पूर्वाधार तयार भैसकेका छन् । तर  यो अझै अधुरो छ । मैले गाउँमै बसौ–बसौं बनाउन यतिका काम गरिसके पनि एकातिर त्यतिका सुविधा गाउँमा पुगिसक्दा गाउँभने अझै रित्ता हुदैछन् । सबै सुविधा गाउँमा पुगिसके तर गाउँ रित्तिदैछन् । यो विडम्बनापूर्ण अवस्था किन हो ? केले हो ? हुदाँहुदाँ गाउँबाट मात्र हैन देशबाटै जनशक्ति रित्तिदै छ । हाम्रा युवा कामको खोजीमा संसारभरि फिजिदै छन् । यो किन भैरहेछ ? उत्तर स्पष्ट छ । यहाँ अझै गरीवी, अभाव र वेरोजगारी व्याप्त छ । आम्दानीका आधार खडा भएका छैनन् । 

अब म यो समस्यातिर केन्द्रित भैरहेको छु । केही वर्ष यताआएर मैले मेरा साथीहरूसँग भन्ने गरेको छु – “यतिन्जेल हामीले विकासका पूर्वाधार निर्माणका कुरामा अगुवाई गर्‍यौं, अब जनताको आदानी बढाउने काममा अगुवाई गर्नुपर्छ ।” 

मैले नेपालको उन्नतिका तीन मुख्य आधारहरू भन्ने गरेको छु – १. कृषि क्रान्ति २. पर्यटनको विस्तार ३. उर्जा शक्तिको विकास । यिनै माध्यमबाट अब विदेशिएको नेपाली मनलाई स्वदेशमै बसौं–बसौं बनाउनुपर्छ । 

कृषि 
तनहूँमा यस दिशातर्फ ठोस काम हुँदैछन् । ठाउँ–ठाउँमा नयाँ कृषि फर्म– गाईपालन, वाख्रापालन, कुखुरापालन, मत्यपालन, तरकारी र फलफूल खेतीका फर्महरु खुलिरहेका छन् । व्यास ५, ६, ७, ८, ९, १० र ११ वडाहरू मिलाएर हालैमात्र कृषि मन्त्रालयले कृषि जोन घोषणा गरेको छ । आवँुखैरेनीदेखि याम्पासम्मको क्षेत्र पनि कृषि जोनकारूपमा अगाडि वढाइएको छ । त्यसबाट कृषकहरूले मनग्य सुविधा लिन सक्नेछन् । 

सिंचाई
सिंचाई मन्त्रालयले नयाँ प्रविधिसहितको टार सिंचाई योजना अघि बढाएर योजनाको  कार्यालय तनहँुमा भर्खरै स्थापना भएको छ । अब हाम्रा मस्र्याङ्गदी किनार, मादी किनार, सेती र काली किनारका ठूला टारहरुमा सिंचाई सुविधा उपलब्ध गराइनेछ । एवंरीतले नयाँ प्रविधि, आधुनिक औजार र व्यवसायीकरणका माध्यमले कृषिलाई थोरै मेहेनेत र कम लागतमा धेरै आम्दानी दिने पेशामा परिणत गरिदैछ । धुस्रे, मैले र दुःखी किसानका ठाउँमा सुकिला, मुकिला र सुखी सम्पन्न किसानको परिकल्पना अघि आउदैछ, जसबाट यसबाट ठूलो रोजगारीका अवसर खडा हुदैछ । 

पर्यटन
त्यस्तै पर्यटनको विस्तारका लागि हामीले व्यास परासर एकीकृत विकास योजनाअघि सारेर त्यसको गुरुयोजना तयार गरिसकेका छौं । देवघाट क्षेत्र, दमौली व्यास परासर क्षेत्र, थानीकोस्थान, छाब्दी वराह, ढोरवराहा र क्यामिन कालीका, अजम्बरी देवी र थुमथुममा रहेका देवी स्थान र शिवालय अनि भगेर स्थानहरु हाम्रो संस्कृतिका अमूल्य निधिहरु छन् । अहिले हामी तिनको विकासमा लागेका छौं । व्यास परासर एकृकीत पर्यटन विकास कार्यक्रम अघि वढदैछ । गुरु योजना तयार भैसकेको छ । विशेषगरी नेपाल र भारतका करोडौं हिन्दुहरुको आर्कषक तीर्थस्थल बनाएर तनहुँमा धार्मिक पर्यटनको विवकास गर्न सकिनेछ । वेद व्यासको भव्य मूर्तिसहित व्यास गुफाको विकास त्यस क्षेत्रमा व्यास भूmला, मत्स्यगन्धा सरोवर र सत्यवती बालउद्यान सहित अनेक हरियाली पार्कको निर्माणबाट दमौलीमा पर्यावरणीय सन्तुलनका साथै पर्यटन विकासमा ठूलो टेवा पुग्नेछ । 

त्यसरी नै भानु जन्मस्थलको विकास गरेर नेपालभरिको ठूलो साहित्यिक तीर्थस्थल चुदींरम्घामा  निर्माण हुदैछ । रम्घा डाँडाको वारको पार लहरै नेपालका सात प्रदेश प्रतिविम््िबत हुने सप्तधाम, नेपाल आमा भवन, रामायण भवन र मूर्धन्य साहित्यकारहरुका स्मारकहरु सहित भानु वगैचा नाम दिएर ठूलो साहित्यिक तीर्थ स्थलको निर्माण शुरु गरिएको छ  । जस्ले गर्दा चुँदी क्षेत्रलाई एउटा विशिष्ट साहित्यिक पर्यटन गन्तव्यमा परिणत गर्नेछ । त्यस्तै पाल्पावाट आएर सेनबंशी राजाले शासन चलाएको ऐतिहासिक तनहुँसुरको विकास गरी हाम्रो इतिहासको प्राचीन धरोहरमा हामी विचरण गर्न पुग्ने छौं र इतिहासको खोजकर्ताहरु र पुराना जमानाका जीवन शैली बुझ्न रमाउनेहरुका लागि ठूलो आकर्षणको केन्द्र र पर्यटन गन्तब्यका रुपमा हामी तनहुँसुर लगायतका ऐतिहासिक स्थलहरु, शहीद स्मारकहरु र अन्य प्राचीन महत्वका स्थलहरुको निर्माण कार्य अघि वढदैछन् । 

त्यसरी नै हाम्रा उच्च टाकुरा र डाँडाकाँडा अनि नदीनालाहरुको प्रयोग गरी हामी प्राकृतिक पर्यटनको विकास गर्दै छौं । छिम्केश्वरी, मिर्लुङ्गकोट, रिसिंङकोट, गलेखाम आदिको विकास तथा नदीहरुमा राफ्टिङको राम्रो प्रबन्ध गराई प्राकृतिक पर्यटनको विकास हामी गर्दै छौं ।

त्यस्तै हाम्रो जिल्ला संस्कृतिको पनि धनी छ । प्रसिद्ध कौरा नाच, मारुनी नृत्य, बालुन र झ्याउरे गीतको क्षेत्रमा पनि हामी धनी छौं । यिनको विकास र व्यवस्थापन गरी हामी साँस्कृतिक पर्यटन वृद्धि गर्न गइरहेका छौं । साथै रमणीय स्थानहरुमा खेलकुद मैदानहरुको निर्माण गराई सांस्कृतिक पर्यटनको  साथै खेलकुद पर्यटनको अर्को पाटो विकसित गर्न हामी लाग्दै छौं । 

पोखरामा निर्माण हुन गइरहेको क्षेत्रीय विमानस्थलबाट खैरेनीटार दमौली हुँदैं तनहुँतर्फ लक्षित गरी पृथ्वीराजमार्ग बिस्तारको योजना पनि शुरु भएको छ । यसबाट पोखरामा ओर्लने विदेशी पर्यटक तनहुँ, लम्जुङ, गोरखातर्फ आउन प्रेरित हुनेछन् । यसले पर्यटनको अझ बृद्धि भई हाम्रो जिल्लामा पर्यटन व्यबसाय फस्टाउने छ र ठूलो मात्रामा रोजगारी सिर्जना हुने छ ।

जलविद्युत 
त्यसरी नै उर्जा बिकासको क्षेत्रमा पनि हामी बिशेष प्रयास गरिरहेका छौं । सेती जलासययुक्त आयोजनाका साथसाथै तल्लो सेती जलविद्युत आयोजना शुरु गर्न मैले विद्युत प्राधिकरणलाई प्रेरित गरेको छु । त्यसको काम पनि चाडै शुरु हुदैछ । नेपाल विद्युत प्राधिकणले त्यसको लाइसेन्स लिइसकेको छ । यो योजनाले देशलाई अतिरिक्त १०५ मेघावट विद्युत उपलब्ध गराउने छ भने यो ऊर्जा शक्तिलाई हामी एक रसायनिक मल कारखाना तनहुँमै स्थापना गर्ने सक्नेछौं र ठूलो औद्योगिक विकाससँगै रोजगारी सिर्जना हुनेछ । तनहुँका अहिलेसम्म पछि परेका बन्दिपुर र दक्षिणको हाम्रो कछार क्षेत्र जगमगाउने छ र  स्यानीय वासिन्दाको जीवनस्तर निकैमाथि उठ्ने छ ।

शिक्षाको क्षेत्रमा पनि महत्वपूर्ण प्रगति हुँदैछ । गुणस्तरीय शिक्षामा तनहुँका दमौली, आबुखैरेनी र दुलेगौडा लगायतकाका कतिपय सामुदायिक विद्यालय निजीक्षेत्रका विद्यालयभन्दो गुणस्तरीय शिक्षा दिन सफल हुँदैछन् । नमुना विद्यालयको योजना अघि बढ्दै छ ।  हालै मात्र सिटीईभिटीलाई मैले भनेर नारेश्वरटारमा प्राविधिक शिक्षा शुरु भएको छ । त्यस्तै विभिन्न विद्यालयमा प्राविधिक शिक्षा शुरु हुदैछन् । जीवनोपयोगी शिक्षामा मेरो जोड रहेको छ । शीलवान र शिपवान नागारीक पेश गर्ने मेरो शैक्षिक उद्देश्य हो । 

खानेपानी 
खानेपानीको क्षेत्रमा तनहूँमा उल्लेखनीय काम भएका छन् । खानेपानीका मूल र सहज स्रोत भएजति गाउँ ठाउँलाई खानेपानी उपलब्ध गराएर र सहज स्रोत नभएका ठाउँमा आकाशे खानेपानी सङ्कलन योजना तथा लिफ्ट अर्थात सौर्य उर्जा र विद्युत ऊर्जावाट पनि तलवाट पानी तान्ने योजना सञ्चालन गराई सबैै गाउँवासीलाई खानेपानी दिने काम हामीले गरेका छौं । समग्रमा तनहुँ जिल्लामा भौतिक विकासको जुन जग बस्दैछ, जुन नयाँ काँचुली फेरिदैछ त्यो नेपालकै लागि एउटा नमूना, एउटा दृष्टान्त र सबैका लागि प्रेरणादायी उदाहरण बन्ने छ । 

सामुदायिक पुस्तकालय छात्रवास 
सामाजिक विकासका लागि सहकारी र सहशिक्षाका लागि तथा शिक्षण–प्रशिक्षण र बौद्धिक विकास, शारीरिक विकासका लागि गाउँगाउँमा सामुदायिक भवन, सहकारी भवन, पुस्तकालय भवन, छात्रावास भवनहरु निर्माण गरिएका छन् र यो चेतनाको स्तर उठाउने अनेक प्रयत्न भएका छन् । विशेषगरी महिलाहरुको सक्रियतामा भएका यस्ता कार्यहरु र युवाहरुको उत्साहमा उत्साह थप्न प्रशस्त आर्थिक सहयोग गरेको छु । 

तनहूँ जिल्ला मात्र हैन पूरै नेपालका लागि विकासको रथ अघि बढाउन देशमा शुसासन र स्वच्छ प्रशासनको खाँचो छ । मेरो प्रयाश त्यतातर्फ पनि केन्द्रित छ । भ्रष्टाचार, ढिलासुस्ती, कमिशनतन्त्र र नाफाखोरीको मैले सधै विरोध गरेको छु । राजनीतिमा हुने विकृतिहरु, महंगो निर्वाचनले लोकतन्त्रनै घायल हुन्छ र मुलुकको विकासनै अवरुद्ध हुन्छ भन्ने धारणा मैले सदैव राख्दै आएको छु । सामाजिक न्याय सहितको आर्थिक समृद्धि मेरो अर्थ राजनीति हो । लोकतन्त्र रक्षा गर्ने र स्वतन्त्र र समतामूलक समाज साकार पार्ने मेरो जीवनको लक्ष्य हो । प्रजातान्त्रिक समाज भनेर मैले “निमुखालाई न्याय र विपन्नलाई आय” भन्ने बुझेको छु र त्यही वाटोमा म देशलाई हिडाउन चाहन्छु । 

सम्पूर्ण नेपालमा एक शहर एक पहिचान बनोस भन्ने मेरो सोच रहेको छ । यस सोच अन्तर्गत यस क्षेत्रलाई मेडिकल र शैक्षिक क्षेत्रको रुपमा विकास गर्ने दिर्घकालीन सोच रहेको छ भने सम्पूर्ण तनहुँ जिल्ला कृषि, पर्यटन, संस्कृति र शैक्षिक गन्तव्य बनाउने रणनीतिक योजनाका साथ मैले कार्य गर्ने लक्ष्य लिएको छु । यस धारणाका साथ अव देशको विकास र तनहूँको विकास चमत्कारिक ढंगले अगाडि वढ्नेछ भनेर म सवै जिल्लावासीलाई आहवान गर्न चाहान्छु – यसपालिको आमचुनावमा निर्धक्क भएर रुख चिन्हमा मतदान गर्नुहोस् । अब हाम्रा राम्रा दिन आइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ