- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा। २०४८ सालको आम निर्वाचनमा झापाको अहिलेको निर्वाचन क्षेत्र नम्वर एक तर त्यो बेलाको तीन नम्वर क्षेत्रमा राधाकृष्ण मैनाली उम्मेदवार थिए, कांग्रेसबाट चक्र बाँस्तोला थिए। त्यहाँ चर्चा केवल राधाकृष्णको मात्र थियो। मानौ चक्र उनका अगाडि केही होइनन्। झापा आन्दोलन, जेलनेल आदि इत्यादिमा कथा बुनिएका थिए, भएभन्दा धेरै।
एक पटक राधाकृष्णको दर्शन नगर्दा अपवित्र हुने हो कि जस्तो पारिएको थियो उनका कार्यकर्ताले। राधाकृष्ण जे हुन,त्यो भन्दा बढी उनको देवत्वकरण गरिएको थियो। तर त्यस्ता सर्वगुण सम्पन्न राधाकृष्ण, अत्याधिक मतले जितेपछि कहिलेपनि त्यो निर्वाचन क्षेत्रमा गएनन्। राधाकृष्णलाई चिन्ने जान्नेहरु भन्छन् राधाकृष्णलाई तत्कालीन क्षेत्र नम्वर तीनमा चुनाव जितेर अहिलेसम्म फर्केर नजानुमा कुनै पश्चाताप छैन। बरु एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका प्रचण्डलाई गाली गर्दै कुण्ठाग्रस्त जिन्दगी विताइरहेका छन,काठमाण्डौको सीतापाइलास्थित निवासमा।
त्यसपछि अर्का पात्र आए देवि ओझा, राधाकृष्णकै हाराहारीमा उनको देवत्वकरण गरियो। पार्टीको प्रमुख सचेतक भए तर उनले पनि माखो मारेनन्। राजनीतिक जीवनबाट लगभग अस्ताएका उनी न त एमालेमा नै छन, न त त्यस क्षेत्रमा जाने हिम्मत नै गर्छन। उनीहरुले केही गरेनन् किनभने उनीहरु त्यो जिल्लाका थिए तर क्षेत्रका थिएनन्। उनीहरु अहिलेको चलनचल्तीमा भन्दा डुलुवा (टुरिष्ट) नेता थिए। जित्ने त गएनन, गएनन, हार्नेहरु पनि गएनन। त्यो क्षेत्रवाट विगतका निर्वाचनमा कंग्रेसका चक्र वाँस्तोला, गोपाल बस्नेत र तत्कालीन मालेवाट पुष्प पोखरेल उम्मेदवार बनेर हारे, तर उनीहरु त्यसपछि कहिल पनि क्षेत्रमा गएनन्। किनभने उनीहरु पनि डुलुवा नै थिए। बरु क्षेत्र नम्वर एक कै स्थायी बासिन्दा भएर ०५६ मा चुनाव हारेका एमालेका बिष्णु प्रसाई अझै पनि त्यही क्षेत्रमा उत्तिकै सक्रिय छन।
त्यसपछि त्यो क्षेत्रवाट ०५६ मा कांग्रेसका नरेन्द्र बिक्रम नेम्वाङ्क, ०६४ मा माओवादीका धर्म घिमिरे र ०७० मा एमालेका रवीन कोइराला साँसद भए। ०६४ सालमा माओवादी आँधीजसरी आउदा साँसद बनेका धर्म घिमिरे आज आँधी जसरी नै बिलाए। उनी कहाँ छन माओवादीलाई नै थाह छैन। सायद राजनीतिबाटै सन्यास लिइसके। उनले त्यो क्षेत्रमा के गरे कसैलाई थाह छैन।
अव बाँकी रहे, नरेन्द्रबिक्रम नेम्बाङ र रवीन कोइराला। नरेन्द्र र रवीनले साचेजस्तो गरेनन् तर केही केही गरेपनि। तर ठूलो कुरा के हो भने उनीहरु चाहे जितुन या हारुन। क्षेत्र नम्वर एकबाट भागेका छैनन। धुलावारी आए नरेन्द्र हाजिर छन, काकरभिट्टा गए रबीन। किनभने उनीहरु डुलुवा होइनन्। गाली खाए क्षेत्रै खान्छन, तारिफ पाए क्षेत्रमै पाँउछन। क्षेत्र नम्वर एकका जनताको जन्तीमा होस या मलामीमा होस, उनीहरु भेटिन्छन। २०७० को निर्वाचनमा एमालेबाट रवीन उठे, काँग्रेसबाट विश्वप्रकास। दुवै निन्दाखोलाका पानी खाएका उम्मेदवार थिए। त्यो बेला यसले जिते हुने या यसले हार्नु पर्ने भन्ने बिषयले प्रबेश नै पाएन। किनभने उनीहरु दुबै क्षेत्र नम्वर एकका थिए।
अहिले त्यो क्षेत्रमा कांग्रेसवाट उनै बिश्वप्रकाश मैदानमा हुँदा बाम गठबन्धनले उठाएको छ राम कार्कीलाई। यसअघि एमालेबाट चर्चामा आएका धुलावारीका गोपाल बुढाथोकी उम्मेदवार भएका भए चर्चा गर्नुपर्ने कारणै हुन्थेन। तर ओखलढुंगामा जन्मेर सिन्धुलीमा कर्मथलो बनाएका, ०६४ को निर्वाचनमा ताप्लेजुङबाट कांग्रेसकै सूर्यमान गुरुङसँग चुनाव हारेका, त्यसपछि ताप्लेजुङ फर्केर नगई ०७० सालको निर्वाचनमा ओखलढुंगाबाट समानुपातिक उम्मेदवार बनेका उनै राम कार्की उम्मेदवार भएर आए बाम गठबन्धनका। ०६४ को निर्वाचनमा सारा माओवादीले जित्दा चुनाव हार्ने उनको खुवी कस्तो होला ? के गठवन्धनमा १ नम्बर क्षेत्रमा उम्मेदवार नै थिएनन् ? ०७० मा माओवादीबाट उठेका बोधराज दाहाल नै यसपाली उम्मेदवार भएका भए यस बिषयमा बहस गर्नुपर्ने कारण थिएन।
अहिले झापा क्षेत्र नम्वर एकमा कार्कीलाई ल्याएपछि उहाँ यस्तो, उस्तो, अति राम्रो, साह्रै राम्रो भन्न थालिएको छ। २०४८ मा राधाकृष्णलाई देवत्वकरण गर्नेहरु नै कार्कीको देवत्करणमा लागेका छन। यो क्षेत्रमा लागि दुर्भाग्य हो। राम कार्की बाम गठवन्धन वनाउन सकृय रहे, अद्ययनशील छन, बिचारक होलान, सामान्य छन त्यो आफ्नो ठाँउमा ठीक होला। तर,झापाको क्षेत्र नम्वर एकका लागि उनको कुनै योगदान छैन र दिन पनि सक्ने छैनन्। उनी समयलाई व्यवस्थापन नगर्ने भुलक्कड नेताका रुपमा चिनिन्छन। झापा क्षेत्र नम्बर एकको बिकास गर्ने हो भने चाहे निन्दा होस या मेची, टिमाइ होस या काली, यी खोलाको पानी खाएकै हुनुपर्छ। चाहे काँग्रेसको होस या एमालेको होस माअेवादीकै किन नहोस। डुलुवा उम्मेदवार किमार्थ हुनुहुँदैन। यसर्थमा बिश्वप्रकाश नै ठीक छन, विष्णु प्रसाई नै ठीक छन र बोधराज नै ठीक छन। उनीहरु जसले जिते नि एक नम्वर क्षेत्रले जित्छ, जसले हारे नि उही क्षेत्रले हार्छ।
राम कार्कीले मन्त्री हँदा बुझाएको सम्पत्ति विवरणमा भक्तपुरमा १९ आना जग्गा, ओखलढुंगामा चार रोपनी जग्गा,१० तोला सुन र १४ लाख रुपैया बैक व्यालेन्स उल्लेख गरिएको छ। झापा क्षेत्र नम्वर एकवाट उम्मेदवारी दिएपछि बुधवारेमा जग्गा छ भनेर जनतालाई ढाँटेपनि सम्पत्ति विवरणमा त्यो उल्लेख गरिएको छैन। सम्पत्ति बिवरणमा कार्किले भारतको दार्जिलिङ्गमा दुइवटा घर भएको उल्लेख गरेको भन्दै व्यापक आलोचना भएको पनि थियो त्यो वेलामा। कार्कीका घरका बारेमा एमाले कार्यकर्ताले नै धेरै प्रचार गरेका थिए। राम कार्कीको सम्पत्तिका अगाडी बरु बिश्वप्रकाश सर्वहारा देखिन्छन।
राम कार्कीले माओवादी द्धन्द्धको समयमा मेची अन्चलमा काम गरेको भनेर प्रचार गरिएको छ त्यो सत्य पनि हो। तर वास्तवमा उनी त्यो समय धेरै सिक्किममा विताउँथे भन्छन उनलाई नजिकबाट जान्नेहरु। उनकी श्रीमति सिक्किम सरकारको उच्च अधिकारी हुन। सिक्किम मै बसेर काम गर्न मिल्ने मेची अन्चल पाएक भएपछि कार्कीले मेची अन्चल नरोजून पनि किन ? सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङसँगको सम्बन्धका कारण नयाँ दिल्लीसम्म पनि सम्बन्ध विस्तार गर्न सफल भएकै हुन कार्की।
तर, संसदीय सुनुवाइको क्रममा भारतीय कम्युनिष्टसँग सम्वन्ध विस्तार गर्छु भनेपछि हातमा आइसकेको राजदूत पदवाट हात धोए। एमाले अध्यक्ष ओलीले डटेर भारतको नाकावन्दी खेपेको बेला कार्कीले चीनसँगको नाका खोल्नै हुँदैन, पर्यावरण बिग्रन्छ भनेर ठाँउ ठाँउमा बोल्न भ्याए । त्यो बेला कार्कीको बोलीको विरोध गर्नेहरु युवा संघका कार्यकर्ता थिए ।
चाहे जतिसुकै बाम गढबन्धनको कुरा गरेपनि अहिलेको गठबन्धन सत्ताको गठबन्धन हो। नत्र बाम गठबन्धनमा राप्रपा हुन्छ त ? सचेत नागरिकलाई भुलभुलैयामा लंगिदै छ। डुलुवा उम्मेदवारको देवत्वकरणबाट पिल्सिएको झापा क्षेत्र नम्वर एकले चाहे जुन पार्टीको भएपनि आफनै क्षेत्रको स्थानीय उम्मेदवार जिताएर देखाउनु पर्छ। नत्र पुरानै रोग बल्झन्छ, त्यो क्षेत्रको लागि दुर्भाग्य हुन्छ।