arrow

चिकित्सकका नेताको जवाफ : अस्पतालमा नमरेर विरामी कहाँ मर्छन् ? (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
muktiram.jpg

नेपाल चिकित्सा संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले मानवीय त्रुटीबाहेक चिकित्सकले कहिले पनि विरामीसँग लार्पवाही नगर्ने बताए । उनले भने ‘एउटा डाक्टरको पेशागत मर्यादा बढाउने विरामी नै हुन् , त्यसैले विरामीप्रति डाक्टरहरु जहिले पनि सम्वेदनशील हुन्छन् ।’ मानवीय त्रुटीले एकाध घटना हुन्छ, त्यसलाई अगाडि सारेर तोडफोडमा उत्रनु, अस्पतालको अनुमतिपत्र खारेज गर्न माग गर्नु  अराजक भएको डाक्टर श्रेष्ठको भनाई छ । पोखराको गण्डकी मेडिकल कलेजमा सुत्केरीको मृत्युपछि उत्पन्न घटनाको प्रसंगलाई जोडेर हामीले डा. श्रेष्ठसँग कुरा गरेका छौँ ।

० अस्पतालमा विरामीको मृत्युको घटना बारम्बार किन सुन्नु पर्छ ?
– विरामी अस्पतालमा नमरेर कहाँ मर्छ ? घरमा त कमै मर्छन् मान्छे । त्यसकारण बारम्बार सुन्ने घटना होइन, हुने घटना मात्र हो ।

० डाक्टरको लार्पवाहीले विरामीको मृत्यु किन हुन्छ भन्ने जिज्ञासा हो ?
– हचुवाको भरमा लार्पवाही भन्ने ? अनुसन्धान नगरी लार्पवाही भयो भनेर कसरी भन्न सकिन्छ । उपचारको क्रममा त्रुटी भयो भन्ने कुरा अनुसन्धानबाट मात्र तथ्य बाहिर आउँछ । हुलहुज्जत भन्यो भन्दैमा लार्पवाही हुँदैन ।

० गण्डकी मेडिकल कलेजको घटना के हो ?
– नर्मल तरिकाबाट प्रसुति भएन भने अप्रेशन गर्नुपर्ने हुन्छ । बच्चाको अवस्था हेरेर चिकित्सकले त्यसलाई उपचारमा लैजान्छन् । गण्डकी मेडिकल कलेजमा भएको घटना पनि त्यही हो । प्रसुतिका लागि एक साता समय हुँदाहुँदै पनि बच्चा र आमाको स्वास्थ्यमा प्रभाव पर्ने भएकाले अगाडि नै अप्रेशन गरियो । अप्रेशन गरिसकेपछिको घटना अनुसन्धान नगरी केही भन्न सकिन्न । विरामीको मृत्यु हुनु हुँदैन । चिकित्सकले विरामीसँग किन लार्पवाही गर्ने ? मेरो जिज्ञासा के हो भने, चिकित्सकले विरामीसँग लार्पवाही गर्दा के फाइदा हुन्छ ? सबैभन्दा बुझ्न जरुरी विषय यही हो ।

० उसाे भए, मृत्यु भएको पाँच दिनसम्म किन अस्पतालले सूचना दिएन ?
– विरामीको अवस्था जटिल भएपछि आईसीयूमा राखिन्छ । आईसीयूमा अरु मान्छे पस्यो भने संक्रमण बढ्छ, त्यसकारण एकजना मान्छेलाई मात्र भेट्न दिइन्छ । विरामीको विस्तृत विवरण सम्बन्धित मान्छेलाई जानकारी दिइएको हुन्छ । सबै प्रकृया पूरा गरिएको हुन्छ, विरामी राम्रो हुन्छ, त्यो कसैलाई वास्ता हुँदैन, घटना घटेपछि ती कुरा बढाइचढाइ गरिन्छ । विरामीको निधन हुनु दुःखको कुरा हो । यस्ता घटना हजारमा १ हुन्छ ।

० अस्पताल गएपछि विरामी जाति हुन्छ भन्ने आम बुझाइलाई चिकित्सकले कसरी बुझ्छन् ?
– चिकित्सकका लागि विरामी सबैथोक हो । दाम, नामलगायत सबथोक डाक्टरका लागि विरामी हो । एउटा विरामीलाई राम्रो गर्‍यो भने अरु विरामी पनि उसँग आउँछ । चिकित्सकले विरामीको उपचार राम्रोसँग गर्‍यो भने मात्रै उसको पेशागत मर्यादा बढ्दै जान्छ । भएका प्रविधि, प्रयास र अनुभव डाक्टरले विरामीमा प्रयोग गर्ने हो । त्यत्ति गर्दागर्दै पनि कतिपय घटना हुन्छ । यस्तो घटना नेपालमा मात्र होइन, संसारमै हुन्छ । अपे्रसन गरिसकेपछि नेपालमा ३–४ प्रतिशत विरामीको मृत्यु हुन्छ भने अमेरिकामा यो तथ्यांक ८–९ प्रतिशत छ । घटना भयो भन्दैमा तोडफोड गर्ने, हुलहुज्जत गरेर अस्पताल अवरोध गर्नु राम्रो होइन, कानुनी राज्य भएको ठाउँमा विधिसम्मत ढंगले अघि बढ्नुपर्छ । पीडितले कानुनी उपचार खोज्नु राम्रो हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ