arrow

'मतदाता भोट खसाल्ने प्रयोगशाला मात्रै हुन नेता ज्यू ?'

logo
दिनेश न्यौपाने,
प्रकाशित २०७४ मंसिर १६ शनिबार
dinesh.jpg

अछाम । अण्टीलाई व्यथाले सार्है च्यापीसकेको थियो । सबैले अस्पताल लैजाने निधो गरे । मेरो गाँउँबाट करिब ६ घण्टा टाढा । मलाई बिरामी बोक्ने स्टेचर ल्याउन पठाइयो । बिहानीको मिर्मीरेसंगै म गएँ । मंसिरको महिना सितका थोपाहरु पन्छ्याउदै । सिंगो छिमेकी मेरो पर्खाइमा रहयो । चिसो बिहानी, खल्तीमा हात लुकाउदै जाडोले थुरथुर काप्दै हुहुहु गरेको मेरो मुखारबाट एउटा कम्पन निस्कीदै थियो । चिन्तित देखिने मेरा नयन, भुक भुक गर्ने मेरो मन ।  

अझ त्यो भन्दा अर्को पिर १३ महिनाको सानो भाइको अवस्थाले सार्है पिरलिएको थियो । म स्टेचर ल्याउन दौडिदै गर्दा ओल्लो पल्लो स साना खोला तर्दै काँहि उकालो त काँहि ओरालो चढ्दै, एक पछि अर्को गाँउमा । स्वास्थय चौकी देखि स्वास्थ्य स्वयमसेबिका र स्वास्थ्य चौकीका परिचरहरुका घरदैलो पुगेँ । तर मेरो डुलाईले सार्थकता पाएन । गाँउको स्वास्थ्य चौकीमा भएका स्टेरचरहरु पनि सिमित मात्रामा २-४ मात्रै हुनु । भौगोलीक बिकटाले अंगालेको त्यो बस्तिमा कोहि बिरामी भएर काँहा हुन्छन् ति स्टेचर पत्तै हुदैन् । म एक पछि अर्को गाँउसम्म भौतारिदै हिडिरहे तर पनि काँहा छ भनेर भेट्टाउन निकै मुस्किल पर्यो । म गएको करिव ४ घण्टा बितिसक्यो मैले स्टेचर काँहा छ भनेर भेट्टाउनै सकिन ।

अब मध्यान्न हुदै थियो । मैले भेट्टाइन भनेर खबर गर्ने कुनै माध्याम थिएन् । सबै जना दिनेशले स्टेचर ल्यायो भने बिरामी बोकेर ८-९ घण्टा हिडालेर बिरामी बोकेर अस्पताल लैजाने फैसलामा छिमेकी थिए । मैले स्टेचर हुने सम्भावित सबै ठाउसम्म पुगे काँही भेट्टिएन । मनमा कौतुहल्ता थियो मलाई के भन्छन् घरमा बिरामी अण्टीको अवस्था के भयो होला हे भगवान ! यहि शव्द पुकार गर्थे ।
 
आखिर समय न हो नेटो काट्दै गयो करिब घाम अस्ताउदै गयो अपरान्न तिर भैसक्यो म अझै घर पुग्न सकिरहेको थिएन् । अपरान्न ३ बज्यो म खाली हात निरासा र थकानले भरिपुर्ण भएर घर पुग्दै थिए । नजिकै पुग्दै गर्दा सबै जना भाव बिहल अवस्थामा थिए । ठुलो आवाजमा सबै रोइरहेका थिए । कसैले अंकललाई समाल्दै थिए भने कोहि यता उता अर्कै तरखरमा देखिए । मुटुमा ठुला भुक्का छुटेर आए !

म रोकिए । भगवान पुकार्ने मेरो ओठमा नितान्त सुख्खा रुपमा परिणत भए । ठाउँको ठाउँ थच्याक्कै बसेँ । डाको छोडेर रुन भ्याइसके । धररररर मेरा आँखा आसुको सागर बन्यो । साँच्चै अण्टी अस्ताइ सक्नु भएछ । उहाँलाई भगवानले कहिल्यै नफर्कने गरि आफ्नो बनाइसकेछन् । मैले भगवान पुकार्न छोडे ।

हिम्मत जुटाउदै घर पुगे । नजिकै अंकल हुनुहन्थ्यो उहाँ सामु पुगे । भावबिहल अवस्थामा मलाई अंकालेमा च्यापेर अंकल ठुलो स्वरले रुन थाल्नु भयो । के गर्नु हिम्मत गर्नुनै मेरो लागी चुनोती भयो । मैले अंकललाइ सम्झाउदै रोके र सम्झाए । सबै जनाका आँखामा त्यहि भाइमा थिए । अबको अवस्था के होला ? चिन्तित भाव सबैमा टिलपिल देखिन्थ्यो ।

केहि समय निकै हम्य भयो त्यो परिवेसलाई रोक्न । आखिर दैवको लिला न हो सबै शान्त भए । मैले सोचे मैले स्टेचर ल्याएको भएनी अस्पताल पुग्दा अण्टी बाँच्नु हुन्थ्योकी ? आफैले आफैलाई धिक्कारे । स्टेरचरको अभावमा यो घटना देख्नै पर्यो ! त्यसमा पनि मलाई सहनै नसक्ने पिडा हुन्थ्यो सानो भाइको अनुहारमा हेर्दा । मन निकै छिया छिया हुन थाल्यो ।

के गर्नु समयन हो भाइलाइ जसोकसो तल्लोघरको भाउजुले भाइलाई आमाको काख दिएर उसको मलीन अनुहारमा छुट्टै अर्को तरड्ड दियो । उहाँले स्याहार्नु भयो । बिकल्पमा उसको आमानै भाउजु बन्नु भयो । म बेला बेला सम्झन थाले १३ महिने भाइले आमा गुमाउदा के हुन्छ ? बिचारा दिन हो आखिर दैवको सामु झुक्नु बाध्यता हो । त्यो दिन सम्झन्छु मेरो गाँउ ? त्याहाका पिडा !

कसले परिवर्तन गर्ला यो गाँउको मुहार अनि यि बाध्यताबाट कसरी पार लाग्ने ? स्टेचर अभावमा समयमा अस्पताल पुग्न नपाउदा ज्यान ज्यानेमा त्यो गाँउमा मेरो अण्टी मात्रै हुनहुन्न । यस्ता घटना थुर्पै छन् याहा समेट्न सकिन । गाँउघरमा बिद्यालय जान घण्टौ लाग्छ । स्वास्थ्यचौकीमा सिटामोल समेत हुदैन । भरपर्दा डा. को कुरै छाडौ अलिअलि सुबिधा भएको अस्पताल पुग्न सदरमुकामनै धाउनु पर्छ ।

त्यो पनि हिडेर दिनहुँ लाग्छ । सुरक्षाका हिसावमा प्रहरीमा निवेदन गर्न एक दिन हिड्न पर्ने इलाका प्रहरी चौकी छ  न सञ्चार छ न यातायात  न खानेपानी छ, ! न हिड्ने गोरेटो बाटो छ ! कतिपय महिला किसोरी छाउगोठमा ज्यान गुमाउछन् । कतिपयले भिरको बाटो हिड्दा लडेर ज्यान गुमाउछन् । जिविको पार्जन गर्न घरको सामान्य आर्थीक अवस्था टार्न दैनिक भारत लगाएतका अन्य मुलुक धाउनु पर्ने मेरा दाजु भाइको बाध्यता छ ।

मलाई हरेक पल यिनै व्याथा र पिरले पोलीरहन्छ । आजभोली नेताहरु गाँउ केन्द्रित छन् । भन्छन् हामीलाई भोट दिनुस यो गाँउ स्वर्ग बनाउछौ । मेरो देशमा यतिखेर निर्वाचन बर्ष मनाइदै छ । नेपाली जनताको हक, हित र अधिकारलाई संरक्षण गर्न, लामो संक्रमणकाललाई व्यवहारिक ढंगबाट अन्त्य गर्नका निमित्त आम निर्वाचन जारी छ । यो सकरात्म पक्ष पनि हो । स्थानीय तहको निर्वाचन सम्पन्न भए लगत्तै प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन हुदैछ । पहिलो चरणमा ३२ जिल्लामा मंसीर १० गते भएको छ । भने अब बाँकी जिल्लामा मंसिर २१ गते हुदैछ ।

राजनितीक दल, उम्मेदवार, तिनका कार्यकर्ता, समर्थकहरु गाँउ, सहरमा चुनाव केन्द्रित भै भोट माग्ने लहर चलिरहदा मेरो व्यक्तिगत जिवन र मेरो गाँउघरसंग सम्बन्धित बिगतमा घटेका केहि घटनाले मेरो मनमा केहि तरड्ड ल्याएको छ । जुन निकै पिडादायिक लाग्छ ।

अछाम जिल्लाको बिकट मानिने हालको रामारोशन गाँउपालीकाको वडा नम्बर ४ को म मतदाता हुँ । मेरो गाँउमा पनि अन्य क्षेत्र जस्तै चुनावी रौनक छाएको छ । म त्यो गाँउ देखि टाढा छुँ । गाँउ चुनावमय भैरहेका बेला मेरो मनमा त्यो गाँउमा अव चुनाव पछि के हुन्छ होला भन्ने एक किसिको कौतुहल्ता छ ।

धेरै निर्वाचन भए, धेरै नेता तथा उम्मेदवारले मेरो गाँउकै भोटले जिते जो सत्तामा पुगे, दलका ठुला ठुला ओहोदामा पुगे । तर यसो फर्केर गाँउलाई हेर्छु मेरो गाँउँले कुनै रुप रंग फेरेको देखिएन । गाँउको मुहार फेरिएन । मेरा गाँउका पिडामा मलम लागेन । मेरो गाँउले भोट दियो मन्त्री बनायो, थुर्पै नेता जन्मायो तर आफ्ना आँसु पुछ्ने कोहि पाएन् । सम्झिदा मनमा बिरक्त लागेर आउछ ।

के सत्ता र पदमा पुर्याउनमात्रै मेरो गाँउको भोट आवश्यक छ ? २०६४ सालको संबिधानसभाको पहिलो निर्वाचन म परिचित छु । त्यस पछि भएको ७० सालको दास्रो संबिधान सभाको निर्वाचन संग म अझ निकै परिचित छु । त्यतिखेर पनि मेरो गाँउले भोट दिएकै हो । तिनै नेतालाई सत्ता, संसद, र पदमा पुर्यायो तर गाँउ जस्ताको त्यस्तै छ ।
स्वास्थ्य, शिक्षा, यातायात खानेपानी, लागाएका भौतिक पुर्वाधारको अभावमा झेलीरहेको मेरो गाँउ संग काँही कतै यि नेतासंग जोडिएका छन् भन्ने प्रति प्रश्न गर्छु । हुन पनि हो छन पनि छ ।

दलका निर्वाचनलाई लक्ष्ति गरेर ल्याइएका घोषणपत्र पनि हेरियो । रेल र विद्युतका ठूला प्रतिबद्धता बाहेक अन्य घोषणापत्रमा मेरो सुदुरका लागी उपयुक्त एजेण्डा केहि छैनन् । अहिलेको अवस्थामा स्वास्थ्यचौकीमा सिटामोल, स्टेचर नपाएर छटपटिदै प्राण त्याग गरिरहेका मेरा सुदुरका नागरिकका लागी रेल ठुलो कि अस्पताल ठुलो ?
यो जवाफ दिनुहुन्छ उम्मेदवार ज्यू ? अनि अर्को कुरा यो देशमा भएको सडक सञ्जालको दुर्दशाले गर्दा दिनहु ज्यान गुमाइरहनु परेका समाचार मैले नपढेको कुनै दिन हुदैन । यिनै कुराहरु सम्झिन्छु, र नेता ज्युलाई सोध्न मन लाग्छ गाँउमा स्कुल छैन् भएका स्कुलहरुमा पनि ब्यावहारिक शिक्षा छैन् ।
 
यो देशमा माष्टर डिग्री गरेर भारत लगाएत खाडी मुलुकमा जाने मेरा दाजु भाईको मर्म बुझ्नु पर्दैन ? काठमाण्डौमा रेल आउँदैमा के त्यो सुदुरको सबै बिकास हुन्छ ? नेता ज्यु म भन्छु रेल होइन गाँउमा सिटामेल देउ । गाँउमा सहजै पुग्न मोटर बाटो देउ, मेरा दाजुभाई दिदि बहिनिका लागी कखरा सिक्ने स्कुल देउ । शुद्ध पिउने पानी देउ ।
काठमाडौंमा रेलका कुरा तव मात्रै गर्नुस नेता ज्यु पहिला नेपाल यातायात र साझा यातायातमा चढेर आफ्नो दैनिकि चलाउन जानेहरुको बाटो रोकेर बिच सडकमा आम सभा गर्ने छैन् भनेर पहिला भन्नुस ।

अब पनि मेरो त्यो ठाँउबाट निर्वाचित हुने नेता ज्युले यी समस्या समाधान गर्ने व्यवस्थाको विकल्प खोज्ने कि नखोज्ने ? के हामी भोट खसाल्ने प्रयोगसाल मात्रै हुन नेता ज्यू ? २ -३  दिन गएर, ठुला ठुला सपना देखाई, प्रतिबद्धता जनाउने तर केहि पनि नगर्ने सत्ता र पदका लागी मेरा गाँउका गाँउले लाई चुनाव जित्न बनाइएका मेरो गाँउका युवाबर्गलाई अब प्रयोगशाला बनाउने छैनौ भनेर आउने कि न आउने ? अब मतदाताले पनि हाम्रा होइन राम्रा चिनौ आफ्नो गाँउ, र आफ्नो देशको सम्बृद्धीका लागी राम्रा र योग्य उम्मेदवारलाई मतदान गरौ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ